शुक्रबार, १६ आश्विन, २०८३

जुम्ला निर्माण व्यवसायी संघको साधारण सभा हुँदै

निर्माण व्यवसायी संघ जुम्लाले संघको १७औँ साधारण सभा तथा ७औँ अधिवेशन आयोजना गर्ने भएको छ। संघले एक सूचना जारी गर्दै आगामी असोज १८ र १९ गते हुने साधारण सभा तथा अधिवेशनमा सम्पूर्ण साधारण सदस्यलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरेको हो।

संघले सार्वजनिक गरेको सूचनामा साधारण सभा तथा अधिवेशनमा संघका सम्पूर्ण साधारण सदस्यको सहभागिता आवश्यक रहेको जनाएको छ । संघले संगठनलाई थप व्यवस्थित, प्रभावकारी र व्यवसायीमैत्री बनाउन अधिवेशन महत्वपूर्ण हुने जनाएको छ।

संघका सचिव सुवाश महतले साधारण सभा तथा अधिवेशनलाई व्यवसायीहरूबीच छलफल, समीक्षा र आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको बताए। निर्माण व्यवसायीले भोग्दै आएका समस्या, विकास निर्माणका क्रममा देखिएका चुनौती तथा व्यवसायीको हकहितका विषयमा अधिवेशनमा छलफल हुने उनको भनाइ छ।

‘संघको साधारण सभा र अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र होइन, निर्माण व्यवसायीका साझा समस्या पहिचान गरी समाधानका लागि संस्थागत रूपमा अघि बढ्ने महत्वपूर्ण अवसर हो,’ सचिव महतले भने।

त्यस्तै संघका सहअध्यक्ष सुरेन्द्र महतले जिल्लाको विकास निर्माणमा निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहे पनि व्यवसाय सञ्चालनका क्रममा विभिन्न समस्या र चुनौती सामना गर्नुपरेको बताए। अधिवेशनमार्फत व्यवसायीका साझा सवाललाई प्राथमिकताका साथ उठाउने र सम्बन्धित निकायसँग समन्वय गरेर समाधानका लागि पहल गर्ने उनले बताए।

‘निर्माण व्यवसायीको पेशागत सुरक्षा, व्यवसाय सञ्चालनमा सहज वातावरण र जिल्लाको विकास निर्माणलाई गुणस्तरीय तथा प्रभावकारी बनाउने विषयमा संघले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्छ,’ सहअध्यक्ष महतले भने।

अधिवेशनमा संघको विगतको गतिविधिको समीक्षा, आगामी कार्ययोजना, निर्माण व्यवसायीका समस्या तथा संघको संस्थागत सुदृढीकरणलगायतका विषयमा छलफल हुने जनाइएको छ। संघले साधारण सभामा सबै सदस्यलाई समयमै उपस्थित हुन आग्रह गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार