अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जुम्लाको ११औँ जिल्ला अधिवेशनले बिन बहादुर रावतको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ।
अधिवेशनको बन्द सत्रले तिला गाउँपालिकाका रावतलाई अध्यक्षमा निर्वाचित गरेको हो। कमिटीको उपाध्यक्षमा पदम न्यौपाने (तातोपानी) र महिला उपाध्यक्षमा रेखा बुढा (तिला) चयन भएका छन्।
त्यसैगरी सचिवमा भिजन वड (सिंजा), सहसचिवद्वयमा सन्तोष शाही (हिमा) र निशा रावल (गुठीचौर) तथा कोषाध्यक्षमा सञ्जु सिकर्मी (कनकासुन्दरी) सर्वसम्मत निर्वाचित भएका छन्।
अधिवेशनबाट सदस्यहरूमा सुनिल धामी, राजन बुढा, वीरेन्द्र वड, रोशन सुनार, आस्ता भण्डारी, जुनु भण्डारी, सुरेन्द्र महत, सोनिया थापा, रमेश पाण्डे र मिरा बुढा चयन भएको जिल्ला कमिटीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
यसअघि बिराज भण्डारीको अध्यक्षतामा रतन नाथ योगी र अनिल जंग महत सदस्य रहेको तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरी बन्द सत्र सञ्चालन गरिएको थियो।
संगठनका केन्द्रीय सदस्य एवं जुम्ला जिल्ला इन्चार्ज योगी तथा निवर्तमान जिल्ला संयोजक महतको आतिथ्यमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्वलाई पूर्णता दिएको हो।
नवनिर्वाचित कमिटीले जिल्लाको शैक्षिक उन्नयन, विद्यार्थीको हकहित संरक्षण र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।
















