बिहीबार, १५ आश्विन, २०८३

चन्दननाथ माविका दुई विद्यार्थीलाई ३० हजार रुपैयाँ छात्रवृत्ति


जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयका दुई विद्यार्थीलाई ‘सेवा र विकासका लागि युवा’ले ३० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ।


ओरेगन नेपाली समाज अमेरिकाेको सहयोग तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा आयोजित कार्यक्रममा कक्षा ९ मा अध्ययनरत रिटन न्यौपाने र लक्ष्मी रोकायालाई ‘जेहेनदार तथा लगनशील छात्रवृत्ति–२०८३’ अन्तर्गत जनही १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो।


विद्यालय प्रशासनले विद्यार्थीको शैक्षिक उत्कृष्टता, अनुशासन र आवश्यकतालाई आधार बनाएर छात्रवृत्तिका लागि सिफारिस गरेको विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले जानकारी दिए।


‘सेवा र विकासका लागि युवा’का राष्ट्रिय उपाध्यक्ष तथा कार्यक्रमका सभापति डा. दीर्घराज जोशीका अनुसार संस्थाले यस वर्ष देशभरका ३५ जना जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको छ।

उनका अनुसार संस्थाले केही वर्षयता हजारौँ विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गर्दै आएको छ।कार्यक्रममा बोल्दै डा. जोशीले दृढ संकल्प, अनुशासन र निरन्तर प्रयासले असम्भवजस्तो देखिने काम पनि सम्भव बनाउन सकिने बताए।

उनले विद्यार्थीलाई आफ्नो अध्ययनलाई व्यक्तिगत सफलता मात्र नभई मातृभूमिको सेवासँग जोडेर अघि बढ्न आग्रह गरे।
‘माग्ने समाज होइन, हामीले हामीलाई दिने समाजमा रूपान्तरण गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि तन, मन, धन, मन, वचन र कर्मले राष्ट्रिय चिन्तनसहित निरन्तर काम गर्न आवश्यक छ।’


कार्यक्रम सञ्चालन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फार्मेसी अध्ययनरत विद्यार्थी प्रदीप नारायण जोशीले गरेका थिए।
कार्यक्रमको अन्त्यमा जोशीले आफ्नो शोधकार्यका क्रममा अध्ययन गरेको जुम्लाको ढटेलोको तेल तथा जुम्लाबाट प्राकृतिक रूपमा संकलन गरिएको मौरीको पोतलाबाट तयार गरिएको ‘जुम्ली लिप केयर’ सहभागीलाई उपलब्ध गराएका थिए। सहभागीहरूले उक्त लिप केयर प्रयोग गर्दै कार्यक्रमको समापन गरेका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार