राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित हुने एउटा समाचारको पछाडि कहिलेकाहीँ तीन दिनको पैदल यात्रा लुकेको हुन्थ्यो। पाठकले समाचार पढ्दा त्यसको पछाडि पत्रकारले कति खोला तरेको थियो, कति भीर चढेको थियो वा कति रात अपरिचित गाउँमा बिताएको थियो भन्ने थाहा पाउँदैनथ्यो। तर, पत्रकारिताको एउटा सुन्दर पक्ष पनि यही हो, समाचारमा पत्रकारको संघर्ष देखिनु पर्दैन, त्यहाँ सत्य देखिनुपर्छ।
मुगुमा साँझको आफ्नै गति छ। घाम अस्ताउन थालेपछि उज्यालो एकाएक खुम्चिन्छ। बस्तीका छानामाथि केहीबेर सुनौलो प्रकाश टिकिरहन्छ, त्यसपछि भीरहरू क्रमशः कालो हुँदै जान्छन्। हिमाली हावाले चिसो बोकेर गाउँ पस्छ। मानिसहरू दिनभरको काम सकेर घर फर्किन्छन्। कतै गोठालोबाट फर्किएका पशुहरू बाँधिन्छन्, कतै चुलोमा आगो बल्छ, कतै बालबालिकाको आवाज विस्तारै घरभित्र हराउँछ।
रात पर्नुअघि नै गाउँ एउटा गहिरो मौनतामा डुब्न थाल्छ। तर, यही मौनताभित्र कुनै समय एउटा मानिसको काँधमा झुन्डिएको झोलाभित्र कागजका केही पाना हुन्थे। ती पानामा मुगुको कथा लेखिएको हुन्थ्यो, कुनै गाउँमा सकिएको खाद्यान्नको कथा, समयमा उपचार नपाएर ज्यान गुमाएकी गर्भवती महिलाको पीडा, भत्किएको विद्यालय भवन, शिक्षक नपुगेको बस्ती, सडकको नाममा भएको अनियमितता वा राज्यको नक्सामा त रहेको तर राज्यको अनुभूतिबाट धेरै टाढा परेको एउटा गाउँको कथा।
ती कागज तत्काल मोबाइलबाट पठाउन सकिँदैनथे। एउटा बटन थिचेर सम्पादकको कम्प्युटरसम्म पुर्याउने सुविधा थिएन। इन्टरनेट थिएन, इमेलको पहुँच थिएन। समाचार तयार हुन्थ्यो, कागजमा लेखिन्थ्यो, खाममा राखिन्थ्यो र गमगढी हुँदै हुलाकको बाटो काठमाडौँ पठाइन्थ्यो। त्यसपछि पत्रकारको काम सकिँदैनथ्यो, बरु अर्को किसिमको प्रतीक्षा सुरु हुन्थ्यो, समाचार पुग्यो कि पुगेन ? सम्पादकले पाए कि पाएनन् ? छापियो कि छापिएन ?
कहिलेकाहीँ घटनाभन्दा समाचारको यात्रा नै लामो हुन्थ्यो। तर, ती कागजमा लेखिएका शब्द केवल समाचार थिएनन्। ती नेपालको एउटा यस्तो भूगोलको आवाज थिए, जहाँ सूचना पुग्नुभन्दा पहिले अभाव पुग्थ्यो; जहाँ राज्यको योजना कागजमा पहिले आउँथ्यो र नागरिकको जीवनमा धेरैपछि; जहाँ प्राकृतिक सौन्दर्यको चर्चा देशभर हुन्थ्यो, तर त्यही सौन्दर्यको काखमा बस्ने मानिसहरूको अभाव राष्ट्रिय बहस बन्न कठिन थियो। ती कागजमा मुगुको कथा लेख्ने मानिस थिए, राजबहादुर शाही।
आज हातको मोबाइलबाट संसारभर प्रत्यक्ष प्रसारण भइरहेका बेला हुलाकमार्फत समाचार पठाउने पत्रकारको कथा कुनै पुरानो पत्रकारिता इतिहासको प्रसंगजस्तो लाग्न सक्छ। तर, राजबहादुर शाहीका लागि त्यो इतिहास मात्र होइन, आफ्नै जीवनको एउटा जीवित समय हो। एउटा यस्तो समय, जसमा पत्रकारिता केवल पेशा थिएन; दुर्गम भूगोल र राष्ट्रिय सञ्चारबीचको पुल थियो। हुलाकबाट समाचार पठाउने त्यो पत्रकार आज आफ्नै डिजिटल अनलाइन सञ्चालन गरिरहेका छन्।
तर, प्रविधि बदलिँदैमा यात्राको अर्थ बदलिँदैन। राजबहादुर शाहीको यात्रा मूलतः एउटा पत्रकारको व्यक्तिगत यात्रा मात्र होइन; यो मुगुको एउटा समयको यात्रा पनि हो—सूचना अभावको युगदेखि डिजिटल सञ्चारको युगसम्म, पैदल हिँडेर समाचार खोज्ने समयदेखि मोबाइलबाट समाचार सम्प्रेषण गर्ने समयसम्म, खाद्यान्नको लाइन, मातृमृत्यु, सडकको प्रतिक्षा र द्वन्द्वको त्रासदेखि राराको पर्यटन, पर्यावरण र डिजिटल पत्रकारितासम्मको यात्रा। यो यात्रा बुझ्न राजबहादुर शाहीलाई मात्र हेरेर पुग्दैन। मुगुलाई पनि हेर्नुपर्छ।
मुगु भन्नेबित्तिकै धेरैको आँखामा रारा आउँछ, नीलो पानीको विशाल विस्तार, वरिपरि उभिएका हरिया र पहेँलिँदै गरेका पहाड, जंगलभित्र बदलिइरहने मौसम र बादल तथा घामसँगै पानीको सतहमा फेरिइरहने रङहरू। नेपाललाई प्राकृतिक सौन्दर्यको एउटा तस्वीरमा सीमित गर्नुपरे रारा पर्याप्त हुन्छ। रारा नेपालको पर्यटन कल्पनाको एउटा सुन्दर प्रतीक हो।
तर, मुगु भनेको रारा मात्रै होइन। राराको तस्वीरभन्दा धेरै पर, भीरका काखमा फैलिएका गाउँहरूमा अर्को मुगु छ, जहाँ नागरिकको जीवन प्रकृतिको सौन्दर्यभन्दा धेरै दैनिक संघर्षसँग जोडिएको छ। जहाँ खाद्यान्न डिपोमा चामलका लागि लाइन लाग्छ, सामान्य बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन घण्टौं वा दिनौं हिँड्नुपर्छ, गर्भवती महिलाको जीवन मौसम, बाटो र स्वास्थ्य सेवाको उपलब्धतासँग जोडिएको हुन्छ। जहाँ विद्यालयको भवन हुन्छ तर शिक्षक पर्याप्त हुँदैनन्; सडकको घोषणा हुन्छ, बजेट विनियोजन हुन्छ, शिलान्यास हुन्छ, तर गाउँसम्म पुग्ने बाटो वर्षौंसम्म पूरा हुँदैन।
एउटा मुगु संसारले तस्वीरमा देख्छ, अर्को मुगु त्यहाँका मानिसले दैनिक जीवनमा भोग्छन्। राजबहादुर शाहीको पत्रकारिता यही दुई मुगुबीचको दूरीलाई शब्दमा बदल्ने प्रयत्न हो। उनले राराको नीलो पानी पनि देखाए र खाद्यान्नको लाइन पनि। हिमालको सुन्दरता पनि लेखे र हिमालमुनिको अभाव पनि। पर्यटनको सम्भावना पनि देखाए र राज्यको अनुपस्थितिमाथि प्रश्न पनि उठाए।
पत्रकारितामा भूगोल कहिलेकाहीँ विषय मात्र हुँदैन, नियति पनि हुन्छ। तपाईं कहाँबाट समाचार लेखिरहनुभएको छ भन्ने कुराले तपाईंले कस्तो पत्रकारिता गर्नुपर्छ भन्ने निर्धारण गर्छ। काठमाडौँको एउटा पत्रकारले फोन नउठेको समस्या भोग्न सक्छ, तर मुगुको पत्रकारले सम्पर्क नै नभएको संसारमा सूचना खोज्नुपर्ने हुन सक्छ। काठमाडौँको पत्रकार घटनास्थलसम्म गाडीमा पुग्न सक्छ, मुगुको पत्रकारले त्यही घटनास्थलसम्म पुग्न दुई वा तीन दिन हिँड्नुपर्ने हुन सक्छ। राजबहादुर शाहीको पत्रकारिता यही भौगोलिक यथार्थभित्र जन्मिएको पत्रकारिता हो।
उनको जन्म मुगुको सोरु गाउँपालिका–५, फोतुमा भयो। आज पनि दुर्गम मानिने यही भूगोलमा उनको बाल्यकाल आधुनिक सञ्चारको पहुँचभन्दा धेरै टाढा बित्यो। गाउँमा मोबाइल थिएन, इन्टरनेट थिएन, पत्रपत्रिका नियमित रूपमा पुग्दैनथे। रेडियोको आवाज पनि कहिलेकाहीँ राम्रो सिग्नल खोजेर मात्र सुन्न सकिन्थ्यो। सूचना पाउनु आफैंमा एउटा सुविधा थियो। आजको पुस्ताले संसारलाई हातमा समातेको मोबाइलभित्र राखेको छ। कुनै घटना भए केही सेकेन्डमै भिडियो हेर्न सकिन्छ, विश्वको अर्को कुनामा भएको राजनीतिक परिवर्तनबारे पनि तत्काल जानकारी पाइन्छ। तर, राजबहादुर शाही हुर्किएको समयमा राजधानीमा भएको घटना गाउँसम्म आइपुग्दा त्यो समाचारभन्दा पुरानो खबर भइसकेको हुन सक्थ्यो।
तर, सूचना अभावको संसारमा पनि प्रश्नहरू थिए। गाउँमा यति धेरै समस्या किन छन् ? राज्य किन यहाँसम्म आइपुगेको छैन ? मानिसले यति धेरै दुःख किन भोग्नुपर्छ ? कसैको जीवन जन्मिएको भूगोलले निर्धारण गर्छ, तर कसैको जीवनको दिशा त्यही भूगोलबारे उसले उठाएका प्रश्नहरूले निर्धारण गर्छ। राजबहादुर शाहीको जीवन पनि विस्तारै यिनै प्रश्नहरूसँग जोडिँदै गयो। दुर्गम गाउँमा जन्मिनु उनको रोजाइ थिएन, तर त्यही गाउँ, त्यही जिल्ला र त्यही भूगोलको कथा संसारले बुझोस् भन्ने चाहना उनको निर्णय बन्यो। उनले उच्च शिक्षा हासिल गरे, संघर्ष गरे र अन्ततः पत्रकारिताको बाटो रोजे।
२०५८ सालको दशकको उत्तरार्धतिर खोजमूलक पत्रकारितामार्फत सञ्चार क्षेत्रमा प्रवेश गर्दा पत्रकार बन्नु भनेको केवल समाचार लेख्न जान्नु थिएन। समाचारसम्म पुग्ने बाटो पनि आफैं बनाउनुपर्थ्यो। स्रोत खोज्नुपर्थ्यो, घटनास्थल पुग्नुपर्थ्यो, सूचना प्रमाणित गर्नुपर्थ्यो र सबैभन्दा कठिन कुरा, त्यो समाचार राष्ट्रिय सञ्चारमाध्यमसम्म पुर्याउने माध्यम पनि आफैं खोज्नुपर्थ्यो। दुर्गम गाउँबाट जिल्ला सदरमुकाम गमगढी पुग्नु उनको जीवनको अर्को महत्वपूर्ण अध्याय बन्यो। गमगढी त्यतिबेला मुगुको प्रशासनिक केन्द्र मात्र थिएन, जिल्लाभित्रका सूचना बाहिरी संसारसम्म पुग्ने एउटा केन्द्र पनि थियो। त्यहाँ सरकारी कार्यालयहरू थिए, राजनीतिक गतिविधि हुन्थे, पत्रकारहरू भेटिन्थे, सञ्चारकर्मीबीच बहस हुन्थ्यो र राष्ट्रिय सञ्चारमाध्यमसँग सम्पर्क गर्ने सम्भावना पनि त्यहीँबाट खुल्थ्यो।
त्यही वातावरणमा राजबहादुर शाहीको पत्रकारिता विस्तारै आकार लिन थाल्यो। स्वर्गीय सुमन मल्ल, विनोदकुमार मल्ल, नृपेन्द्रबहादुर मल्ल र जीवन सेजुवालजस्ता पत्रकार तथा सञ्चारकर्मीहरू उनको पत्रकारिता यात्राका महत्वपूर्ण सहयात्री बने। पत्रकारिता कसरी गर्ने भन्ने पाठ सधैं विश्वविद्यालयको कक्षाकोठामा सिकिँदैन। कतिपय पाठ सहकर्मीले सिकाउँछन्, कतिपय गल्तीले, कतिपय आलोचनाले, कतिपय जोखिमले र कतिपय त्यस्ता परिस्थितिले, जहाँ सही निर्णय गर्नका लागि कुनै पाठ्यपुस्तक हुँदैन।
शाहीले पत्रकारिता यस्तै अनुभवहरूको बीचबाट सिके। गमगढीका समाजसेवी तथा राजनीतिज्ञ पदमबहादुर रावलले उनको जीवन यात्रामा पुर्याएको सहयोगलाई पनि उनी महत्वपूर्ण ठान्छन्। दुर्गम गाउँबाट आएका एक युवालाई सामाजिक रूपमा स्थापित हुन, आत्मविश्वासका साथ अघि बढ्न र जीवनका जटिल मोड पार गर्न कसैले दिएको साथ कहिलेकाहीँ पेशागत यात्राको अदृश्य आधार बन्न सक्छ। तर, अन्ततः बाटो आफै हिँड्नुपर्छ। राजबहादुर शाहीले पनि आफ्नो बाटो आफै बनाए।
आजको पत्रकारितामा एउटा ‘सेन्ड’ बटनले संसार बदलिदिएको छ। समाचार तयार भयो, सम्पादकलाई पठाइयो। तस्बिर खिचियो, केही सेकेन्डमै न्युजरुम पुग्यो। भिडियो बन्यो, प्रत्यक्ष प्रसारण भयो। पत्रकार र पाठकबीचको दूरी प्रविधिले लगभग समाप्त गरिदिएको छ। तर, शाहीले पत्रकारिता सुरु गर्दा ‘सेन्ड’ बटन थिएन। त्यहाँ हुलाक थियो, कागज थियो, कलम थियो र प्रतीक्षा थियो। राष्ट्रिय दैनिक कान्तिपुरका लागि मुगुबाट लामो समय आवासीय संवाददाताका रूपमा काम गरेका शाहीले समाचार हुलाकमार्फत काठमाडौँ पठाएको समय नेपाली पत्रकारिताको एउटा छुट्टै इतिहासजस्तो लाग्छ। समाचार तयार हुन्थ्यो, कागजमा लेखिन्थ्यो, खाममा राखिन्थ्यो र हुलाक कार्यालयमा बुझाइन्थ्यो। त्यसपछि पत्रकारले आफ्नो काम सकेर होइन, प्रतीक्षाको अर्को चरण सुरु गरेर फर्किनुपर्थ्यो।
समाचार पुग्यो कि पुगेन ? सम्पादकले पाए कि पाएनन् ? छापियो कि छापिएन ? कहिलेकाहीँ काठमाडौँको न्युज डेस्कमा मुगुबाट हुलाकमार्फत समाचार पुग्दा पत्रकार साथीहरू आफैं अचम्मित हुने गरेको उनी सम्झन्छन्। समाचार ढिलो पुगेको भन्दै गाली पनि खानुपर्थ्यो। तर, मुगुमा बसेको पत्रकारसँग विकल्प के थियो ? समाचार नलेख्ने ? लेखेर पनि नपठाउने ? उनले दोस्रो विकल्प कहिल्यै रोजेनन्। जसरी भए पनि समाचार पठाए। किनकि पत्रकारिताको पहिलो शर्त सुविधा होइन, प्रतिबद्धता हो।
राजबहादुरको पत्रकारिता कुनै सुविधासम्पन्न कार्यालयमा बसेर बनेको पत्रकारिता होइन। यो पैदल यात्रामा बनेको पत्रकारिता हो। मुगुम कार्मारोङ पुग्नुपर्दा दिनौं हिँड्नुपर्थ्यो, खत्याडका गाउँहरू पुग्न अप्ठ्यारा बाटो पार गर्नुपर्थ्यो। कतै भीर, कतै खोला, कतै हिउँ, कतै भोक र कतै मौसमसँग संघर्ष गर्नुपर्थ्यो। समाचारको एउटा सूचनालाई तथ्यमा बदल्न पत्रकारले आफ्नो शरीरलाई नै यातायातको माध्यम बनाउनुपर्थ्यो। काठमाडौँमा एउटा पत्रकारले फोनबाट सूचना लिन सक्थ्यो, तर मुगुमा राजबहादुर शाहीलाई घटनास्थलसम्म पुग्न आफ्नै खुट्टामाथि भरोसा गर्नुपर्थ्यो।
राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित हुने एउटा समाचारको पछाडि कहिलेकाहीँ तीन दिनको पैदल यात्रा लुकेको हुन्थ्यो। पाठकले समाचार पढ्दा त्यसको पछाडि पत्रकारले कति खोला तरेको थियो, कति भीर चढेको थियो वा कति रात अपरिचित गाउँमा बिताएको थियो भन्ने थाहा पाउँदैनथ्यो। तर, पत्रकारिताको एउटा सुन्दर पक्ष पनि यही हो, समाचारमा पत्रकारको संघर्ष देखिनु पर्दैन, त्यहाँ सत्य देखिनुपर्छ।
मुगुको खाद्यान्न अभाव नेपालको विकास इतिहासको एउटा पीडादायी अध्याय हो। प्राकृतिक रूपमा सुन्दर र सांस्कृतिक रूपमा समृद्ध जिल्ला भए पनि वर्षौंसम्म खाद्यान्न अभाव मुगुको परिचयसँग जोडिँदै आयो। खाद्यान्न डिपो अगाडि चामलका लागि उभिएका मानिसहरूको लामो लाइन केवल एउटा स्थानीय दृश्य थिएन; त्यो राज्यको खाद्य नीति, वितरण प्रणाली र विकासको असमानतामाथिको प्रश्न थियो। लाइनमा उभिएको मानिसका लागि त्यो चामलको बोरा थियो, तर पत्रकारका लागि त्यो राज्यसँग सोध्नुपर्ने प्रश्न थियो। कसैको घरमा अन्न सकिएको हुन्छ, कसैले ऋण लिएर परिवार चलाइरहेको हुन्छ, कसैको जीवन सरकारी आपूर्तिमा निर्भर हुन्छ। बाहिरबाट हेर्दा त्यो एउटा लाइन मात्र देखिन्छ, तर पत्रकारिताको आँखाले हेर्दा त्यो एउटा जिल्लाको भोक र देशको नीतिबीचको सम्बन्ध हो।
शाहीले यस्ता दृश्यलाई राष्ट्रिय सञ्चारमाध्यमसम्म पुर्याए। मुगुको भोकलाई स्थानीय समस्या भएर सीमित हुन दिएनन्। उनका समाचारले प्रश्न उठाए, नेपालजस्तो देशमा कुनै नागरिकलाई खाद्यान्नका लागि यति लामो प्रतीक्षा किन गर्नुपर्छ ? भोक केवल प्रकृतिको परिणाम हो कि राजनीतिक, प्रशासनिक र नीतिगत असफलताको पनि परिणाम हो ? पत्रकारिताले कहिलेकाहीँ सरकारसँग त्यस्ता प्रश्न सोध्छ, जसको उत्तरसँग सरकार तत्काल तयार हुँदैन।
स्वास्थ्य सेवाको अभावबारे उनका समाचारहरू पनि यस्तै प्रश्नहरूले भरिएका थिए। समाचारमा कहिलेकाहीँ एउटा वाक्य हुन्छ, ‘उपचार नपाएर मृत्यु।’ तर, त्यो एउटा वाक्यभित्र एउटा संसार समाप्त भएको हुन्छ। एउटा परिवारको भविष्य बदलिएको हुन्छ, बालबालिका आमाविहीन भएका हुन्छन्, एउटा घर शोकमा डुबेको हुन्छ र एउटा समुदायले राज्यको कमजोरीलाई फेरि एकपटक आफ्नै जीवनमा भोगेको हुन्छ। मुगुमा स्वास्थ्य सेवाको अभावका कारण ज्यान गुमाउनुपरेका नागरिकका कथाले राजबहादुर शाहीलाई बारम्बार पत्रकारिताको मूल प्रश्नतर्फ फर्कायो, राज्य नागरिकका लागि कहाँ छ ?
दरबन्दीअनुसार चिकित्सक नहुने, स्वास्थ्य संस्था कमजोर हुने, औषधि र उपकरणको अभाव रहने, गम्भीर बिरामीलाई जिल्लाबाहिर लैजानुपर्ने र गर्भवती महिलाले समयमा उपचार नपाउनेजस्ता विषयलाई उनले समाचार बनाए। तर, पत्रकारिताको जिम्मेवारी केवल मृत्युको तथ्याङ्क लेख्नु होइन, त्यसको पछाडि रहेको कारण खोज्नु पनि हो। किन यस्तो भयो ? कसको जिम्मेवारी हो ? राज्य कहाँ चुक्यो ? एउटा नागरिकले आफ्नो जीवन बचाउन पाउनुपर्ने सामान्य अधिकार किन दुर्गम भूगोलमा पुग्दा कमजोर हुन्छ ? शाहीको पत्रकारिता यस्तै प्रश्नहरूसँग निरन्तर जोडिएको छ।
कर्णालीमा विकासको एउटा पुरानो भाषा छ—बजेट विनियोजन, शिलान्यास, ठेक्का, निर्माण र उद्घाटन। कागजमा विकासको यात्रा प्रायः यिनै शब्दहरूबाट सुरु हुन्छ। तर, कागज र वास्तविकताबीचको दूरी धेरै ठाउँमा लामो हुन्छ। बीचमा आउँछ ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार, अधुरा आयोजना र प्रतिक्षामा बसेका नागरिक। राजबहादुर शाहीले कर्णाली राजमार्गदेखि ग्रामीण सडक निर्माणसम्मका विषयमा निरन्तर कलम चलाए। सार्वजनिक बजेट कहाँ खर्च भइरहेको छ ? निर्माण किन समयमा सकिँदैन ? ठेकेदार किन जिम्मेवार हुँदैन ? नागरिकले एउटा सडकका लागि दशकौं किन पर्खिनुपर्छ ?
यी प्रश्न उठाउनु सधैं सहज हुँदैन, विशेष गरी सानो जिल्लामा। जहाँ शक्तिशाली मानिसहरू तपाईंका चिनजानका हुन सक्छन्, जहाँ समाचार लेखेपछि भोलिपल्टै तिनै मानिससँग भेट हुन सक्छ, जहाँ पत्रकारमाथि दबाब सिर्जना गर्न सजिलो हुन्छ र जहाँ सामाजिक सम्बन्ध तथा सार्वजनिक जिम्मेवारीबीच सन्तुलन कायम राख्नु कठिन हुन्छ। तर, पत्रकारिता यदि केवल सम्बन्ध जोगाउने काम मात्र बन्यो भने सार्वजनिक हितका प्रश्न कसले उठाउने ? यही प्रश्नको उत्तर उनको पत्रकारिताले निरन्तर खोजिरह्यो।
नेपालको सशस्त्र द्वन्द्वकाल पत्रकारहरूका लागि सामान्य समय थिएन, विशेष गरी कर्णालीजस्तो दुर्गम क्षेत्रमा। एकातिर राज्यको उपस्थिति थियो, अर्कोतिर विद्रोही पक्षको प्रभाव। बीचमा नागरिक थिए र नागरिकको कथा लेख्ने पत्रकार। राजबहादुर शाहीका लागि त्यो पत्रकारिता जीवनको सबैभन्दा चुनौतीपूर्ण समयमध्ये एक थियो। एउटा समाचारले राज्यपक्षलाई असन्तुष्ट बनाउन सक्थ्यो, अर्को समाचारले विद्रोहीलाई। निष्पक्ष रहनु आफैंमा जोखिम थियो। पत्रकारको समस्या के थियो भने उसले कुनै एक पक्षको मात्र कथा लेख्न सक्दैनथ्यो। नागरिकको जीवनमा परेको प्रभाव देखाउनुपर्थ्यो, राज्यको गतिविधि पनि लेख्नुपर्थ्यो र विद्रोहको प्रभाव पनि। तर, प्रत्येक समाचारलाई कसैले न कसैले आफ्नो पक्ष वा विपक्षको रूपमा हेर्न सक्थ्यो।
दुवै पक्षको दबाब र शंकाबीच पत्रकारिताको धर्म जोगाउनु सजिलो थिएन। तर, शाहीले त्यसै बीचमा नागरिकका कथा लेखिरहे। पत्रकारिताको सबैभन्दा कठिन कुरा समाचार लेख्नु मात्र होइन; कहिलेकाहीँ समाचार लेखिसकेपछि त्यसको परिणामसँग बाँच्नु पनि हो। द्वन्द्वको समय पार भयो, देश बदलियो, राजनीतिक व्यवस्था बदलियो, सञ्चारको प्रविधि बदलियो। तर, राजबहादुर शाहीको पत्रकारिताको केन्द्रमा रहेको भूगोल भने उही रह्यो, मुगु र कर्णाली। त्यही भूगोलभित्र अर्को संसार छ, रारा।
राजबहादरको पत्रकारिता यात्रामा राराको विशेष स्थान छ। उनले रारालाई लेखे, खिचे, सम्झिए र राष्ट्रिय सञ्चारमाध्यममार्फत संसारलाई देखाए। हिमालको काखमा फैलिएको रारा केवल एउटा ताल होइन, नेपालको प्राकृतिक सम्भावनाको एउटा विशाल प्रतीक हो। रारा हेर्न आउने मानिसले पानीको रङ देख्छ, पत्रकारले त्यहाँ भविष्य पनि देख्छ। शाहीका फिचर स्टोरी र तस्बिरहरूले रारालाई राष्ट्रिय पाठकसमक्ष पुर्याउन योगदान दिएका छन्। तर, उनको पत्रकारिता राराको प्रचारमा मात्र सीमित रहेन। प्राकृतिक सम्पदाको प्रचार गर्नु र त्यसको संरक्षणका लागि प्रश्न उठाउनु एउटै जिम्मेवारीका दुई पक्ष हुन् भन्ने चेतनासहित उनले रारामाथि बढ्दै गएका चुनौतीबारे पनि कलम चलाए।
वातावरणीय अतिक्रमण, प्लास्टिकजन्य प्रदूषण, अव्यवस्थित पूर्वाधार निर्माण, जलवायु परिवर्तन र पर्यटनको नाममा प्रकृतिमाथि पर्ने दबाब पनि उनका पत्रकारिताका विषय बने। रारा पर्यटकका लागि सुन्दर तस्वीर हो, तर स्थानीय पत्रकारका लागि त्यो भविष्यको प्रश्न पनि हो। यदि रारा जोगिएन भने प्रचारको अर्थ के रहन्छ ?
नेपालको पत्रकारिता लामो समयसम्म काठमाडौँ केन्द्रित रह्यो। मोफसलका पत्रकारहरूले समाचार पठाउँथे र काठमाडौँका न्युजरुमले त्यसलाई राष्ट्रिय समाचारको रूप दिन्थे। तर, मोफसलमा पत्रकारिता गर्नु समाचार पठाउने काम मात्र होइन, आफ्नै ठाउँमा पत्रकारिताको वातावरण निर्माण गर्नु पनि हो। राजबहादुर शाहीले यही भूमिका पनि निर्वाह गरे। नेपाल पत्रकार महासंघ मुगु शाखाको स्थापना र विकाससँग उनी जोडिए, स्थानीय सञ्चारमाध्यमको विस्तारमा भूमिका खेले र रेडियो तथा अनलाइन पत्रकारिताको विकाससँगै नयाँ पुस्तालाई मार्गदर्शन गरे।
मुगुमा पत्रकारिता गर्न आउने नयाँ पुस्ताका लागि उनी वरिष्ठ पत्रकार मात्र होइनन्, एउटा अनुभव पनि हुन्। पत्रकारिता कसरी सुरु गर्ने भन्ने प्रश्नको उत्तर पुस्तकले दिन सक्छ, तर पत्रकारितामा कसरी टिकिरहने भन्ने प्रश्नको उत्तर जीवनले दिन्छ। राजबहादुर शाहीको जीवनले यही पाठ दिन्छ, सत्यता, निष्पक्षता, सामाजिक उत्तरदायित्व र पेशागत प्रतिष्ठामा सम्झौता नगरी पत्रकारितामा लामो समय टिकिरहन सकिन्छ, यदि पत्रकारितालाई केवल पेशा होइन जिम्मेवारीका रूपमा बुझ्न सकियो भने।
दुर्गम गाउँको एउटा युवक, जसले कुनै समय समाचार हुलाकमार्फत काठमाडौँ पठाउँथ्यो, एक दिन सिंहदरबारभित्र पुग्यो। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका बेला ऐनबहादुर शाही ठकुरी संघीय वन तथा वातावरण मन्त्री बनेपछि राजबहादुर शाहीले करिब १४ महिना मन्त्रीको प्रेस सहयोगीका रूपमा काम गरे। यो उनको जीवनको फरक अनुभव थियो। यसपटक उनी सिंहदरबारलाई बाहिरबाट समाचारको विषय बनाएर हेर्दै थिएनन्; उनी सिंहदरबारभित्र थिए, शक्ति र प्रशासनको केन्द्रबाट सञ्चार व्यवस्थापनको जिम्मेवारीमा।
मन्त्रीका गतिविधि, नीति तथा कार्यक्रमलाई सञ्चारमाध्यमसम्म पुर्याउने काममा उनको भूमिका रह्यो। पत्रकारितामा लामो अनुभव भएकाले सञ्चारको भाषा, समाचारको महत्व र सार्वजनिक सन्देशको प्रभाव उनी राम्ररी बुझ्थे। करिब १४ महिनाको यो अनुभवले उनलाई शक्ति र प्रशासनको केन्द्रलाई नजिकबाट बुझ्ने अवसर दियो। तर, त्यो उनको अन्तिम गन्तव्य बनेन। उनी फेरि पत्रकारितामै फर्किए। सायद उनलाई थाहा थियो—सिंहदरबारको शक्ति अस्थायी हुन्छ, पत्रकारिताका प्रश्नहरू स्थायी हुन्छन्।
राजबहादुर शाहीले राष्ट्रिय दैनिक कान्तिपुरसँग लामो समय आवासीय संवाददाताका रूपमा काम गरे। त्यो समय उनले मुगु र कर्णालीका अनेकौं मुद्दा राष्ट्रिय स्तरमा पुर्याए। तर, पत्रकारिताको संसार परिवर्तन हुँदै गयो। छापाखानाको युगसँगै डिजिटल संसार तीव्र गतिमा विस्तार भयो। समाचार पढ्ने तरिका बदलियो, पत्रकारिताको अर्थतन्त्र बदलियो र सामाजिक सञ्जालले सूचना उत्पादन तथा वितरणको परम्परागत संरचना नै बदलिदियो। पत्रकारले पनि आफूलाई नयाँ समयसँग अनुकूल बनाउनुपर्ने भयो। शाहीले पनि यही गरे।
कान्तिपुरबाट बाहिरिएपछि उनले आफ्नै अनलाइन सञ्चारमाध्यम ‘क्याराभान खबर’ सञ्चालनमा ल्याए। हुलाकबाट समाचार पठाउने मानिस आज आफ्नै डिजिटल प्लेटफर्ममार्फत समाचार प्रकाशन गरिरहेका छन्। यो एउटा पत्रकारको प्राविधिक रूपान्तरण होइन यो समयसँगै आफूलाई पुनःनिर्माण गर्ने क्षमता हो। दुई दशकभन्दा बढी समय पत्रकारितामा बिताइसकेपछि धेरै मानिस विश्राम खोज्न सक्छन्। तर, शाही अझै खोजिरहेका छन्, अझै लेखिरहेका छन्, अझै प्रश्न गरिरहेका छन् र अझै मुगुको अर्को कथा खोजिरहेका छन्।
गत भदौ ६ गते झापामा आयोजित साहित्य पत्रकारिता साधना सम्मेलन–२०८३ मा राजबहादुर शाही सम्मानित भए। कर्णालीको दुर्गम भूगोलमा बसेर लामो समय पत्रकारिता गरेका व्यक्तिलाई देशको पूर्वी कुनामा गरिएको सम्मानको आफ्नै प्रतीकात्मक अर्थ छ। भूगोल फरक हुन सक्छ, तर पत्रकारिताको मूल्यांकनले भूगोल चिन्दैन। सम्मान पाउनु कुनै पनि पत्रकारका लागि खुशीको क्षण हो, तर पत्रकारितामा सम्मान अन्तिम उपलब्धि होइन। कहिलेकाहीँ त्यो अर्को जिम्मेवारीको सुरुआत पनि हुन्छ।
शाही यसअघि पनि विभिन्न निकायबाट सम्मानित भइसकेका छन्। तर, उनको वास्तविक परिचय सम्मानपत्रमा भन्दा समाचारका पुराना फाइलहरूमा भेटिन्छ। ती फाइलहरूभित्र मुगु छ, कर्णाली छ, भोक छ, अभाव छ, रारा छ, राजनीति छ, विकास छ, मृत्यु छ, आशा छ र एउटा पत्रकारको निरन्तर उपस्थिति छ।
उनको पत्रकारिता यात्रालाई फर्केर हेर्दा मुगुको पछिल्लो साढे दुई दशकको परिवर्तन पनि पढ्न सकिन्छ। एक समय सूचना पुग्न दिनौं लाग्थ्यो, आज सूचना सेकेन्डमै संसारभर पुग्छ। एक समय समाचार हुलाकबाट पठाइन्थ्यो, आज मोबाइलबाट प्रत्यक्ष प्रसारण हुन्छ। एक समय रारा पुग्नु एउटा कठिन र लामो यात्रा थियो, आज रारा नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदैछ। एक समय पत्रकारिता गर्ने मानिसहरूको संख्या अत्यन्त सीमित थियो, आज सञ्चारमाध्यम र सामाजिक सञ्जालको संसार फैलिएको छ।
तर, परिवर्तनसँगै चुनौती पनि आएका छन्। सूचनाको गति बढेको छ, तर सत्यको खोजी कमजोर हुन सक्ने खतरा पनि बढेको छ। समाचार धेरै छन्, तर गहिरो रिपोर्टिङ कम हुन सक्छ। सबैसँग बोल्ने माध्यम छ, तर सबैको आवाज समान रूपमा सुनिँदैन। यही बदलिँदो पत्रकारिताको समयमा राजबहादुर शाही अझै आफ्नो मूल पत्रकारिताको अभ्यासमा छन्, घटनास्थल पुग्ने, तथ्य खोज्ने र नागरिकको आवाज लेख्ने।
उनको २५ वर्षभन्दा बढीको पत्रकारिता यात्रा केवल एउटा व्यक्तिको पेशागत करिअर होइन। यो मुगुको सामाजिक इतिहासको एउटा समानान्तर दस्तावेज हो। उनले खाद्यान्न संकट देखेका छन्, दुर्गम गाउँहरूको पीडा देखेका छन्, स्वास्थ्य सेवाको अभाव देखेका छन्, शिक्षाको कमजोर अवस्था देखेका छन्, सशस्त्र द्वन्द्व देखेका छन्, राजनीतिक परिवर्तन देखेका छन्, सडक विस्तार देखेका छन्, राराको पर्यटन विकास देखेका छन्, जलवायु परिवर्तनका संकेत देखेका छन् र डिजिटल सञ्चारको आगमनदेखि तीव्र विस्तारसम्म देखेका छन्।
यी सबै परिवर्तनका बीच एउटा पत्रकार निरन्तर उपस्थित छ, कहिले रिपोर्टरका रूपमा, कहिले संवाददाताका रूपमा, कहिले संस्थागत पत्रकारिताको अभियन्ताका रूपमा, कहिले प्रेस सहयोगीका रूपमा र अहिले आफ्नै अनलाइन सञ्चारमाध्यमका सञ्चालकका रूपमा। भूमिकाहरू बदलिँदै गए, समय बदलिँदै गयो, प्रविधि बदलिँदै गयो, तर उनको मूल परिचय बदलिएन, पत्रकार।
सायद, उनको पत्रकारिता यात्रालाई बुझ्न अन्त्यतिर एउटा दृश्य कल्पना गर्न सकिन्छ। मुगुको कुनै दुर्गम गाउँतर्फ एउटा मानिस हिँडिरहेको छ। काँधमा झोला छ, अगाडि अप्ठ्यारो बाटो छ, वरिपरि पहाड छन्। कतै सडक छैन, मौसम अनिश्चित छ र यात्रा लामो छ। तर, ऊसँग एउटा गन्तव्य छ, कुनै गाउँमा पुग्नु छ, कुनै मानिसको कुरा सुन्नु छ, कुनै तथ्य जाँच्नु छ, कुनै प्रश्न सोध्नु छ र कुनै समाचार लेख्नु छ।
शाहीको पत्रकारिता यात्रा धेरै अर्थमा यही दृश्यजस्तै छ। बाटो सजिलो थिएन। कहिलेकाहीँ सञ्चारको माध्यम थिएन, कहिलेकाहीँ जोखिम थियो, कहिलेकाहीँ दबाब, कहिलेकाहीँ निराशा र कहिलेकाहीँ गाली। तर, यात्रा रोकिएन।
हुलाकबाट समाचार पठाउने समयदेखि डिजिटल अनलाइन पत्रकारितासम्म आइपुग्दा संसार बदलिएको छ। तर, मुगुका नागरिकका सबै प्रश्न बदलिएका छैनन्। अभाव अझै छ, दुर्गमता अझै छ, विकासको असमानता अझै छ र प्रकृतिमाथिको संकट पनि अझै छ। त्यसैले पत्रकारिताको आवश्यकता पनि बाँकी छ।
उनको कलम अझै चलिरहेको छ। सायद उनको यात्राको सबैभन्दा महत्वपूर्ण पक्ष यही हो। उनी पत्रकारितामा प्रवेश गरेर केवल आफ्नो नाम बनाउन आएका थिएनन्; उनले आफ्नो भूगोलको आवाज बन्ने प्रयास गरे। जहाँ राज्यको नजर ढिलो पुग्यो, त्यहाँको कथा लेखे। जहाँ नागरिकको आवाज कमजोर थियो, त्यहाँ शब्द बने। जहाँ प्राकृतिक सुन्दरता थियो, त्यसलाई संसारलाई देखाए। जहाँ संकट थियो, त्यसमा प्रश्न उठाए। र जहाँ जोखिम थियो, त्यहाँ पनि पत्रकारिताबाट पछि हटेनन्।
मुगुको फोतु गाउँबाट सुरु भएको एउटा यात्राले हुलाक, राष्ट्रिय दैनिक, सिंहदरबार र डिजिटल सञ्चारको संसार पार गरिसकेको छ। तर, राजबहादुर शाहीका लागि सायद यात्रा अझै सकिएको छैन। किनकि पत्रकारको यात्रा कुनै पदमा पुगेर समाप्त हुँदैन, कुनै पुरस्कार पाएर समाप्त हुँदैन, कुनै सञ्चारमाध्यम छाडेर समाप्त हुँदैन। जब समाजमा प्रश्न बाँकी हुन्छन्, पत्रकारिताको यात्रा पनि बाँकी रहन्छ।
मुगुमा अझै धेरै कथा छन्। ती कथाहरू लेखिन बाँकी छन्। रारा अझै बदलिँदै छ। हिमालको मौसम बदलिँदै छ। गाउँको जीवन बदलिँदै छ। राज्यसँग नागरिकका अपेक्षा बदलिँदै छन्। यी सबै परिवर्तनको बीचमा एउटा पत्रकार अझै आफ्नो भूगोललाई हेरिरहेको छ, सुन्दैछ, खोज्दैछ र लेख्दैछ।
हुलाकबाट सुरु भएको त्यो खबरको यात्रा अहिले डिजिटल संसारमा पुगेको छ। तर, त्यसको आत्मा उही छ, मुगुको आवाज देशसम्म पुर्याउने। त्यसैले शाहीको कथा एउटा पत्रकारको व्यक्तिगत सफलताको कथा होइन। यो एउटा विकट भूगोलले आफ्नै आवाज खोजेको कथा हो र त्यो आवाजलाई शब्द दिने एउटा पत्रकारको संघर्ष, जोखिम, धैर्य र साहसले भरिएको अथक यात्रा।
















