जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित कर्णाली राजमार्गमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडकमा ढुंगा तथा माटोसहितको सुक्खा पहिरो खसेपछि कर्णाली राजमार्ग भएर आवतजावत गर्ने ठूला सवारीसाधनहरू जाममा परेका छन्। पहिरोका कारण यात्रु तथा सवारीचालकहरू समेत प्रभावित भएका छन्।

अवरुद्ध सडक खुलाउन प्रहरी, ट्राफिक प्रहरी र यात्रुहरू घटनास्थलमै जुटेका छन्। सडकमा खसेका ठूला–साना ढुंगा तथा माटो हातैले हटाउँदै यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले सुक्खा पहिरोका कारण अवरुद्ध भएको सडक खुलाउने काम जारी रहेको जानकारी दिए।

घटनास्थलमा खटिएका ट्राफिक प्रहरी जवान झलक ओलीका अनुसार बाढी प्रभावित क्षेत्र नजिकै सडकमा सुक्खा पहिरो खसेपछि विशेषगरी ठूला सवारीसाधन जाममा परेका हुन्।
‘सडकमा खसेको ढुंगा र माटो हटाउने काम भइरहेको छ,’ उनले भने, ‘प्रहरी, ट्राफिक प्रहरी र यात्रुहरू मिलेर सडक खुलाउने प्रयास गरिरहेका छौं। केही समयभित्र यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।’

कर्णाली प्रदेशका पहाडी जिल्लालाई जोड्ने प्रमुख सडकका रूपमा रहेको कर्णाली राजमार्ग वर्षायाममा पहिरो र बाढीका कारण पटक पटक अवरुद्ध हुँदै आएको छ। तातोपानी क्षेत्रको उक्त सडकखण्डमा पनि पहिरो खस्ने जोखिम कायमै रहेकाले यात्रु तथा सवारीसाधनलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

















