बुधबार, २१ आश्विन, २०८३

योग, ध्यान र आरामदायी अभ्यासले मनोसामाजिक सुस्वास्थ्यमा पार्ने प्रभाव

मनोसामाजिक सुस्वास्थ्य भन्नाले व्यक्तिको मानसिक, सामाजिक, भावनात्मक र व्यवहारिक रूपमा स्वस्थ तथा सन्तुलित अवस्थालाई बुझिन्छ।

दैनिक जीवनमा आइपर्ने कामको चाप, पारिवारिक जिम्मेवारी, आर्थिक समस्या, सामाजिक सम्बन्धमा आउने कठिनाइ, प्राकृतिक विपद् तथा अन्य तनावका कारण मानिसमा मनोसामाजिक समस्या उत्पन्न हुन सक्छ।

यस्तो अवस्थामा योग, ध्यान र आरामदायी अभ्यासले तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन तथा जीवनप्रतिको सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुर्‍याउन सक्छ।

योग, ध्यान र आरामदायी अभ्यास केवल शारीरिक स्वास्थ्यका लागि मात्र होइन, मानसिक तथा भावनात्मक सुस्वास्थ्यका लागि पनि उपयोगी स्व–हेरचाहका अभ्यास हुन्।

नियमित र सुरक्षित अभ्यासले तनाव व्यवस्थापन, आत्मजागरूकता, भावनात्मक सन्तुलन, सकारात्मक सोच तथा स्वस्थ जीवनशैली विकास गर्न मद्दत गर्न सक्छ। त्यसैले स्वस्थ शरीर, शान्त मन र सकारात्मक सम्बन्ध निर्माण गर्ने उद्देश्यले यस्ता अभ्यासलाई दैनिक जीवनको हिस्सा बनाउन सकिन्छ।

योग : शरीर र मनबीचको सन्तुलन
योग शरीर, श्वासप्रश्वास र मनबीच सन्तुलन कायम गर्ने अभ्यास हो। आफ्नो शारीरिक अवस्था र क्षमताअनुसार नियमित योग अभ्यास गर्दा शरीरलाई सक्रिय राख्नुका साथै मानसिक सुस्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्न सक्छ।

योगका प्रमुख लाभमा तनाव तथा मानसिक दबाब कम गर्न सहयोग गर्नु, शरीरको थकान घटाउनु, शारीरिक लचकता र सक्रियता बढाउनु तथा आत्मविश्वास र आत्मबल विकास गर्न मद्दत गर्नु रहेका छन्। त्यस्तै, निद्राको गुणस्तर सुधार गर्न तथा रिस, बेचैनी, छटपटी, डर र चिडचिडापन व्यवस्थापन गर्न पनि योग उपयोगी हुन सक्छ।

यसले शरीरप्रतिको सकारात्मक अनुभूति र आत्मजागरूकता बढाउनसमेत सहयोग पुर्‍याउँछ।
योग गर्दा आफ्नो शारीरिक अवस्था र क्षमतालाई ध्यान दिन आवश्यक हुन्छ। कठिन आसन गर्नुभन्दा नियमित, सहज र सुरक्षित अभ्यासलाई प्राथमिकता दिनु महत्वपूर्ण हुन्छ।

ध्यान : वर्तमान क्षणप्रति सजगता ध्यान भनेको मनलाई वर्तमान क्षणमा केन्द्रित गर्दै आफ्ना विचार, भावना र शारीरिक अनुभूतिलाई सजगतापूर्वक अवलोकन गर्ने अभ्यास हो। श्वासमा ध्यान केन्द्रित गर्ने, माइन्डफुलनेस तथा निर्देशित ध्यान यसका केही सामान्य अभ्यास हुन्।

नियमित ध्यानले मनलाई शान्त र स्थिर बनाउन तथा अनावश्यक चिन्ता र तनावसँग सामना गर्न सहयोग गर्न सक्छ। यसले आफ्ना भावना र विचार पहिचान गर्ने क्षमता बढाउनुका साथै प्रतिक्रिया दिनुअघि सोच्ने बानी विकास गर्न मद्दत गर्छ।

एकाग्रता, आत्मजागरूकता र आत्मस्वीकृति बढाउन तथा कठिन परिस्थितिमा भावनात्मक सन्तुलन कायम राख्न पनि ध्यान उपयोगी हुन सक्छ।विशेषगरी निरन्तर तनावमा रहेका व्यक्ति, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी तथा विपद् प्रभावित समुदायमा सरल ध्यान अभ्यासलाई दैनिक जीवनको हिस्सा बनाउन सकिन्छ।

