रसुवाको त्रिशूली बजार, स्याफ्रुबेसी, टिमुरेलगायत क्षेत्रमा आएको विनाशकारी भोटेकोशी बाढीपहिरोले असमयमै खोसेका असंख्य जीवनमध्ये एक थिए जुम्लीपुत्र, राष्ट्रसेवक कर्मचारी तथा सिनियर गेमस्काउट स्वर्गीय पूर्णप्रसाद।
आफ्नै पुर्ख्यौली माटोमा जन्मेर, त्यही माटोको सुगन्धसँग हुर्किएर र दुर्गम भूगोलका असंख्य चुनौतीसँग संघर्ष गर्दै आफ्नो भविष्य निर्माण गर्ने यात्रामा थिए पूर्णप्रसाद आचार्य। परिवारका लागि उनी प्रिय थिए, आफन्तका लागि भरोसा थिए र साथीभाइका लागि सरल स्वभावका एक असल मानिस। आमा–बुबा, दाजुभाइ, दिदीबहिनी, आफन्त, इष्टमित्र, गुरुवर्ग र साथीभाइका मायाका केन्द्र पूर्णप्रसादको जीवनयात्रा यति अकस्मात् र यति पीडादायी ढंगले टुंगिएला भन्ने कल्पना कसैले गरेको थिएन।
उनीसँग मेरो धेरै बाक्लो संगत थिएन। कहिलेकाहीँ भेट हुन्थ्यो। भेट्दा सधैं आत्मीयतापूर्वक ‘नमस्कार दाइ’ भन्थे र सामान्य सोधपुछ गर्थे। चम्किलो अनुहार, अग्लो कद, मिठो मुस्कान र सबैसँग सहजै घुलमिल हुन सक्ने सरल स्वभाव उनका पहिचान थिए। छोटो भेटघाटमै पनि मानिसलाई आफ्नो बनाउने एउटा सहजता उनीभित्र थियो।
दुर्गम मोफसलमै बसेर अध्ययन गरेका पूर्णप्रसादले कडा मिहिनेतका साथ लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरे। जागिरमा प्रवेशसँगै उनी आफ्नो परिवारको मात्र होइन, आफन्तजन र साथीभाइको समेत आशाका केन्द्र बने। उनका आफ्नै सपना थिए, चाहना थिए, लक्ष्य थिए र जीवनप्रतिको अनेकौं रहर थिए। आखिर सपना, चाहना र गन्तव्यबिनाको मानिस को हुन्छ र ?
आफ्नो परिवारका लागि केही गर्ने, समाजमा एउटा परिचय बनाउने र देशका लागि केही योगदान पुर्याउने आकांक्षा उनीभित्र पनि थियो। राष्ट्रसेवक कर्मचारीका रूपमा उनी सिनियर गेमस्काउट बने। हामी सबैले उनलाई एक असल, सक्षम र होनहार जुम्लीपुत्रका रूपमा चिन्दथ्यौं। जिम्मेवारी र सेवाभाव बोकेर उनी रसुवाका जनताको सेवा गर्न पुगेका थिए। तर नियतिले उनको जीवनका लागि अर्कै फैसला गरिसकेको रहेछ।
त्यो दिनको बिहान कस्तो थियो होला ? घाम कसरी लागेको थियो होला ? कसैले कल्पना पनि गरेको थिएन कि सामान्य देखिएको एउटा बिहानले सयौं मानिसको जीवनमा कहिल्यै नमेटिने पीडा लिएर आउनेछ।
गत भदौ १० गते बिहान करिब ९ बजेतिर रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले त्रिशूली बजार, स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रलाई तहसनहस बनायो। बिना झरी, बिना निरन्तर वर्षा र कुनै पूर्वसूचनाबिनै आएको त्यो भीषण बाढी मानिसका लागि कल्पनाबाहिरको घटना थियो। ‘विपद् बाजा बजाएर आउँदैन’ भन्ने भनाइ त्यस दिन भयावह यथार्थ बनेर आयो।
बाढीले मानिस, घर, पसल, सरकारी कार्यालय, बैंक तथा विभिन्न संघसंस्थाका संरचनासमेत प्रभावित भए। पशुधन र सम्पत्ति बगायो। कतिपय मानिस घरभित्रै रहेका बेला बेपत्ता भए भने कतिपय ज्यान जोगाउन भाग्दाभाग्दै कालो लेदो र उर्लंदो भेलमा परे। जलविद्युत् आयोजना, सुरुङ र अन्य संरचनामा काम गरिरहेका श्रमिकसमेत बाढीको चपेटामा परे। एउटै विपद्ले कति परिवारका सपना बगायो, कति घरका उज्याला निभायो र कति मानिसलाई जीवनभरका लागि पीडा दियो, त्यसको हिसाब सायद कुनै तथ्यांकले पनि पूरा गर्न सक्दैन।
त्यही विनाशकारी बाढीको चपेटामा परे जुम्लाको गोठीचौर गाउँपालिका–५ निवासी सिनियर गेमस्काउट पूर्णप्रसाद आचार्य।
घटना भएको दिन म न्याय सेवा तालिम केन्द्रमा बिहान ९ बजेदेखि सेवाकालीन तालिममा सहभागी थिएँ। करिब सवा १२ बजे तालिम सकिएपछि फेसबुक हेर्दा त्रिशूली क्षेत्रमा आएको बाढीका भिडियो र समाचारहरू सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यममा फैलिन थालेका थिए। क्षतिको प्रारम्भिक विवरण आउन थाले पनि वास्तवमा को कहाँ र कस्तो अवस्थामा पर्यो भन्नेबारे अन्योल थियो।
केही समयपछि सम्बन्धित विभागले ‘जरुरी खोजी तथा उद्धार अपिल’ जारी गर्यो। लाङटाङ राष्ट्रिय निकुञ्जको मैलुङ पोस्टमा कार्यरत सिनियर गेमस्काउट पूर्णप्रसाद आचार्य सम्पर्कविहीन भएको सूचना सार्वजनिक भयो। उनको अवस्थाबारे कुनै जानकारी वा सुराक पाएमा स्थानीय प्रशासन, प्रहरी वा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सम्पर्क गर्न आग्रह गरिएको थियो।
त्यो सूचना सार्वजनिक भएपछि परिवार, आफन्त र साथीभाइबीच एकाएक ठूलो पीडा र अन्योल छायो। घटनालाई पत्याउने कि नपत्याउने ? आशा गर्ने कि निराश हुने ? कसैले स्पष्ट उत्तर दिन सक्ने अवस्था थिएन।
भोलिपल्ट सामाजिक सञ्जालमा पूर्णप्रसादका दाजु रमाकान्त आचार्यले लेखेको भावुक शब्द देखेँ, ‘भाइ, सकिनँ सरी। म अभागी दाजु, क्षमा मागेँ, मलाई माफ गर।’ ती शब्द पढ्दा शरीर नै गल्यागुलुङ्ग भयो। एउटा दाजुको विवशता, पीडा र असहायपन शब्दमा पोखिएको थियो।
त्यही समयमा मेरा भतिजा बोहोरागाउँका भानु देवकोटा पनि बेपत्ता भएको खबर सामाजिक सञ्जालबाटै थाहा पाएँ। पातारासी गाउँपालिकाका केही युवासमेत रोजगारीका सिलसिलामा रसुवा पुगेका रहेछन्। उनीहरूको खोजी तथा उद्धारका लागि सामाजिक सञ्जालमार्फत निरन्तर अपिलहरू भइरहेका थिए। आफ्नै जिल्लावासी र आफन्तजन बेपत्ता भएको खबरले मन केवल आत्तिएन, असाध्यै भारी भयो।
घटनामा जोसुकै परेको भए पनि त्यो पीडा कम हृदयविदारक हुने थिएन। तर आफ्नै गाउँठाउँका मानिस, चिनेजानेका अनुहार र आफन्तजन नै विपद्मा परेको खबरले पीडालाई झन् व्यक्तिगत बनायो। मनमनै भगवान्सँग एउटै प्रार्थना थियो, हराएका र बेपत्ता भएकाहरू सकुशल भेटिएको समाचार सुन्न पाइयोस्।
पूर्ण, तिमी पनि बाढीको सिकार भयौला भन्ने विश्वास हामीमध्ये कसैलाई थिएन। परिवार, आफन्त र साथीभाइको ठूलो घेरामा रहेका तिमीलाई हामीले बचाउन सकेनौं। विपद्का अगाडि मानिस कति निरीह हुँदो रहेछ भन्ने पीडादायी सत्य फेरि एकपटक अनुभूति भयो।
भदौ १० गतेको त्यो दिन नेपालीका लागि एउटा कालो दिन बन्यो। ‘बचाऊ, बचाऊ’ भन्दै मानिसहरू उर्लंदो भेलमा बगे। कतिपय घरसँगै बगे, कतिपय परिवारका सदस्यको आँखाअगाडि हराए। कति मानिस कालो लेदोले पुरिए, कतिलाई नदीले कहाँ पुर्यायो भन्ने थाहा भएन। त्यो विपद्ले केवल भौतिक संरचना ध्वस्त पारेन, सयौं परिवारका जीवनका आधार पनि खोस्यो।
यही क्रममा एउटा होनहार जुम्लीपुत्र पूर्णप्रसाद आचार्यको जीवन पनि समयभन्दा अगावै अन्त्य भयो।
अब तिमीलाई ‘पूर्ण’ भनेर भेट्ने आशा हराएको छ। तिम्रो त्यो चम्किलो अनुहार, मिठो मुस्कान र आत्मीय ‘नमस्कार दाइ’ अब सम्झनामा बाँकी रह्यो। जुम्लाको विकट गाउँबाट संघर्ष गर्दै राष्ट्रसेवक बन्न पुगेको एउटा युवाको जीवनयात्रा यति छोटो होला भन्ने कसैले सोचेको थिएन।
मानिसले जीवनका लागि धेरै योजना बनाउँछ। सपना देख्छ, लक्ष्य तय गर्छ, परिवारका लागि भविष्यको कल्पना गर्छ। तर कहिलेकाहीँ प्रकृतिको एउटा अप्रत्याशित प्रहारले ती सबै योजना क्षणभरमै बगाइदिन्छ। पूर्णप्रसादको जीवन त्यसैको एउटा अत्यन्त पीडादायी उदाहरण बनेको छ।
विधिको विधानलाई स्वीकार्नुबाहेक अब हामीसँग अर्को विकल्प छैन। देश र समाजलाई नै बज्रपात परेको बेला व्यक्तिगत पीडाको पनि सीमा हुँदो रहेछ। जति आँसु बगाए पनि, जति पीडा पोखिए पनि गइसकेका मानिस फर्केर आउँदैनन्। बाँकी रहेकाहरूले पीडालाई सहनुपर्छ, धैर्य धारण गर्नुपर्छ र सम्भव भए त्यही पीडालाई शक्तिमा बदल्नुपर्छ।
रसुवाको त्रिशूली बजार, स्याफ्रुबेसी, टिमुरेलगायत क्षेत्रमा आएको विनाशकारी भोटेकोशी बाढीपहिरोले असमयमै खोसेका असंख्य जीवनमध्ये एक थिए जुम्लीपुत्र, राष्ट्रसेवक कर्मचारी तथा सिनियर गेमस्काउट स्वर्गीय पूर्णप्रसाद।
प्रिय भाइ पूर्ण, तिमीप्रति हार्दिक श्रद्धाञ्जली।
तिम्रो आत्माले शान्ति पाओस्। तिमीले देखेका सपना अधुरा रहे पनि तिम्रो इमानदार जीवन, संघर्ष र सेवाभाव सधैं सम्झनामा रहनेछ। शोकसन्तप्त आमा–बुबा, दाजुभाइ, दिदीबहिनी, परिवारजन, आफन्त, साथीभाइ र सम्पूर्ण इष्टमित्रमा यो असह्य पीडा सहन सक्ने धैर्य र शक्ति प्राप्त होस् भन्ने हार्दिक कामना गर्दछु।
हार्दिक श्रद्धाञ्जली, प्रिय जुम्लीपुत्र पूर्णप्रसाद आचार्य।
















