जुम्लामा अवैध लागूऔषध ब्राउन सुगरसहित जिप चालकसहित तीन जना पक्राउ परेका छन्।
नाग्माबाट जुम्ला सदरमुकामतर्फ जाँदै गरेको भे १ ज ६८९ नम्बरको जिपलाई तिला गाउँपालिका–३ कुडारी बजारस्थित प्रहरी चौकी लिताकोटको टोलीले चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो।
पक्राउ पर्नेहरूमा जिप चालक तातोपानी गाउँपालिका–५ का २७ वर्षीय आकाश नेपाली, तातोपानी–१ राँकाका २० वर्षीय विकास सार्की र तिला–३ लिताकोटका १८ वर्षीय राकेश कठायत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शंकास्पद अवस्थामा जाँच गर्दा सार्कीको साथबाट १ पुडिया, जिपको छतमा राखिएको सेतो बोराभित्र ४ पुडिया र कठायतको झोलाबाट १ पुडिया गरी जम्मा ६ पुडिया खैरो पदार्थ भेटिएको थियो।
बरामद पदार्थको तौल ४ ग्राम ९३० मिलिग्राम रहेको छ। प्रहरीले जिप र लागूऔषधसहित नियन्त्रणमा लिइएका तीनै जनामाथि आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान अघि बढाएको छ।













