जहाँ अक्षर बोल्छन्, भावना पोखिन्छन्
गजल, कविता र मुक्तकसँग गन्थन गर्ने यो साझा चौतारीमा हामी सर्जकका रचनामात्र होइन, ती रचनाभित्र लुकेका अनुभूति, विचार, संघर्ष, सपना र सिर्जनायात्रासँग पनि संवाद गर्नेछौँ।
यो यात्रामा गजलकारसँग १७ प्रश्न हुनेछन्। तीमध्ये केही प्रश्न गजलकारको आफ्नै सिर्जनात्मक यात्रा, लेखनशैली र अनुभवसँग जोडिएका हुनेछन् भने बाँकी प्रश्नहरू हाम्रो संवादको मूल संरचनाअनुसार रहनेछन्। र, कुनै एक प्रश्नको उत्तर दिन मनले नमानेमा वा असहज लागेमा, गजलकारले एउटा प्रश्न ‘स्किप’ गर्न सक्नुहुनेछ।
कवितातर्फ पनि हाम्रो यात्रा १७ प्रश्नकै हुनेछ। कविको कविता लेखनको सुरुवातदेखि सिर्जनाभित्रका अनुभूति, विचार र दृष्टिकोणसम्म पुग्ने प्रयास हुनेछ। केही प्रश्न कविको आफ्नै यात्राअनुसार विशेष हुनेछन् भने केही प्रश्न हाम्रो साझा संरचनाका हुनेछन्। यहाँ पनि एउटा प्रश्न ‘स्किप’ गर्ने अधिकार कविसँग सुरक्षित रहनेछ।
त्यसैगरी, मुक्तककारसँग पनि १७ प्रश्नमार्फत मुक्तकको मर्म, सौन्दर्य, शिल्प, अनुभूति र समयसँगको सम्बन्धबारे गन्थन गर्नेछौँ। मुक्तककारको आफ्नै सिर्जनायात्रासँग जोडिएका केही विशेष प्रश्न हुनेछन् भने बाँकी प्रश्नहरू साझा संरचनामै रहनेछन्। कुनै प्रश्नको उत्तर दिन असहज लागेमा एउटा प्रश्न ‘स्किप’ गर्न सकिनेछ।
हामी सर्जकलाई प्रश्नभित्र बाँध्न चाहँदैनौँ, बरु प्रश्नको बाटो हुँदै सर्जकको मनसम्म पुग्न चाहन्छौँ। यहाँ अक्षरसँग अक्षरको भेट हुनेछ, सर्जकसँग सर्जकको संवाद हुनेछ।
सायद केही कुरा प्रश्नले खोल्नेछन्, केही कुरा उत्तरले।
‘अक्षर वार्ता With Madan’ मा हाम्रा पाठक, स्रोताहरूलाई हृदयको गहिराइबाट स्वागत छ। म मदन शाही।
आज हामी दुई दशकदेखि निरन्तर गजल साधना गरिरहनुभएका सर्जक दीर्घराज प्रियसीसँग गजल गन्थन गर्नेछौँ।
‘अक्षर वार्ता With Madan’ मा प्रियसी, यहाँलाई हार्दिक स्वागत छ। सुरुवातमै तपाईंलाई मन परेको तपाईंको गजल।
धन्यवाद मदन भाइ। तपाईंसँग धेरैपछि भए पनि भर्चुअल भेट हुन पाउँदा खुसी लाग्यो।
गजल
यस्तै लाग्छ फेरि यस्तै लाग्छ
जीवन हो मझेरी यस्तै लाग्छ।
कुन कुरामा के चित्त बुझेन
गयौ भने नहेरी यस्तै लाग्छ।
यसरी कहिल्यै रोएको थिइनँ
जहिले रुँदाखेरी यस्तै लाग्छ।
लैला, मज्नु, मुना मदन
भँगेरा र भँगेरी यस्तै लाग्छ।
हुन परोस् बरु टाढा टाढा
नहोस् ‘तेरा मेरी’ यस्तै लाग्छ।
उडाओस् मनभित्रको धुलोमैलो
आओस् आँधीबेहरी यस्तै लाग्छ।
१. कसैले गजललाई प्रेमको भाषा भन्छ, कसैले पीडाको, कसैले शास्त्रीय संरचनाको। कसैले काफिया, रदिफ मिलेपछि गजल भयो भन्छ, कसैले भाव र शिल्पको गहिराइ खोज्छ। तपाईंको नजरमा गजल के हो र के होइन?
मेरो नजरमा गजल केवल प्रेमको भाषा होइन, केवल पीडाको अभिव्यक्ति पनि होइन। प्रेम, विरह, पीडा, दर्शन, व्यङ्ग्य, सामाजिक चेतना यी सबै गजलका विषय हुन सक्छन्, तर विषयले मात्र कुनै रचनालाई गजल बनाउँदैन।
गजल के हो?
