शुक्रबार, ४ मंसिर, २०८३

आरक्षण देख्ने समाजले उत्पीडनको इतिहास किन देख्दैन ?

हाम्रो जात देखेर प्रश्न गर्नेहरूले पुस्तौँदेखिको पीडा पनि देखून् !

आरक्षण कसैको भाग खोस्ने व्यवस्था होइन, इतिहासले खोसेका अवसर पुनःस्थापित गर्ने न्यायको माध्यम हो। हाम्रो माग विशेषाधिकार होइन, समान अधिकार, सम्मान र विभेदमुक्त समाज हो।

कस्तो अचम्मको समाज छ हाम्रो ! जातका आधारमा प्राप्त समानुपातिक प्रतिनिधित्व, समावेशी व्यवस्था र आरक्षणका अवसर त सबैले देख्छन्, तर त्यही जातका कारण पुस्तौँदेखि भोग्नुपरेको अपमान, विभेद, बहिष्करण र अत्याचार भने कसैले देख्दैनन् । आरक्षणको एउटा अवसर देखेर प्रश्न गर्नेहरूलाई हजारौँ वर्षदेखि खोसिएका अवसरको इतिहास सम्झिन किन गाह्रो हुन्छ ?

कसैले हामीले पाएको आरक्षणको हिसाब गर्छन्, तर हामीबाट खोसिएको शिक्षाको हिसाब गर्दैनन् । कसैले हामीले पाएको अवसर देख्छन्, तर अवसरको ढोकामै पुस्तौँसम्म लगाइएको जातीय ताला देख्दैनन् । कसैले हाम्रो प्रतिनिधित्व देख्छन्, तर राज्यका निर्णायक तहबाट हामीलाई योजनाबद्ध रूपमा बाहिर राखिएको इतिहास देख्दैनन् ।

हिजो हाम्रो जातकै कारण विद्यालयमा अपमानित हुनुपर्‍यो । सार्वजनिक धारामा पानी भर्न दिइएन । मन्दिर प्रवेशमा रोक लगाइयो । घरभित्र पस्न अयोग्य ठानियो । हाम्रो श्रम लिइयो, तर श्रमको सम्मान गरिएन । हाम्रो सीप प्रयोग गरियो, तर हाम्रो अस्तित्व स्वीकार गरिएन । हाम्रै पसिनाले अरूका महल ठडिए, तर आफ्ना सन्तानका लागि सम्मानजनक जीवनको आधार निर्माण गर्ने अवसरसमेत दिइएन ।

हाम्रा पुर्खाहरूले आफ्नो योग्यता प्रमाणित गर्ने अवसरसमेत पाएनन् । उनीहरूको क्षमता जातीय पर्खालभित्र कैद गरियो । सपनालाई परम्पराका नाममा कुल्चियो । आवाजलाई धर्म, संस्कृति र सामाजिक मर्यादाका नाममा दबाइयो । यसरी पुस्तौँदेखि एउटा समुदायलाई अवसर, अधिकार र सम्मानबाट वञ्चित गरियो ।

त्यही विभेदको निरन्तरता आज पनि समाजका अनेक व्यवहारमा जीवित छ । अनुहारमा मुस्कान राखेर जात सोध्नेहरू छन् । योग्यता स्वीकार गरे पनि जातका कारण सम्बन्ध अस्वीकार गर्नेहरू छन् । समानताको भाषण गर्ने तर व्यवहारमा छुवाछुत र जातीय अहंकार पाल्नेहरू छन् ।

तर जब राज्यले ऐतिहासिक अन्यायमा परेका समुदायलाई केही अवसर, प्रतिनिधित्व र संरक्षण दिन खोज्छ, तब अचानक योग्यता, प्रतिस्पर्धा र समानताको चिन्ता गर्नेहरूको भीड उर्लिन्छ । आरक्षणको विरोधमा तर्क गर्नेहरूलाई एउटा प्रश्न छ—प्रतिस्पर्धामा उत्रिनुअघि सबैलाई एउटै धरातलमा उभ्याइएको थियो ?

कोही पुस्तौँदेखि शिक्षा, सम्पत्ति, सत्ता, अवसर र सामाजिक प्रतिष्ठाको विरासत बोकेर प्रतिस्पर्धामा आएका छन् । कोही भने पुस्तौँको अभाव, अपमान, भूमिहीनता, अशिक्षा र सामाजिक बहिष्करणको भारी बोकेर मैदानमा उत्रिएका छन् । अनि दुवैलाई एउटै रेखाबाट दौडाउनुलाई नै समानता भन्ने ?

समानता भनेको सबैलाई एउटै व्यवहार गर्नु मात्रै होइन । ऐतिहासिक असमानता र विभेदका कारण पछाडि पारिएका समुदायलाई अगाडि बढ्न आवश्यक आधार र अवसर उपलब्ध गराउनु पनि समानता नै हो । सुरुआती अवस्था नै असमान हुँदा प्रतिस्पर्धाको परिणाम समान हुन सक्दैन । त्यसैले समान अवसरको सुनिश्चितताका लागि विशेष व्यवस्था आवश्यक हुन्छ ।

समानुपातिक प्रतिनिधित्व, समावेशी व्यवस्था र आरक्षण कसैको भाग खोस्ने माध्यम होइनन् । यी त इतिहासले खोसेका अवसरलाई केही हदसम्म पुनःस्थापित गर्ने न्यायका उपाय हुन् । यो कसैप्रतिको दया वा कृपा होइन, राज्य र समाजको ऐतिहासिक जिम्मेवारी हो ।

हामीलाई थाहा छ, समानुपातिक प्रतिनिधित्व, समावेशी व्यवस्था र आरक्षणले मात्रै हजारौँ वर्षदेखिको विभेद अन्त्य हुँदैन । तर यस्ता व्यवस्थाविना ऐतिहासिक रूपमा बहिष्करणमा पारिएका समुदायलाई राज्यका निर्णायक तहसम्म पुर्‍याउन झन् कठिन हुन्छ । त्यसैले प्रतिनिधित्व र आरक्षणसँगै शिक्षा, स्वास्थ्य, भूमि, रोजगारी, आर्थिक अवसर तथा सामाजिक सम्मानमा पनि न्यायपूर्ण पहुँच सुनिश्चित गरिनुपर्छ ।

हामीलाई कसैको कृपा चाहिएको होइन, आफ्नो क्षमता देखाउने अवसर चाहिएको हो । कसैको दया होइन, आफ्नो श्रमको सम्मान चाहिएको हो । हामीलाई अरूभन्दा माथि उठ्नु छैन, अरूसरह भएर बाँच्नु छ । हाम्रो माग विशेषाधिकार होइन, समान अधिकार र सम्मानजनक जीवन हो ।

हामी कसैका विरुद्ध घृणा फैलाउन खोजिरहेका छैनौँ । हामी त मानिसलाई मानिसभन्दा सानो बनाउने जातीय अहंकार, छुवाछुत, शोषण र विभेदको अन्त्य चाहन्छौँ । जातका आधारमा हुने अपमान र बहिष्करण अन्त्य गरी सबैले समान रूपमा बाँच्न पाउने समाज निर्माण गर्नु हाम्रो उद्देश्य हो ।

आज पनि आरक्षणमाथि प्रश्न उठाउने प्रत्येक सचेत नागरिकले एकपटक आफ्नो विवेकलाई सोध्नुपर्छ—जातीय विभेदको इतिहास साँच्चै अन्त्य भएको हो कि विभेदविरुद्ध बोल्नेहरूको आवाज मात्रै कमजोर पार्न खोजिएको हो ? सामाजिक संरचनामा रहेको असमानता हटेको हो कि त्यसलाई बेवास्ता गरेर समानताको नारा मात्रै लगाइएको हो ?

अन्त्यमा एउटा कुरा स्पष्ट छ—हामीलाई समानुपातिक प्रतिनिधित्व, समावेशी व्यवस्था र आरक्षण पाएकोमा लाज छैन । बरु पुस्तौँसम्म अन्याय सहन बाध्य पारिएको इतिहासप्रति पीडा छ । हामीलाई आफ्नो पहिचान लुकाउनु छैन, बरु यही पहिचानका कारण अब कसैले पनि अपमानित हुन नपर्ने समाज निर्माण गर्नु छ ।

हिजो हाम्रो शिर झुकाइएको थियो, आज हामी शिर उठाएर हिँड्न खोज्दैछौँ । हिजो हाम्रो आवाज दबाइएको थियो, आज हामी अधिकारको भाषा बोल्दैछौँ । हिजो हाम्रा सन्तानका सपना जातीय पर्खालमा ठोक्किन्थे, आज ती सपनालाई आकाशसम्म पुर्‍याउन चाहन्छौँ ।

त्यसैले आरक्षण देख्ने आँखाले विभेद पनि देखोस् । हाम्रो अवसर देख्ने समाजले हाम्रो इतिहास पनि पढोस् । हाम्रो प्रतिनिधित्व देखेर असहज हुनेहरूले हाम्रो अनुपस्थितिमा निर्माण भएको इतिहास पनि सम्झिऊन् ।

किनकि हामीले मागेको विशेषाधिकार होइन, हजारौँ वर्षदेखि नपाएको न्याय हो । हामीले खोजेको दया होइन, मानवीय सम्मान हो । हामीले चाहेको कसैमाथि शासन गर्नु होइन, सबै मानिस समान भएर बाँच्न पाउने न्यायपूर्ण समाज हो ।

जातका कारण पुस्तौँसम्म दबाइएका समुदायले आज आफ्नो अस्तित्व, अधिकार र स्वाभिमानको आवाज उठाउनु कसैका विरुद्धको विद्रोह होइन, अन्यायपूर्ण व्यवस्थाविरुद्धको मानवीय मुक्ति सङ्घर्ष हो ।

समानता भाषणमा होइन, व्यवहारमा देखियोस् । न्याय संविधानमा मात्रै होइन, समाजको जीवनमा स्थापित होस् ।

(लेखक बादी रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार