जुम्लाको चन्दननाथ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सबै बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउने उद्देश्यले आयोजित कार्यक्रममा नगरपालिकालाई औपचारिक रूपमा घोषणा गरिएको हो।
बुधबार नगरपालिकाको परिसरमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतका अनुसार नियमित खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने लक्ष्यसहित अभियान अघि बढाइएको हो।
जनस्वास्थ्य सेवा कार्यालय जुम्ला का प्रमुख किरण शर्माले वैशाख महिनालाई खोप दिवसका रूपमा मनाइने जानकारी दिँदै पालिकामा खोपबाट छुटेका बालबालिकाको मूल्याङ्कन ‘स्टेप प्रणाली’ मार्फत गरिने बताए।
नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले पालिकाभित्रका सबै बालबालिका खोपको पहुँचमा पुगेकाले चन्दननाथ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताइन्।















