स्थानीय तहमा बाल अधिकार संरक्षण प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले जुम्लामा बाल कल्याण अधिकारीहरूको दुईदिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।
नेपाल सरकार र राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय तथा सेभ द चिल्ड्रेन, सीसीआर–कर्णालीलगायत साझेदार संस्थाको सहयोगमा आयोजित ‘बाल अधिकार संरक्षण प्रणाली स्थापना तथा प्रभावकारी परिचालनसम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिम’ बुधबारदेखि सुरु भएको हो। तालिम असोज १५ र १६ गते सञ्चालन हुनेछ।

तालिममा स्थानीय तहमा बाल संरक्षणका जोखिम पहिचान तथा रोकथाम, बाल संरक्षणसम्बन्धी घटनाको प्रभावकारी व्यवस्थापन, बाल अधिकारसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था, बालबालिकाको संरक्षण र सेवामा पहुँच, घटना व्यवस्थापन तथा सरोकारवाला निकायबीचको समन्वयलगायत विषयमा प्रशिक्षण तथा छलफल भइरहेको छ।
कार्यक्रमको अध्यक्षता सीसीआर–कर्णालीका टिकाराम आचार्यले गरेका छन्। कार्यक्रममा जिल्ला समन्वय समितिका समन्वय प्रमुख प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी विशेष अतिथिका रूपमा सहभागी छन्।

कार्यक्रममा सहभागीहरूले स्थानीय तहमा बाल अधिकार संरक्षण प्रणाली प्रभावकारी बनाउन बाल कल्याण अधिकारीको भूमिका महत्वपूर्ण हुने बताएका छन्। बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, बालविवाहलगायत जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय, सेवा प्रदायक संस्था र विकास साझेदारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ।
तालिममा जुम्ला, मुगु र कालिकोटका २१ स्थानीय तहका बाल कल्याण अधिकारी सहभागी छन्। बालबालिकाको क्षेत्रमा काम गरिरहेका विकास साझेदार तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको किर्डाक नेपाल जुम्लाका परियोजना संयोजकले जानकारी दिए।

राष्ट्रिय बाल अधिकार परिषद्का डम्बरबहादुर रोकाया, टेक राज आचार्य र तुलाराम पाण्डेले तालिमको सहजीकरण गरिरहेका छन्। ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ तथा ‘सम्मानजनक
बालअधिकारको सुनिश्चितता : हामी सबैको प्रतिबद्धता’ भन्ने नारासहित सञ्चालन भइरहेको तालिमबाट प्राप्त ज्ञान र सीपलाई स्थानीय तहमा बाल अधिकार संरक्षण प्रणालीलाई थप व्यवस्थित, समन्वित र प्रभावकारी बनाउन प्रयोग गरिने आयोजकले जनाएको छ।

















