नेपाली कम्युनिस्ट पार्टी (नेकपा) हिमा गाउँपालिका कमिटीले सञ्चालन गरेको ‘हिमा जनसंवाद अभियान’मार्फत संकलित नागरिकका समस्या, गुनासा तथा सुझाव समेटिएको ध्यानाकर्षण पत्र गाउँपालिकालाई बुझाइएको छ।
भदौ ६ गतेदेखि सञ्चालन गरिएको अभियानका क्रममा हिमा गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिएको थियो। त्यस क्रममा स्थानीयले शिक्षा, स्वास्थ्य, सडक तथा यातायात, खानेपानी, कृषि, रोजगारी र विकास निर्माणलगायत विषयमा आफ्ना समस्या तथा सुझाव राखेका थिए।
अभियानबाट संकलित जनसरोकारका विषयलाई समेटेर तयार पारिएको ध्यानाकर्षण पत्र अभियानका कमान्डर अम्मराज शाही (अम्मरजंग)ले गाउँपालिकालाई बुझाएका हुन्। कार्यक्रममा उनले नागरिकबाट संकलित समस्या तथा सुझावको विवरण वाचनसमेत गरेका थिए।
शाहीले स्थानीय तहमा नागरिकका वास्तविक समस्या र आवश्यकतालाई जानकारी गराउने तथा समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। उनले नागरिकले उठाएका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न गाउँपालिकासँग आग्रह गरे।
ध्यानाकर्षण पत्र बुझ्दै हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले जनसंवाद अभियानले स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण बनाउन सहयोग पुगेको बताए। नागरिकका समस्या, सुझाव र अपेक्षा बस्तीमै पुगेर सुन्ने अभ्यासले स्थानीय तहलाई योजना तथा कार्यक्रम निर्माणमा थप सहयोग पुग्ने उनको भनाइ थियो।
अभियानका क्रममा स्थानीयले सडकको अवस्था सुधार, स्वास्थ्य सेवा सहज बनाउनुपर्ने, विद्यालयको शैक्षिक गुणस्तर सुधार, खानेपानीको पहुँच विस्तार, कृषि उत्पादन तथा बजारीकरण, रोजगारीका अवसर सिर्जना र विकास निर्माणका कामलाई प्रभावकारी बनाउनुपर्ने माग राखेका थिए।
आयोजकका अनुसार अभियानमार्फत बस्तीस्तरबाट संकलित सुझाव तथा समस्यालाई सम्बन्धित निकायसम्म पुर्याइएको हो। नागरिकका मागलाई स्थानीय सरकारका नीति, योजना तथा कार्यक्रमसँग जोडेर कार्यान्वयनमा लैजानुपर्नेमा समेत ध्यानाकर्षण गराइएको छ।
नेकपा हिमा गाउँपालिका कमिटीले नागरिकका समस्या प्रत्यक्ष सुन्ने, सुझाव संकलन गर्ने र समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले जनसंवाद अभियान सञ्चालन गरिएको जनाएको छ।
















