नेपाल डेन्टल एसोसिएसन (एनडीए) र इन्डियन सोसाइटी अफ डेन्टल ट्रमाटोलोजी (आईएसडीटी) बीच दन्त चोटसम्बन्धी शिक्षा, अनुसन्धान, तालिम तथा जनचेतना अभिवृद्धिका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा एनडीएका महासचिव डा. प्रदीप भण्डारी र कोषाध्यक्ष डा. लोकेश बर्मा तथा आईएसडीटीका संस्थापक अध्यक्ष प्रो. डा. अजय लोगानी र महासचिव डा. सिद्धार्थ शर्माले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रमको अर्गनाईजिङ चेयर पर्सन प्रा. डा. पराजिता दिक्षित र अर्गनाईजिङ सेक्रेटरी डा. मनिशा मल्लले गरेकी थिइन् ।
समझदारीपछि काठमाडौंस्थित कान्तिपुर डेन्टल कलेज, टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा ‘एन्टेरियर टुथ ट्रमा : कम्प्रिहेन्सिभ म्यानेजमेन्ट इन डेली डेन्टल प्राक्टिस’ विषयक दन्त चोट सम्मेलन तथा स्प्लिन्टिङ सामग्री र प्रविधिसम्बन्धी ह्यान्ड्स-अन कार्यशाला आयोजना भइरहेको छ ।
सम्मेलनमा नेपाल र भारतका दन्त विशेषज्ञहरूले दन्त चोटको निदान, उपचार, अभिलेखीकरण, दाँत संरक्षण, अवल्सन व्यवस्थापन तथा विशेष आवश्यकता भएका बालबालिकाको दन्त उपचारलगायत विषयमा प्रस्तुति दिइरहेका छन् ।
सम्मेलनको अर्को महत्वपूर्ण पक्षका रूपमा आयोजकले कार्यक्रमबाट उठ्ने सम्पूर्ण बचत रकम हालै रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
एनडीएका प्रवक्ता डा. भुमेश काफ्लेका अनुसार वैज्ञानिक तथा शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पनि संस्थाको दायित्व हो । विपद्को समयमा बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै राहत अभियानमा सहभागी हुन पाउनु गौरवको विषय भएको उनले बताए ।
एनडीए, आईएसडीटी र कान्तिपुर डेन्टल कलेजको संयुक्त आयोजनामा भइरहेको सम्मेलनले नेपालमा दन्त चोट व्यवस्थापनसम्बन्धी ज्ञान, सीप, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।
















