बिहीबार, ७ श्रावण, २०८३

धर्म बुढा : विश्वविद्यालयको स्वर्ण पदक पाउने जुम्ला पातारासीका एक्ला विद्यार्थी

विकट डिल्लीचौरबाट सुरु भएको उनको शैक्षिक यात्रा सुर्खेतका विद्यालय हुँदै विश्वविद्यालयको सर्वोच्च शैक्षिक सम्मानसम्म पुगेको छ। उनको सफलताको पछाडि निरन्तर अध्ययन, अनुशासन, आत्मनिर्भरता र कठिन परिश्रम प्रमुख आधार बनेका छन्।

जुम्लाको पातारासी गाउँपालिका–४ डिल्लीचौरका धर्म बुढा आर्थिक अभावका बीच संघर्ष गर्दै मध्य–पश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा स्वर्ण पदकसहित विश्वविद्यालय टपर बन्न सफल भए। सामान्य पारिवारिक पृष्ठभूमिका बुढाको यो सफलता धेरैका लागि प्रेरणादायी बनेको छ।

२०५९ साल असोज १२ गते बुबा कालीबहादुर बुढा र आमा कासीकला बुढाका पाँच सन्तानमध्ये कान्छा छोराका रूपमा जन्मिएका धर्मले आफ्नो प्रारम्भिक शिक्षा गाउँकै श्री ऋणमोक्ष माध्यमिक विद्यालय, डिल्लीचौरबाट पूरा गरेका हुन्। अध्ययनमा सुरुदेखि नै अब्बल रहेका उनले कक्षा ८ देखि १० सम्म निरन्तर प्रथम स्थान हासिल गरेका थिए।

२०७४ सालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्दा उनले ३.२५ जिपिए अर्थात् ८१.२५ प्रतिशत अंक प्राप्त गरे। गाउँको सीमित स्रोतसाधन र अवसरका बीच हासिल गरेको यो उपलब्धिले उनलाई उच्च शिक्षातर्फ अघि बढ्ने थप हौसला प्रदान गर्‍यो।

विज्ञान विषय अध्ययन गर्ने लक्ष्यसहित उनी २०७५ सालमा सुर्खेत पुगे। त्यहाँको श्री जन नमुना माध्यमिक विद्यालयमा विज्ञान संकायमा अध्ययन गरेका उनले २०७७ सालमा कक्षा १२ को बोर्ड परीक्षा ६९ प्रतिशत अंकसहित उत्तीर्ण गरे।

उच्च शिक्षालाई निरन्तरता दिने क्रममा उनले मध्य–पश्चिम विश्वविद्यालय, सुर्खेतअन्तर्गत ग्राजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीमा स्नातक तहको अध्ययन सुरु गरे। मेहनत, अनुशासन र निरन्तर अध्ययनको परिणामस्वरूप उनले स्नातक तहमा ३.८५ जिपिए अर्थात् ९६.२६ प्रतिशत बराबरको उत्कृष्ट उपलब्धि हासिल गरे।

यही उत्कृष्ट नतिजाका आधारमा उनी विश्वविद्यालयको ‘डीन कार्यालयको लिस्ट’मा समेत समावेश भए भने आफ्नो विधामा टपर बन्न सफल भए।

धर्मको सफलताको अर्को महत्वपूर्ण पक्ष भनेको ‘काम गर्दै पढ्दै’ गर्नु हो। जुन संघर्षले उनलाई सफल मात्र बनाएन बरु अब्बल बनायो। सुर्खेतमा अध्ययनका क्रममा आफ्नो पढाइ खर्च जुटाउन उनले २०७९ सालदेखि वीरेन्द्रनगरस्थित सूर्य उदय बोर्डिङ स्कुलमा गणित विषयका शिक्षकका रूपमा काम गर्न थाले।

दिनमा विद्यालयमा अध्यापन गराउने र आफ्नो अध्ययनलाई समेत निरन्तरता दिने उनको दैनिकी सहज थिएन। तर, आत्मनिर्भर बन्ने दृढ इच्छाशक्ति र लक्ष्यप्रतिको प्रतिबद्धताले उनले काम र पढाइलाई सँगसँगै अघि बढाए।

२०७९ सालदेखि पार्टटाइम काम गर्दै अध्ययन खर्च व्यवस्थापन गरेका धर्म अन्ततः विश्वविद्यालयकै उत्कृष्ट विद्यार्थी बन्न सफल भए। उनको यो यात्राले आर्थिक अभाव र सीमित अवसरलाई सफलताको बाधक बन्न नदिई निरन्तर मेहनत गरे लक्ष्य हासिल गर्न सकिने सन्देश दिएको छ।

२०८३ साल असार ३ गते मध्य–पश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह धर्मका लागि जीवनकै अविस्मरणीय दिन बन्यो। समारोहमा दीक्षित हुँदै उनले स्नातक तहमा उत्कृष्ट प्रदर्शन गरेबापत स्वर्ण पदक र कदरपत्र प्राप्त गरे।

‘आमाको साथमा दीक्षान्त समारोहमा सहभागी हुँदा बोल्न सक्ने शब्दहरु थिएनन्,’ उनले भने, ‘मेरो परिवार, पातारासी गाउँपालिका र जुम्लाका धेरैले हौसला दिँदा त्यसै भावुक बन्न मन लाग्यो।’

विकट डिल्लीचौरबाट सुरु भएको उनको शैक्षिक यात्रा सुर्खेतका विद्यालय हुँदै विश्वविद्यालयको सर्वोच्च शैक्षिक सम्मानसम्म पुगेको छ। उनको सफलताको पछाडि निरन्तर अध्ययन, अनुशासन, आत्मनिर्भरता र कठिन परिश्रम प्रमुख आधार बनेका छन्।

यसका साथसाथै पातारासीका पहिलो विज्ञान विषयका विद्यार्थी र यो वर्षका उत्कृष्ट शिक्षक हरि बहादुर बुढाको प्रेरणाले पनि उनलाई उत्प्रेरित गरिरहेको छ। २३ वर्षको उमेरमै विश्वविद्यालयको डीन लिस्टमा पर्नु, विधागत रूपमा उत्कृष्ट बन्नु र स्वर्ण पदक प्राप्त गर्नुले धर्मको प्रतिभा र संघर्षलाई थप उजागर गरेको छ।

गणित र विज्ञानको क्षेत्रमा आगामी दिनमा अझ योगदान पुर्‍याउने लक्ष्य बोकेका धर्म बुढाको यात्रा कर्णालीका विकट गाउँमा रहेका ती विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ, जसले सीमित अवसरका बीच पनि ठूलो सपना देखिरहेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार