सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले १९ ग्राम ५१० मिलिग्राम लागुऔषध (खैरो हेरोइन जस्तो देखिने पदार्थ) सहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार साँझ करिब ६ बजे वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुना चेकपोस्टमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८७६ नम्बरको स्कारपियो रोकी चेकजाँच गर्दा उक्त लागुऔषध बरामद भएको हो।
प्रहरी चौकी सुब्बाकुना सुर्खेतबाट प्रहरी नायब निरीक्षक गोबिन्द खत्रीको कमाण्डमा खटिएको पाँच जना र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक निरज पालको कमाण्डमा खटिएको दुई जनाको संयुक्त टोलीले गाडी तथा यात्रुहरूको चेकजाँच गरेको थियो।
प्रहरीले लागुऔषधसहित स्कारपियोमा सवार चार जनालाई नियन्त्रणमा लिएर सोही दिन राति ८ः१५ बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याएको जनाएको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–५ चिसापानी बस्ने १८ वर्षीय सहविर सुनार, ३२ वर्षीय दिपेन्द्र बैगार, १५ वर्षीय विशाल गन्दर्भ र १७ वर्षीय नरेश सुनार रहेका छन्। सहविर सुनार उक्त स्कारपियोका चालक रहेको प्रहरीले जनाएको छ।
बरामद पदार्थको शुद्ध तौल १९ ग्राम ५१० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

















