अहिले तिलकराजको परिवारका छोरा बुहारी गरि ४ जना राज्यका विभिन्न निकाय तथा सार्वजनिक संस्थामा कार्यरत छन्। कसैले लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गरेका छन्, कसैले प्रतिस्पर्धाबाट सार्वजनिक बैंकिङ क्षेत्रमा स्थान बनाएका छन्।
सपरिवार एकै ठाउँमा भएको बेला बिहानको चिया पाक्दै गर्दा समसामयिक राजनीति, बजेट, सार्वजनिक खरिद, विकास निर्माण र सरकारी सेवाका विषयमा छलफल हुन्छ। बाहिरबाट सुन्दा यो कुनै सरकारी कार्यालयको बैठक जस्तो लाग्न सक्छ। तर, यो जुम्लाको एउटा सामान्य परिवारको दैनिकी हो।
घरका सदस्यहरूका कार्यक्षेत्र फरक छन्। कोही इन्जिनियरिङ सेवामा छन्, कोही बैंकिङमा, कोही स्थानीय तहको लेखा प्रशासनमा त कोही प्राविधिक सेवामा। उनीहरूका कार्यालय पनि एउटै ठाउँमा छैनन्। तर सबैको साझा परिचय हो, प्रतिस्पर्धाबाट राज्यको सेवामा प्रवेश गरेका कर्मचारी।
यस परिवारको सार्वजनिक सेवाको कथा भने नयाँ पुस्ताबाट सुरु भएको होइन। यसको जग खनेका हुन्, तिलकराज डाँगीले।
सरकारी सेवामा प्रवेश गरेका तिलकराजले झन्डै ३८ वर्ष विभिन्न सरकारी निकायमा बिताए र लेखा अधिकृत पदमा पुगेपछि अवकाश पाए। विकट कर्णालीका बस्तीदेखि सुगम भूगोलसम्म सरकारी सेवा प्रवाहका क्रममा उनले देखेको प्रशासनिक जीवन, नागरिकका समस्या र सार्वजनिक स्रोतको व्यवस्थापन सन्तानले नजिकबाट नियाले।
त्यही वातावरणमा हुर्किएका उनका सन्तानका लागि सरकारी सेवा केवल जागिरको विकल्प रहेन। सार्वजनिक सेवा, जिम्मेवारी र समाजसँग जोडिने माध्यमका रूपमा उनीहरूले त्यसलाई बुझ्दै गए।
अहिले तिलकराजको परिवारका छोरा बुहारी गरि ४ जना राज्यका विभिन्न निकाय तथा सार्वजनिक संस्थामा कार्यरत छन्। कसैले लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गरेका छन्, कसैले प्रतिस्पर्धाबाट सार्वजनिक बैंकिङ क्षेत्रमा स्थान बनाएका छन्। उनीहरू जुम्लादेखि पोखरासम्मका फरक भूगोलमा काम गरिरहेका छन्।
बुबाको जागिर, सन्तानको पाठशाला

तिलकराजको जागिरे जीवनको लामो अनुभव परिवारका लागि औपचारिक पाठ्यक्रम थिएन। तर, त्यसले घरमै एउटा संस्कार निर्माण गर्यो।
सरकारी कामसँग सम्बन्धित कागजात, आर्थिक अनुशासन, कानुन र प्रशासनिक प्रक्रियाबारे घरमा हुने कुराकानी सन्तानले सानैदेखि सुन्दै आए। बुबाले सरकारी जिम्मेवारी निर्वाह गर्दा अपनाएको अनुशासन र सेवाप्रतिको दृष्टिकोण उनीहरूका लागि व्यवहारबाट सिक्ने अवसर बन्यो।
उनले सन्तानलाई एउटै पेशा रोज्न दबाब दिएनन्। तर आफ्नै कर्मबाट सार्वजनिक सेवाको अर्थ बुझाए। त्यसैले छोराछोरीले आफ्नो रुचि र क्षमताअनुसार फरक क्षेत्र रोजे पनि उनीहरूको गन्तव्य भने राज्य र समाजसँग जोडिएको सेवाक्षेत्र बन्यो।
यही कारण डाँगी परिवारको कथा एउटै घरका धेरै सदस्य सरकारी सेवामा प्रवेश गरेको विवरणमा सीमित हुँदैन। यो एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भएको कार्यसंस्कारको कथा पनि हो।
जेठो छोरा : सडक र पूर्वाधारको जिम्मेवारी

वि.सं. २०४७ जेठ २० मा जन्मिएका जगतराज डाँगी परिवारका जेठा छोरा हुन्। प्राविधिक शिक्षा रोजेका उनले लोक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गरेपछि वि.सं. २०७६ चैत ६ गते सब–इन्जिनियर पदमा स्थायी नियुक्ति पाए।
हाल उनी चन्दननाथ नगरपालिका, जुम्लामा कार्यरत छन्। स्थानीय तहमा प्राविधिक कर्मचारीको जिम्मेवारी कागजमा योजना बनाउने मात्र होइन। सडक, भवन, खानेपानी लगायतका पूर्वाधार निर्माणमा प्राविधिक मापदण्ड पालना गराउनेदेखि योजनाको अनुगमन र कार्यान्वयनसम्मको भूमिका हुन्छ।
विकट भूगोलमा विकास निर्माणको गुणस्तर र लागत व्यवस्थापन आफैमा चुनौतीपूर्ण विषय हो। त्यही चुनौतीबीच जगतराज प्राविधिक सेवामा छन्।
बैंकिङमा दिलकुमारी

परिवारका सदस्यको कार्यक्षेत्र सरकारी प्रशासनमै सीमित छैन। वि.सं. २०५२ कात्तिक २ मा जन्मिएकी दिलकुमारी थापाले बैंकिङ क्षेत्र रोजिन्। जगत र दिलकुमारीको विवाह भएको छ वर्ष भयो। फरक पेसा क्षेत्रका यी दुइले एउटै यात्रा तय गरेका छन्।
खुला प्रतिस्पर्धाबाट छनोट भएपछि दिकुमारीले वि.सं. २०७४ माघ १५ गते राष्ट्रिय वाणिज्य बैंकमा वरिष्ठ सहायक, पाँचौं तहबाट सेवा सुरु गरिन्। अहिले उनी राष्ट्रिय वाणिज्य बैंकको जुम्ला शाखामा कार्यरत छन्।
बैंकिङ सेवामा उनको काम नागरिकको दैनिक वित्तीय कारोबारसँग जोडिन्छ। बचत, कर्जा, वित्तीय साक्षरता र बैंकिङ पहुँच विस्तारजस्ता विषय ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकका लागि प्रत्यक्ष महत्त्व राख्छन्।
परिवारका अरू सदस्य सरकारी प्रशासन वा प्राविधिक सेवामा हुँदा उनले वित्तीय संस्थामार्फत सार्वजनिक सेवासँगको सम्बन्ध कायम गरेकी छन्।
लवजको रोजाइ लेखा प्रशासन

वि.सं. २०५४ जेठ २० मा जन्मिएका लवज डाँगीले भने बुबाको पेशासँग नजिकको क्षेत्र रोजे।
वित्तीय अनुशासन र सार्वजनिक लेखा प्रणालीमा रुचि राख्ने लवज लोक सेवा आयोगको प्रतिस्पर्धाबाट लेखापाल पदमा छनोट भए। वि.सं. २०७९ मंसिर २९ गते नियुक्ति पाएपछि उनी अहिले पोखरा महानगरपालिकामा कार्यरत छन्।
स्थानीय तहमा वित्तीय प्रशासनको जिम्मेवारी पछिल्ला वर्षमा झनै महत्त्वपूर्ण बनेको छ। स्थानीय सरकारलाई प्राप्त बजेटको लेखांकन, खर्च व्यवस्थापन, वित्तीय अनुशासन र प्रतिवेदन प्रणालीमा लेखा प्रशासनको भूमिका हुन्छ।
बुबाले दशकौं बिताएको वित्तीय प्रशासनकै क्षेत्रमा छोरा लवजले अर्को पुस्ताको जिम्मेवारी सम्हालिरहेका छन्।
कृष्टिनाको रोजाइ प्रशासनिक सेवा

परिवारकी अर्की सदस्य कृष्टिना रावल पनि प्रतिस्पर्धात्मक परीक्षाबाट सार्वजनिक सेवामा प्रवेश गरेकी हुन्। लवज र कृष्टिनाको विवाह भएको ४ वर्ष भयो।
वि.सं. २०५५ जेठ १ मा जन्मिएकी कृष्टिनाले वि.सं. २०७९ मंसिर २३ गते प्राविधिक सहायक पदमा स्थायी नियुक्ति पाइन्। हाल उनी सिंजा गाउँपालिका, जुम्लामा कार्यरत छिन्।
स्थानीय तहमा नायब सुब्बाको काम प्रशासन सम्बन्धी कामसँग जोडिन्छ। गाउँमै बसेर स्थानीय आवश्यकताअनुसार योजना कार्यान्वयनमा सहयोग पुर्याउनु उनको कार्यक्षेत्र हो।
यसरी एउटै परिवारका सदस्यहरू जुम्लाका विभिन्न स्थानीय तहदेखि पोखरा महानगरपालिका र राष्ट्रिय वाणिज्य बैंकसम्म फरक फरक जिम्मेवारीमा छन्।
सफलता पछाडि ‘संयोग’ भन्दा अभ्यास
एउटै परिवारका सदस्यहरू लगातार प्रतिस्पर्धात्मक परीक्षामा सफल हुनु बाहिरबाट हेर्दा संयोगजस्तो लाग्न सक्छ। तर डाँगी परिवारको अनुभवमा यसको पछाडि लामो अभ्यास र घरभित्र बनेको अध्ययन वातावरण छ।
लोक सेवा वा प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने क्रममा परिवारका सदस्यबीच पाठ्यक्रम, पुराना प्रश्नपत्र, समसामयिक विषय र अध्ययन सामग्रीबारे छलफल हुन्थ्यो। एक जनाको तयारीमा अर्को सदस्यको अनुभव जोडिन्थ्यो।
कसैको असफलता अर्कोका लागि सिकाइ बन्थ्यो। सफल हुने सदस्यको अनुभव अरूका लागि मार्गदर्शन बन्थ्यो। यसरी घर आफै एउटा सानो अध्ययन केन्द्रमा बदलियो। बुबाको लामो सरकारी सेवाको अनुभव त्यसमा थपियो।
सरकारी सेवामा प्रवेशका लागि शैक्षिक योग्यता मात्रै पर्याप्त हुँदैन। लामो समयसम्म तयारी गर्ने धैर्य, समय व्यवस्थापन, पाठ्यक्रम अनुसार अध्ययन र असफलतापछि पुनः प्रयास गर्ने क्षमता आवश्यक हुन्छ। डाँगी परिवारका सदस्यहरूको यात्रामा पनि यही निरन्तरता देखिन्छ।
एउटै छानो, फरक जिम्मेवारी
परिवारका सबै सदस्य एउटै कार्यालयमा छैनन्। उनीहरूको कामको प्रकृति पनि फरक छ। तर एउटै घरबाट सुरु भएको मूल्य र संस्कारले उनीहरूको व्यावसायिक यात्रालाई जोडेको जगतको अनुभव छ।
उनी स्थानीय पूर्वाधारसँग जोडिएका छन्। दिलकुमारी बैंकिङ सेवामा छिन्। लवज स्थानीय तहको वित्तीय प्रशासन सम्हालिरहेका छन्। कृष्टिना प्राविधिक सेवामा छन्। र यी सबै यात्राको पछाडि तिलकराजको ३८ वर्ष लामो सरकारी सेवाको अनुभव छ।
त्यसैले डाँगी परिवारको कथा ‘पाँच जना सरकारी कर्मचारी भएको परिवार’ मात्र होइन। यो एउटा पुस्ताले निर्माण गरेको कार्यसंस्कार अर्को पुस्ताले फरक–फरक क्षेत्रमा निरन्तरता दिएको उदाहरण हो।
विदेश जाने लहरबीच देशमै सेवा
नेपालमा रोजगारी र अवसरको खोजीमा युवाहरू विदेश जाने क्रम बढिरहेका बेला डाँगी परिवारका सदस्यले भने आफ्नै देशको सार्वजनिक क्षेत्रमा आफ्नो व्यावसायिक भविष्य खोजेका छन्।
उनीहरूले रोजेको बाटो सजिलो भने थिएन। प्रतिस्पर्धात्मक परीक्षामा हजारौं उम्मेदवार सहभागी हुने अवस्थामा सीमित पदमा छनोट हुनु आफैमा चुनौतीपूर्ण हुन्छ। त्यसका लागि वर्षौंको तयारी, धैर्य र निरन्तर प्रयास आवश्यक हुन्छ।
डाँगी परिवारका सदस्यहरू पनि यही प्रतिस्पर्धाबाट अब्बल सावित भएर सेवामा पुगेका हुन्। उनीहरूको कार्यक्षेत्र फरक भए पनि उद्देश्यको एउटा साझा धरातल छ, आफ्नो सीप र जिम्मेवारीमार्फत सार्वजनिक सेवा गर्नु।
तिलकराजको ३८ वर्षे सेवायात्राले छोडेको पदचाप अहिले उनका छोराबुहारी फरक–फरक बाटामा देखिन्छ। कसैले सडक र भवन हेर्छन्, कसैले बैंकको काउन्टरबाट नागरिकको वित्तीय कारोबार सम्हाल्छन्, कसैले स्थानीय तहको बजेटको हिसाब राख्छन् र कसैले गाउँका प्रशासनिक कामकाजमा सहयोग गर्छन्।
एउटै छानोबाट सुरु भएको यो यात्रा अहिले जुम्लाको गाउँदेखि पोखरासम्म फैलिएको छ।
बुबाले सरकारी सेवामा बिताएको ३८ वर्ष परिवारका लागि जागिरे जीवनको अवधि रहेन। त्यो अर्को पुस्ताका लागि एउटा कार्यसंस्कार बन्यो। त्यही संस्कार पछ्याउँदै उनका सन्तानले राज्यका फरक फरक संयन्त्रमा आफ्नो ठाउँ बनाइरहेका छन्।
