आरामदायी अभ्यासको भूमिकाआरामदायी अभ्यास (Relaxation Exercise) शरीर र मनमा जम्मा भएको तनाव कम गर्ने उद्देश्यले गरिने सरल अभ्यास हो। गहिरो श्वासप्रश्वास, प्रगतिशील मांसपेशी विश्राम, शान्त वातावरणमा केही समय बस्ने, शरीरलाई क्रमशः रिल्याक्स गर्ने तथा माइन्डफुल रिल्याक्सेसन यसका उदाहरण हुन्।

यस्ता अभ्यासले शारीरिक तथा मानसिक तनाव कम गर्न, मांसपेशीलाई आराम दिन र मानसिक बेचैनी घटाउन सहयोग गर्न सक्छ। साथै, आराम तथा निद्रामा सुधार ल्याउन र कठिन परिस्थितिमा आफूलाई शान्त राख्न पनि यस्ता अभ्यास उपयोगी हुन सक्छन्।

नियमित अभ्यासले भावनात्मक नियन्त्रण र आत्मनियन्त्रणको क्षमता विकास गर्न मद्दत पुर्‍याउन सक्छ।तीनै अभ्यासको संयुक्त प्रभाव योग, ध्यान र आरामदायी अभ्यासलाई नियमित जीवनशैलीमा समावेश गर्दा समग्र सुस्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्छ।

उदाहरणका लागि बिहान १५ देखि ३० मिनेट योग, त्यसपछि १० देखि १५ मिनेट श्वासप्रश्वास वा ध्यान अभ्यास र दिनको अन्त्यमा केही समय आरामदायी अभ्यास गर्न सकिन्छ।

यस्ता अभ्यासले शरीरलाई शारीरिक रूपमा सक्रिय र आरामदायी राख्न, मनको तनाव तथा बेचैनी व्यवस्थापन गर्न, भावनात्मक सन्तुलन कायम गर्न तथा धैर्य, सहानुभूति र सकारात्मक व्यवहार विकास गर्न सहयोग गर्न सक्छ।

यसले आत्मनियन्त्रण र सकारात्मक सोच बढाउँदै स्वस्थ तथा सन्तुलित जीवनशैली निर्माणमा योगदान पुर्‍याउन सक्छ।
समुदायमा विस्तार गर्न सकिने अभ्यास मनोसामाजिक सुस्वास्थ्य प्रवर्द्धनका लागि योग, ध्यान र आरामदायी अभ्यासलाई विद्यालय, समुदाय, स्वास्थ्य संस्था, कार्यस्थल, वृद्धाश्रम तथा विपद् प्रभावित समुदायमा सरल रूपमा प्रयोग गर्न सकिन्छ।

समूहमा गरिने श्वासप्रश्वास, ध्यान तथा रिल्याक्सेसन अभ्यासले व्यक्तिलाई तनाव व्यवस्थापन गर्न सहयोग गर्नुका साथै एकअर्कासँग जोडिन र भावनात्मक सहयोगको वातावरण निर्माण गर्नसमेत मद्दत गर्न सक्छ। त्यसैले यस्ता अभ्यासलाई व्यक्तिगत स्व–हेरचाहमा मात्र सीमित नराखी समुदायस्तरमै प्रवर्द्धन गर्न आवश्यक छ।

अभ्याससँगै आवश्यक छ उचित परामर्श
योग, ध्यान तथा आरामदायी अभ्यासले सामान्य तनाव र मानसिक बेचैनी व्यवस्थापनमा सहयोग गर्न सक्छन्। तर लामो समयसम्म अत्यधिक चिन्ता वा उदासी रहने, निद्रामा गम्भीर समस्या देखिने, दैनिक काम गर्न कठिनाइ हुने वा आत्महानीसम्बन्धी विचार आउने अवस्था भएमा यस्ता अभ्यासलाई मात्र उपचारको विकल्प मान्नु हुँदैन।

त्यस्तो अवस्थामा योग्य मानसिक स्वास्थ्य विशेषज्ञ वा तालिमप्राप्त मनोपरामर्शदातासँग उचित परामर्श लिन आवश्यक हुन्छ। मनोसामाजिक सुस्वास्थ्य कायम राख्न व्यक्तिगत अभ्याससँगै परिवार, समुदाय र स्वास्थ्य प्रणालीको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार