बिहीबार, ३ मंसिर, २०८३

राशिफल : विश्वास कि अन्धविश्वास ?

मेरो जन्म, तुला राशि, बाल्यकालको एउटा भविष्यवाणी, धार्मिक मान्यता र वैज्ञानिक आधारसँग जोडिएको आत्मचिन्तन

राशिफल पढौँ, तर डराएर होइन; परम्पराको सम्मान गरौँ, तर प्रश्न गर्न छाडेर होइन। मानिसको वास्तविक पहिचान राशि वा जन्मकुण्डलीले होइन, विवेक, आचरण र कर्मले निर्माण गर्छ।

कहिलेकाहीँ जीवनमा घटेका घटनाले विश्वास जगाउँछन्, कहिलेकाहीँ विज्ञानले प्रश्न उठाउँछ। तर सत्यको खोजीमा विश्वास र विज्ञान दुवैलाई बुझ्नु आवश्यक हुन्छ। मानिसले आफ्नो भविष्यबारे जान्ने जिज्ञासा राख्नु स्वाभाविक हो। यही जिज्ञासाले उसलाई धर्म, ज्योतिष, दर्शन र विज्ञानसम्म पुर्‍याउँछ। तर के राशिफलले साँच्चै मानिसको भविष्य बताउन सक्छ ? अथवा यो केवल सांस्कृतिक विश्वास र मनोवैज्ञानिक अनुभूतिको विषय हो ?

मेरो जीवनसँग जोडिएको एउटा बाल्यकालीन भविष्यवाणीले आजसम्म मलाई यही प्रश्नको उत्तर खोज्न प्रेरित गरिरहेको छ।

मेरो जन्म वि.सं. २०३४ साल असार १३ गते सोमबार साँझ करिब ५ बजे जुम्लाको तत्कालीन बुम्ल गाविस–४ (हाल चन्दननाथ नगरपालिका–९) मा भएको हो। ज्योतिषीय मान्यताअनुसार मेरो राशि तुला हो। न्वारनको नाम रामबहादुर अर्थात् रुन रहेछ। तर बाबुआमाले छोराको आयु लामो होस् र कसैको आँखा नलागोस् भन्ने परम्परागत जनविश्वासका आधारमा मेरो नाम कुमरो राखिदिनुभएको रहेछ। अहिले पनि गाउँका मानिसले मलाई कुमरो भनेर जिस्क्याउँछन्।

पछि मेरो नाम परिमार्जन भएर भीम नेपाली बनेको हो। मेरो जातीय पहिचान सार्की भए पनि विद्यालयमा जातकै कारण विभेद हुन सक्ने सामाजिक मनोविज्ञानका कारण परिवारले नेपाली थर अपनाएको रहेछ। अहिले फर्केर हेर्दा नाम र थर परिवर्तनसँग जोडिएको त्यो समयको सामाजिक मनोविज्ञानले पनि हाम्रो समाजको विभेदकारी यथार्थ सम्झाउँछ।

राशिफल भनेको के हो, यसले कसरी काम गर्छ र यसको आधार के हो भन्ने विषयमा मैले गहिरो अध्ययन गरेको छैन। तर जीवनका विभिन्न मोडमा कहिलेकाहीँ दैनिक राशिफल पढ्ने गर्छु। त्यहाँ उल्लेख गरिएका स्वभाव, बानीव्यहोरा, सफलता, असफलता, आर्थिक अवस्था, पारिवारिक सम्बन्ध र भविष्यका सम्भावनालाई आफ्नै जीवनसँग तुलना गर्छु। कतिपय कुरा मिलेजस्तो लाग्छन् भने कतिपय बिल्कुलै फरक देखिन्छन्। कहिले आशा जाग्छ, कहिले जिज्ञासा उत्पन्न हुन्छ त कहिले भविष्यप्रति चिन्ता पनि पैदा हुन्छ।

तर राशिफलप्रतिको मेरो जिज्ञासा दैनिक भविष्यवाणी पढेर मात्र उत्पन्न भएको होइन। यसको जरो बाल्यकालसँग जोडिएको एउटा घटनामा छ।

बाल्यकालको भविष्यवाणी, जसले आजसम्म प्रश्न उठाइरहेको छ

म कक्षा ३ मा पढ्दै गरेको समयको कुरा हो। मेरा बुवाले मेरो जन्मचिनो अर्थात् जन्मसम्बन्धी विवरण, पात्रो, दशा र नक्षत्र हेर्ने प्रयोजनले एकजना ब्राह्मण ज्योतिषीकहाँ देखाउनुभएको रहेछ। त्यसबेला म सानो बालक थिएँ। बुवाले सुनाउनुभएअनुसार ज्योतिषीले मेरो जन्मचिनो हेरेर भविष्यका केही घटनाबारे बताएका थिए। जीवनका निश्चित उमेरमा समस्या र चुनौती आउने, तर अन्ततः मैले सरकारी जागिर खाने र स्थायी रूपमा सरकारी सेवामा प्रवेश गरेर जीविका चलाउने उनको भविष्यवाणी रहेछ।

आज पछाडि फर्केर आफ्नो जीवन हेर्दा त्यस भविष्यवाणीको एउटा महत्त्वपूर्ण पक्ष वास्तविकतासँग मिलेको देखिन्छ। कक्षा ३ मा पढ्ने एउटा बालकका बारेमा त्यतिबेला गरिएको भविष्यवाणी र पछि जीवनमा प्राप्त भएको स्थायी सरकारी सेवाबीचको सम्बन्ध सम्झँदा मनमा अनौठो अनुभूति हुन्छ।

त्यसबेला ज्योतिषीले के आधारमा यस्तो भविष्यवाणी गरेका थिए ? जन्मचिनो, दशा र नक्षत्रको कुनै विशेष गणनाबाट उनले सरकारी जागिरको सम्भावना देखेका थिए कि त्यो केवल अनुमान थियो ? बाल्यकालमा गरिएको भविष्यवाणी जीवनको एउटा वास्तविक घटनासँग मिल्नु संयोग मात्र हो ?

यी प्रश्नले मलाई आज पनि सोच्न बाध्य बनाउँछन्। म यसलाई ज्योतिषशास्त्रको वैज्ञानिक प्रमाण भनेर दाबी गर्न चाहन्नँ। तर आफ्नै जीवनसँग जोडिएको यस अनुभवलाई बेवास्ता गरेर ज्योतिषप्रति उठेका सबै जिज्ञासालाई एकैपटक अस्वीकार गर्न पनि सक्दिनँ। अरूका लागि यो संयोग हुन सक्छ, तर मेरो स्मृतिमा यो एउटा अविस्मरणीय अनुभव बनेर बसेको छ।

सायद यही कारणले मलाई लाग्छ, ज्योतिषका सबै कुरा गलत हुन् भन्नु जति हतारो हुन्छ, केही कुरा मिलेकै आधारमा सबै भविष्यवाणी सत्य हुन् भन्नु पनि त्यत्तिकै अविवेकी हुन्छ।

तुला राशि र मेरो स्वभाव

ज्योतिषीय मान्यताअनुसार तुला राशि शुक्र ग्रहको स्वामित्वमा पर्छ। यसलाई न्याय, सन्तुलन, सौन्दर्य, प्रेम, सामाजिक सम्बन्ध र समानताको प्रतीक मानिन्छ। तुला राशि भएका मानिस न्यायप्रेमी, मिलनसार, सहयोगी, शान्तिप्रिय र अरूको भावना बुझ्ने स्वभावका हुन्छन् भन्ने विश्वास गरिन्छ। उनीहरूमा विवाद समाधान गर्ने र सामाजिक सम्बन्ध सन्तुलित राख्ने क्षमता हुन्छ भन्ने व्याख्या पनि पाइन्छ।

यी गुण पढ्दा म आफ्नै जीवन र व्यवहार सम्झन्छु। के म साँच्चै न्यायप्रेमी छु ? के अरूको दुःख बुझ्ने र सबैलाई समान व्यवहार गर्ने स्वभाव ममा छ ? के मेरो निर्णय गर्ने शैलीमा कहिलेकाहीँ अन्योल र ढिलाइ देखिन्छ ? यदि यी गुण मभित्र छन् भने के ती सबै तुला राशिकै कारण आएका हुन् ? अथवा परिवार, समाज, शिक्षा, संस्कार, सङ्घर्ष र जीवनका अनुभवले मलाई यस्तो बनाएका हुन् ?

मलाई लाग्छ, आफ्नो स्वभाव बुझ्न राशिफल पढ्न सकिन्छ। तर न्यायप्रेमी बन्न न्यायपूर्ण व्यवहार गर्नुपर्छ, सहयोगी बन्न अरूको दुःखमा साथ दिनुपर्छ र समानतावादी बन्न जात, धर्म, लिङ्ग, वर्ग तथा आर्थिक अवस्थाका आधारमा कसैलाई सानोठूलो ठान्नु हुँदैन। असल गुण राशिमा लेखिँदैमा प्राप्त हुँदैनन्, ती व्यवहारबाट निर्माण गर्नुपर्छ।

हिन्दू धर्म, वेदाङ्ग ज्योतिष र शास्त्रीय मान्यता

हिन्दू धर्म र संस्कृतिमा ज्योतिषको लामो ऐतिहासिक परम्परा छ। वेदका छ अङ्गमध्ये वेदाङ्ग ज्योतिष पनि एक हो। यसमा ग्रह, नक्षत्र, समय र खगोलीय अवस्थाको अध्ययन तथा धार्मिक कार्यका लागि उपयुक्त समय निर्धारण गर्ने विषय समेटिएका छन्। नेपाली समाजमा विवाह, व्रतबन्ध, गृहप्रवेश, जन्मकुण्डली निर्माण र मुहूर्त निर्धारणमा ज्योतिषको प्रयोग हुँदै आएको छ।

तर वेदाङ्ग ज्योतिषको खगोलीय तथा कालगणनासम्बन्धी अध्ययन र सञ्चारमाध्यममा प्रकाशित हुने दैनिक राशिफल एउटै विषय होइनन्। आधुनिक राशिफलमा उल्लेख गरिएका व्यक्तित्व र भविष्यसम्बन्धी सबै विवरण वेदकै प्रत्यक्ष वचन हुन् भन्न मिल्दैन। त्यसैले धार्मिक ग्रन्थ, शास्त्रीय ज्योतिष र आधुनिक राशिफललाई एउटै आधारमा राखेर निष्कर्ष निकाल्नु उचित हुँदैन।

धार्मिक परम्पराको सम्मान गर्नु र त्यसका प्रत्येक दाबीलाई प्रश्नविहीन रूपमा स्वीकार गर्नु फरक कुरा हुन्। आस्था राख्दैमा विवेकलाई बन्दी बनाउनु आवश्यक छैन।

सबै धर्मका मानिसका लागि राशिफलको अर्थ के ?

मेरो मनमा अर्को प्रश्न पनि उठ्छ। हिन्दू धर्म मान्ने मानिसले आफ्नो धार्मिक तथा सांस्कृतिक परम्पराका आधारमा राशिफलमा विश्वास गर्लान्। तर इस्लाम, इसाई, बौद्ध वा अन्य धर्म मान्ने मानिसले आफ्नो भविष्यलाई कुन आधारमा बुझ्छन् ?

इस्लाम धर्ममा भविष्यको पूर्ण ज्ञान अल्लाहसँग मात्र हुन्छ भन्ने मान्यता छ। इसाई धर्ममा परमेश्वरको इच्छा, विश्वास र प्रार्थनालाई महत्त्व दिइन्छ। बौद्ध दर्शनमा ग्रहभन्दा कर्म, चेतना, अनित्यताको बोध र कारण–परिणामको सम्बन्धलाई महत्त्व दिइन्छ। यद्यपि केही बौद्ध सांस्कृतिक परम्परामा ज्योतिषीय गणना पनि प्रचलित छन्।

यसरी हेर्दा मानिसको विश्वास उसको धर्म, संस्कृति, परिवार, समाज र व्यक्तिगत अनुभवअनुसार फरक हुन्छ। तर सबै मानिसको चाहना भने लगभग समान छ। सबै सुख खोज्छन्, दुःखबाट मुक्ति चाहन्छन्, परिवारको खुसी चाहन्छन् र भविष्यप्रति आशा राख्छन्। धर्म फरक हुन सक्छ, प्रार्थना गर्ने तरिका फरक हुन सक्छ, तर मानवीय पीडा, आशा, प्रेम, परिश्रम र जीवनप्रतिको चाहना सबैमा समान हुन्छ।

त्यसैले राशिफललाई कुनै एउटा धर्मको सीमाभित्र मात्र राखेर हेर्नुभन्दा यसको सांस्कृतिक, दार्शनिक र वैज्ञानिक पक्षलाई अलग-अलग बुझ्नु आवश्यक छ।

विज्ञानले राशिफलबारे के भन्छ ?

धार्मिक विश्वास र सांस्कृतिक परम्पराभन्दा बाहिर रहेर विज्ञानले राशिफललाई कसरी हेर्छ ? वैज्ञानिक दृष्टिकोणबाट जन्मराशि वा जन्मकुण्डलीका आधारमा मानिसको सम्पूर्ण व्यक्तित्व, व्यवहार र भविष्य ठ्याक्कै निर्धारण गर्न सकिन्छ भन्ने दाबी भरपर्दो रूपमा प्रमाणित भएको छैन।

सन् १९८५ मा वैज्ञानिक शान कार्लसनले नेचर नामक प्रतिष्ठित वैज्ञानिक जर्नलमा ज्योतिषसम्बन्धी एउटा परीक्षण प्रकाशित गरेका थिए। उक्त अध्ययनमा ज्योतिषीहरूले जन्मकुण्डलीका आधारमा व्यक्तित्व पहिचान गर्ने दाबीलाई विश्वसनीय रूपमा पुष्टि गर्न सकेनन्।

मनोविज्ञानमा ‘बर्नम प्रभाव’ भन्ने अवधारणा पनि छ। यसअनुसार मानिसले धेरै व्यक्तिलाई सामान्य रूपमा मिल्ने विवरणलाई आफ्नै जीवनको विशेष व्याख्या ठान्न सक्छ। उदाहरणका लागि, ‘तपाईं अरूलाई खुसी बनाउन चाहनुहुन्छ, तर कहिलेकाहीँ मनभित्रको पीडा लुकाउनुहुन्छ’ भन्ने कुरा धेरै मानिसलाई मिल्न सक्छ। तर पढ्ने व्यक्तिले त्यसलाई आफ्नै जीवनको विशेष रहस्य ठान्न सक्छ।

त्यसैले राशिफल पढ्दा आफूलाई मिलेजस्तो लाग्नु नै त्यसको वैज्ञानिक सत्यताको प्रमाण होइन।

तर मेरो बाल्यकालको भविष्यवाणी सम्झँदा अर्को प्रश्न उठ्छ। यदि ज्योतिषीय भविष्यवाणी सामान्य अनुमान मात्र हो भने कुनै व्यक्तिको जीवनसँग यसरी विशेष रूपमा मिलेजस्तो देखिने घटना कसरी घट्छ ? के यो संयोग हो ? के ज्योतिषीले त्यतिबेलाको सामाजिक परिस्थिति र सम्भावनाका आधारमा अनुमान गरेका थिए ? अथवा यसका पछाडि हामीले पर्याप्त रूपमा नबुझेको कुनै पक्ष छ ?

विज्ञानको विशेषता नै यस्ता प्रश्नलाई प्रमाणका आधारमा जाँच्नु हो। कुनै घटना मिल्यो भन्दैमा त्यसलाई तुरुन्तै वैज्ञानिक सत्य घोषणा गर्न मिल्दैन। त्यसैगरी कुनै कुरा अहिले प्रमाणित भएको छैन भन्दैमा त्यसबारे प्रश्न उठाउने र अनुसन्धान गर्ने ढोका बन्द गर्नु पनि वैज्ञानिक सोच होइन। व्यक्तिगत अनुभव र वैज्ञानिक प्रमाणबीचको भिन्नता भने स्पष्ट राख्नुपर्छ।

एउटै राशि, तर किन फरक जीवन ?

यदि ग्रह र नक्षत्रले मानिसको सम्पूर्ण स्वभाव र भाग्य निर्धारण गर्छन् भने एउटै समयमा जन्मिएका विभिन्न धर्म, जाति, देश र परिवेशका मानिसको जीवन किन फरक हुन्छ ? एउटै राशिका कोही धनी हुन्छन्, कोही गरिब। कोही शिक्षित हुन्छन्, कोही शिक्षाबाट वञ्चित हुन्छन्। कोही सत्ताको उच्च पदमा पुग्छन्, कोही सामान्य मजदुरी गरेर जीवन चलाउँछन्। कोही सुखसुविधामा हुर्कन्छन्, कोही बाल्यकालदेखि नै अभाव र सङ्घर्षसँग जुध्न बाध्य हुन्छन्।

यदि सबै कुरा ग्रहले नै निर्धारण गर्थे भने यति ठूलो असमानता किन देखिन्थ्यो ?

यसको उत्तर मानिसको जन्मराशिमा मात्र खोजेर भेटिँदैन। परिवारको आर्थिक अवस्था, शिक्षाको पहुँच, सामाजिक संरचना, अवसरको उपलब्धता, जातीय तथा वर्गीय विभेद, राजनीतिक परिस्थिति, व्यक्तिगत क्षमता, अनुभव र निर्णयले मानिसको जीवनमा गहिरो प्रभाव पार्छन्।

एउटै समयमा जन्मिएका दुई बालबालिकामध्ये एउटाले राम्रो शिक्षा र अवसर पाउँछ भने अर्कोले अभावका कारण पढाइ छाड्नुपर्ने अवस्था आउन सक्छ। उनीहरूको जन्मसमय मिल्न सक्छ, तर जीवनका अवसर मिल्दैनन्। त्यस्तै, जुम्ल्याहा सन्तानको जीवन र स्वभावमा समेत भिन्नता देखिन सक्छ। त्यसैले मानिसको जीवनलाई केवल ग्रहको गणनाबाट व्याख्या गर्नु वास्तविक सामाजिक अवस्थालाई बेवास्ता गर्नु हो।

मेरो जीवनको आत्मचिन्तन : भाग्य कि कर्म ?

जीवनमा कहिलेकाहीँ आफूले नसोचेका दुःख आउँछन्। मेहनत गर्दा पनि सफलता प्राप्त हुँदैन। इमानदार भएर काम गर्दा पनि अपमान सहनुपर्छ। अरूलाई सहयोग गर्दा पनि धोका पाइन्छ। कहिलेकाहीँ आफ्नै निर्णय गलत साबित हुन्छन्। यस्ता अवस्थामा मानिसको मनमा प्रश्न उठ्छ– के यो सबै मेरो भाग्यमा लेखिएको थियो ? के ग्रहको दशा बिग्रिएकै कारण यस्तो भयो ?

मेरो विचारमा राशिफलले कहिलेकाहीँ आत्मचिन्तनको अवसर दिन सक्छ। तुला राशिका सकारात्मक गुण पढेर न्यायप्रेमी, समानतावादी, शान्तिप्रिय, सहयोगी र जिम्मेवार बन्न प्रेरणा लिन सकिन्छ। तर ती गुण जन्मराशिका कारण स्वतः प्राप्त हुन्छन् भन्ने ठान्नु उचित हुँदैन।

नराम्रो राशिफल पढेर डराउनु, आफ्नो लक्ष्यबाट पछि हट्नु, महत्त्वपूर्ण निर्णय गर्न हिचकिचाउनु वा भविष्यप्रति निराश हुनु हुँदैन। मानिसले आफ्नो जीवनको जिम्मेवारी ग्रहलाई मात्र सुम्पिनु पनि उचित होइन। धर्मले नैतिकता सिकाउनुपर्छ, विज्ञानले प्रमाण खोज्नुपर्छ र विवेकले सही तथा गलत छुट्याउनुपर्छ।

मेरो वास्तविक परिचय राशि होइन, मेरो कर्म हो। म कस्तो विचार राख्छु, अरूसँग कस्तो व्यवहार गर्छु, अन्याय हुँदा बोल्छु कि बोल्दिनँ, दुःखमा परेकालाई सहयोग गर्छु कि गर्दिनँ, आफ्नो जिम्मेवारी पूरा गर्छु कि गर्दिनँ र समाजको हितका लागि कति योगदान दिन्छु भन्ने कुराले मेरो व्यक्तित्व निर्माण गर्छ।

हिन्दू होस् वा मुस्लिम, इसाई होस् वा बौद्ध, धनी होस् वा गरिब, जुनसुकै जाति र समुदायको मानिस होस्, मानवताको मूल्य सबैमा समान हुनुपर्छ। कसैको जन्मराशिका आधारमा उसलाई असल वा खराब भन्न मिल्दैन। कसैको धर्मका आधारमा उसको क्षमता र भविष्यको निर्णय गर्न पनि मिल्दैन। मानिसको मूल्य उसको आचरण, ज्ञान, श्रम, इमानदारी र मानवीय व्यवहारबाट मापन गर्नुपर्छ।

मलाई अन्यायविरुद्ध बोल्ने साहस चाहिन्छ भने त्यो मेरो ग्रहले होइन, मेरो चेतनाले दिनुपर्छ। समाजमा समानता स्थापना गर्न चाहन्छु भने त्यसका लागि मेरो कर्म र सङ्घर्ष आवश्यक हुन्छ। जीवनमा सफल हुन चाहन्छु भने परिश्रम, निरन्तरता र सही निर्णय चाहिन्छ।

अन्तिम आत्मप्रश्न : विश्वास गर्छु, तर कति ?

आज म आफ्नै जन्ममिति, जन्मस्थान, तुला राशि र बाल्यकालमा गरिएको त्यो भविष्यवाणी सम्झन्छु। एउटा सानो बालकको जन्मचिनो हेरेर भविष्यमा सरकारी स्थायी जागिर खानेछ भन्ने भनाइ र पछि जीवनमा त्यससँग मिल्दोजुल्दो घटना घट्नु मेरो लागि सामान्य सम्झना होइन। त्यो मेरो जीवनको अविस्मरणीय प्रसङ्ग हो।

म त्यसलाई नकार्न सक्दिनँ। तर त्यसैका आधारमा ज्योतिषशास्त्रका सबै दाबी सत्य हुन् भन्न पनि सक्दिनँ। मेरो विचारमा ज्योतिषीय परम्परासँग जोडिएका व्यक्तिले पनि मानिसको भविष्यबारे भविष्यवाणी गर्दा जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्छ। आफ्नो आम्दानीको माध्यम बनाउने नाममा कसैलाई भयभीत पार्नु, ग्रहदशाको डर देखाउनु वा जन्मकुण्डलीका आधारमा उसको जीवनप्रति निराशा पैदा गर्नु उचित होइन। भविष्यवाणीले मानिसको आत्मविश्वास र सम्भावनालाई अवरुद्ध गर्नु हुँदैन। बरु सकारात्मक सोच, आत्मविश्वास र सत्कर्मतर्फ प्रेरित गर्न सक्नुपर्छ।

जन्मकुण्डली हेर्नु वा ज्योतिषीय परामर्श लिनु व्यक्तिगत विश्वासको विषय हुन सक्छ। तर त्यसलाई जीवनको अन्तिम निर्णय मान्नु हुँदैन। मानिसले आफ्नो सम्भावना, क्षमता र भविष्यप्रति भरोसा राख्नुपर्छ।

मेरो दृष्टिकोण यही हो– केही व्यक्तिगत अनुभवले विश्वास जगाउँछन्, केही घटनाले संयोगको प्रश्न उठाउँछन् र विज्ञानले प्रमाण खोज्न सिकाउँछ। यी तीनवटै पक्षलाई सन्तुलित रूपमा बुझ्नु आवश्यक छ।

राशिफल पढौँ, तर डराएर होइन; परम्पराको सम्मान गरौँ, तर प्रश्न गर्न छाडेर होइन; धर्म मानौँ, तर मानवता बिर्सेर होइन; विज्ञानलाई बुझौँ, तर प्रमाणबिना निष्कर्ष निकालेर होइन। राशिफल कुनै धर्मको सांस्कृतिक परम्परासँग जोडिएको हुन सक्छ, तर त्यसको वैज्ञानिक विश्वसनीयता धार्मिक आस्थाले होइन, प्रमाण र परीक्षणले निर्धारण गर्नुपर्छ।

अन्ततः मेरो प्रश्न सबै धर्म र समुदायका मानिससँग एउटै छ– हामी आफ्नो जीवन ग्रहको भरमा चलाउने कि ज्ञान, विवेक, विज्ञान र सत्कर्मका आधारमा अगाडि बढाउने ?

मेरो बाल्यकालको भविष्यवाणीले मलाई ज्योतिषप्रति जिज्ञासु बनाएको छ। तर म आफ्नो जीवनलाई राशिको सीमाभित्र कैद गर्न चाहन्नँ। जीवनमा चुनौती आउलान्, असफलता र अभावका क्षण पनि आउलान्। तर ती सबैसँग जुध्ने शक्ति म आफ्नो आत्मविश्वास, ज्ञान, परिश्रम र सङ्घर्षमा खोज्न चाहन्छु।

ग्रहले आकाशमा आफ्नो गति चलाइरहन्छन्, धर्मले आस्थाको बाटो देखाइरहन्छ, विज्ञानले सत्यको खोजी गरिरहन्छ; तर मानिसले आफ्नो जीवनको दिशा आफ्नै विवेक, निर्णय र कर्मबाट निर्माण गर्नुपर्छ।

चेतना भया।

(लेखक चन्दननाथ नगरपालिका–९, जुम्लाका स्थायी बासिन्दा तथा दलित सेवा संघ जुम्लाका अध्यक्ष हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार