कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) सञ्चालनमा आएको छ।
सेवा सञ्चालनमा आएसँगै आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक पर्ने रगत स्थानीयस्तरमै उपलब्ध हुने भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र अमेरिका नेपाल मेडिकल फाउन्डेसन (ANMF) को सहकार्य तथा सहयोगमा रक्तसञ्चार सेवा स्थापना गरी सञ्चालनमा ल्याइएको प्रतिष्ठानले जनाएको छ।
यसअघि बिरामीलाई रगत आवश्यक पर्दा सेवाग्राही तथा आफन्तले तत्कालै रक्तदाता खोज्नुपर्ने वा बाहिरी स्थानबाट रगतको व्यवस्था गर्नुपर्ने अवस्था थियो। नयाँ सेवा सञ्चालनले विशेषगरी आकस्मिक उपचार र शल्यक्रियाका बिरामीलाई रगत उपलब्ध गराउन सहज हुने प्रतिष्ठानको अपेक्षा छ।

प्रतिष्ठानका अनुसार अब आवश्यकताअनुसार रगत संकलन, सुरक्षित भण्डारण र वितरणको व्यवस्था हुनेछ। यसबाट प्रसूति, आकस्मिक उपचार, शल्यक्रिया तथा अन्य जटिल उपचार सेवामा रगतको अभावका कारण हुन सक्ने समस्या कम गर्न सहयोग पुग्नेछ।
प्रतिष्ठानले स्वास्थ्य सेवा विस्तारसँगै बिरामीका लागि आवश्यक अत्यावश्यक सेवाहरूलाई क्रमशः सुदृढ गर्दै लैजाने जनाएको छ।

रक्तसञ्चार सेवा स्थापना तथा सञ्चालनमा सहयोग पुर्याएकोमा प्रतिष्ठानले अमेरिका नेपाल मेडिकल फाउन्डेसन, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैलाई धन्यवाद दिएको छ।
प्रतिष्ठानले रगतको आवश्यकता पूर्ति गर्न नियमित रक्तदानको महत्त्व रहेको भन्दै सर्वसाधारणलाई ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित रक्तदानमा सहभागी हुन आग्रहसमेत गरेको छ।

















