ऋषिपञ्चमीसँग जोडिएको अर्को महत्वपूर्ण पक्ष सात्त्विक आहार र संयम हो । व्रतका दिन खेतीपातीबाट प्राप्त सामान्य अन्नको सट्टा सामो, कन्दमूल, कर्कलो, निवारोलगायत परम्परागत रूपमा प्रयोग हुँदै आएका खाद्यवस्तु खाने चलन छ । यसले सादगी, संयम र प्रकृतिसँगको सम्बन्धलाई पनि सांकेतिक रूपमा अभिव्यक्त गर्छ ।
भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी हिन्दू धर्म संस्कृतिमा महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । यस दिन विशेषगरी महिलाहरूले व्रत बसेर सप्तऋषिको पूजाआराधना गर्ने र आत्मशुद्धि तथा पारिवारिक सुख शान्तिको कामना गर्ने परम्परा छ । तीजपछिको पर्वका रूपमा समेत लिइने ऋषिपञ्चमीमा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषिसहित अरुन्धतीको पूजा गरिन्छ ।
सनातन वैदिक परम्परामा ऋषिहरूलाई ज्ञान, तपस्या, सत्य र लोककल्याणका प्रतीकका रूपमा स्मरण गरिन्छ । वेद शास्त्रको ज्ञान परम्परा संरक्षणदेखि समाजलाई धर्म, नीति र सदाचारको बाटो देखाउने काममा ऋषिमुनिहरूको योगदान रहेको धार्मिक विश्वास छ । त्यसैले ऋषिपञ्चमी केवल व्रत र पूजाको दिन नभई प्राचीन ज्ञान, संस्कार र ऋषिपरम्प्राप्रति कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा पनि लिइन्छ ।
धार्मिक मान्यताअनुसार ऋषिपञ्चमी आत्मशुद्धि र प्रायश्चित्तसँग जोडिएको पर्व हो । वर्षभरि जानेर वा नजानेर भएका त्रुटिबाट मुक्ति र मन, वचन, कर्मको शुद्धिका लागि यो व्रत बस्ने चलन छ । विशेषगरी महिलाले महिनावारीका क्रममा अनजानमा भएका धार्मिक त्रुटिबाट मुक्त हुन ऋषिपञ्चमीको व्रत गर्ने परम्परा रहेको धर्मशास्त्रीय मान्यता छ । यस्ता मान्यतालाई पछिल्लो समय सामाजिक तथा स्वास्थ्य दृष्टिकोणबाट पुनर्व्याख्या गर्नुपर्ने बहससमेत हुँदै आएको छ ।
व्रतका क्रममा बिहान स्नान गरी दतिवनले दाँत माझ्ने, शुद्ध वस्त्र लगाउने तथा सप्तऋषिको पूजा गर्ने चलन छ । कतिपय स्थानमा ३६५ वटा दतिवन प्रयोग गर्ने परम्परा छ, जसलाई वर्षभरिका दिन र आत्मशुद्धिसँग जोडेर हेर्ने गरिन्छ । त्यसपछि माटो, गोबरलगायत परम्परागत सामग्रीको प्रयोग गरी स्नान गर्ने तथा कलश, दीप र सप्तऋषिको प्रतीक स्थापना गरेर पूजा गरिन्छ ।
पूजामा धूप, दीप, अक्षता, फूल, फलफूल, नैवेद्य, पञ्चामृतलगायत सामग्री अर्पण गरिन्छ । सप्तऋषिको ध्यान गर्दै पूजा गरेपछि परिक्रमा, पुष्पाञ्जली र नमस्कार गर्ने विधि पूरा गरिन्छ । कतिपय परम्परामा सप्तऋषिलाई सातपटक परिक्रमा गर्ने चलन छ । पूजा सम्पन्न भएपछि प्रसाद ग्रहण गर्ने र व्रतअनुसार फलाहार वा हलो–कोदालोले नखनिएको तथा नजोतिएको अन्न खाने प्रथा पनि विभिन्न समुदायमा पाइन्छ ।
ऋषिपञ्चमीको धार्मिक पृष्ठभूमिमा पौराणिक कथाहरू पनि जोडिएका छन् । भविष्योत्तर पुराणमा देवराज इन्द्रसँग सम्बन्धित पाप र त्यसको विभाजनबारे प्रसंग उल्लेख गरिएको पाइन्छ । त्यही पौराणिक मान्यतासँग जोडेर रजस्वलाका क्रममा अनजानमा भएका दोष निवारणका लागि ऋषिपञ्चमीको व्रत गर्ने परम्परा विकास भएको धार्मिक व्याख्या गरिन्छ ।
तर आधुनिक दृष्टिकोणबाट ऋषिपञ्चमीलाई केवल ‘दोष’ वा ‘पाप’सँग जोडेर हेर्नुभन्दा यसभित्र रहेको आत्मअनुशासन, आत्मचिन्तन र सांस्कृतिक निरन्तरतालाई पनि बुझ्नुपर्ने संस्कृतिविद्हरूको धारणा छ । महिनावारी प्राकृतिक जैविक प्रक्रिया भएकाले त्यससँग जोडिएका छुवाछूत र विभेदलाई धार्मिक आस्थाको नाममा निरन्तरता दिनु उपयुक्त नहुने बहस पछिल्ला वर्षमा बढेको छ । यस अर्थमा ऋषिपञ्चमी परम्पराको संरक्षणसँगै समयअनुकूल सामाजिक चेतना अभिवृद्धिको अवसर पनि बन्न सक्छ ।
पूजाको प्रारम्भमा दीप, कलश र गणेशको पूजा गरी कुश वा अन्य प्रतीकबाट सप्तऋषिको स्थापना गर्ने चलन छ । त्यसपछि कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा अरुन्धतीको ध्यान गरी अर्घ्य, आचमन, पञ्चामृत, वस्त्र, यज्ञोपवीत, गन्ध, अक्षता, फूल, धूप, दीप र नैवेद्य अर्पण गरिन्छ । अन्त्यमा पुष्पाञ्जली, नमस्कार र क्षमाप्रार्थना गरी पूजा सम्पन्न गर्ने परम्परा छ ।
पूजा सकेपछि अर्घ्य अर्पण, दान दक्षिणा र विसर्जन गर्ने विधि पूरा गरिन्छ । त्यसपछि टीका तथा प्रसाद ग्रहण गरी व्रतअनुसार भोजन गर्ने चलन छ । कतिपय समुदायमा व्रतीले दिनभरि धार्मिक चिन्तन गर्दै परिवार तथा सन्ततिको सुख, शान्ति र कल्याणको कामना गर्ने परम्परा पनि रहेको छ ।
समयसँगै पर्व मनाउने शैलीमा परिवर्तन आए पनि ऋषिपञ्चमीको मूल सन्देश भने ज्ञान, सत्य, अनुशासन, आत्मशुद्धि र कृतज्ञतासँग जोडिएको छ । सप्तऋषिको स्मरणमार्फत प्राचीन ज्ञान परम्पराप्रति सम्मान व्यक्त गर्नु र आफ्नो जीवनका कमजोरी तथा त्रुटिबारे आत्मसमीक्षा गर्नु यसको महत्वपूर्ण पक्ष हो ।
त्यसैले ऋषिपञ्चमीलाई महिलाको व्रत र पूजामा मात्र सीमित नगरी ज्ञान, संस्कार र सामाजिक चेतनासँग जोडेर बुझ्न आवश्यक देखिन्छ । परम्पराको सम्मान गर्दै त्यसमा रहेका विभेदकारी अभ्यासलाई पुनर्विचार गर्ने र सकारात्मक सांस्कृतिक पक्षलाई नयाँ पुस्तासम्म पुर्याउने हो भने ऋषिपञ्चमी आत्मशुद्धि र ऋषिस्मरणसँगै सामाजिक रूपान्तरणको पर्वसमेत बन्न सक्छ ।