गजल मूलतः शिल्पको अनुशासनभित्र बसेर स्वतन्त्र अर्थ बोकेका शेरहरूको कलात्मक संरचना हो। प्रत्येक शेर आफ्नै ठाउँमा पूर्ण हुन सक्छन्। काफिया–रदिफजस्ता संरचनात्मक नियमले ती शेरलाई एउटै गजलको देहमा बाँध्छन्। त्यसमा लय हुन्छ, ध्वनि हुन्छ, अर्थको तह हुन्छ र कम शब्दमा धेरै कुरा भन्न सक्ने सामर्थ्य हुन्छ।
तुक मिल्नु आवश्यक पक्ष हो, तर तुक मिल्दैमा गजल बन्दैन।
जसरी दुईवटा ढुङ्गा मात्र जोडेर घर बन्दैन, त्यसरी अन्त्यानुप्रास मिलाएर शेर बन्दैन। शेरमा भावको स्वाभाविकता, भाषाको सौन्दर्य, अर्थको चमक र कथनको कसिलोपन पनि चाहिन्छ।
र गजल के होइन?
गजल प्रेमका दुई चार मीठा वाक्यहरूको सङ्ग्रह होइन।
गजल केवल दुखेसो पोख्ने माध्यम होइन।
गजल तुकबन्दीको अभ्यास होइन।
गजल कठिन शब्दको प्रदर्शन पनि होइन।
र सबैभन्दा ठूलो कुरा, ‘शेर’ जस्ता देखिने हरेक दुई हरफ शेर नहुन पनि सक्छन्।
असल गजल पढिसकेपछि पाठकले ‘वाह गजल’ भन्नुभन्दा पहिले केही बेर मौन हुनुपर्छ, फर्केर फेरि पढ्न मन लाग्नुपर्छ, अनि एउटै शेरभित्र अर्को अर्थ भेटिनुपर्छ। अनि मात्र त्यो गजल असल गजल हुन सक्छ।
त्यसैले मेरो नजरमा, गजल भनेको अनुशासनभित्र जन्मिएको स्वतन्त्रता हो।
जहाँ शिल्पले शरीर दिन्छ, भावले प्राण दिन्छ र एउटा राम्रो शेरले पाठकको मौनतासम्म पुग्ने बाटो बनाउँछ।
२. गजल लोकप्रियताको शिखर छोइरहेको छ। महफिल छन्, महोत्सव छन्, सामाजिक सञ्जालहरूमा गजल छन्, श्रोता छन्, नयाँ गजलकारको बाढी नै छ। तर एउटा असहज प्रश्न गरौँ, गजलको लोकप्रियता बढ्नु र गजलको साहित्यिक उचाइ बढ्नु एउटै कुरा हो?
होइन, एउटै कुरा होइन। गजलको लोकप्रियता बढ्नु भनेको धेरै कानसम्म पुग्नु हो। साहित्यिक उचाइ बढ्नु भनेको धेरै समयसम्म टिक्नु हो।
महफिलमा ताली पाउनु लोकप्रियता हो, तर पाठकको मनमा वर्षौँसम्म बाँचिरहनु साहित्यिक उचाइ हो। आज गजल धेरै लेखिनु उपलब्धि हो, तर तीमध्ये कति गजल समयले जोगाएर राख्छ भन्ने कुरा महत्त्वपूर्ण हो।
३. हामीले नेपाली गजल लेखिरहेका छौँ कि नेपाली भाषामा उर्दू गजलको नक्कल गरिरहेका छौँ? हाम्रो कमजोरी कहाँ छ, अध्ययनमा, साधनामा, शिल्पमा, विषयमा कि मौलिक दृष्टिकोणको अभावमा?
यो प्रश्न केवल गजलको प्रश्न होइन, नेपाली गजलको पहिचान र भविष्यको प्रश्न हो।
हामीले नेपाली गजल लेखिरहेका छौँ कि नेपाली भाषामा उर्दू गजलको नक्कल गरिरहेका छौँ? सायद समस्या उर्दूबाट प्रभावित हुनुमा होइन, समस्या प्रभावलाई आत्मसात् नगरी अनुकरणमै रोकिँदाको हो। यहाँ नेपाली गजलको इतिहास बुझ्न आवश्यक छ।
हाम्रो कमजोरी कहाँ छ?
अध्ययनमा । किनकि धेरैले गजल पढ्छन्, तर नेपाली गजलको परम्परा र विकास पढ्दैनन्।
साधनामा किनकि दुई चार लोकप्रिय शेर लेखेपछि कवि बन्ने हतार छ।
शिल्पमा, किनकि भावनालाई लयमा राख्नु र भावनालाई कलामा रूपान्तरण गर्नु एउटै कुरा होइन।
विषयमा, किनकि प्रेम, विरह, धोका र मदिराको घेराभन्दा बाहिर जीवनका असङ्ख्य अनुभव अझै गजलमा पर्याप्त प्रवेश गरेका छैनन्।
र सबैभन्दा गम्भीर कमजोरी दृष्टिमा, किनकि आफ्नै समय, समाज, भूगोल र मनोविज्ञानलाई आफ्नै आँखाले हेर्ने साहस कम छ।
उर्दू गजलबाट सिक्नु गलत होइन। उर्दू गजल हाम्रो गुरु हुन सक्छ, तर हाम्रो परिचय हुन सक्दैन। गुरुको भाषा, बिम्ब र मुहावरा जस्ताको तस्तै बोकेर हिँड्दा नेपाली गजल जन्मिँदैन। नेपाली माटो, नेपाली अनुभव र नेपाली संवेदनाबाट त्यही शिल्पलाई नयाँ अर्थ दिँदा मात्र नेपाली गजलको आफ्नै आवाज निर्माण हुन्छ।
आज गजल लोकप्रिय छ, महफिलमा छ, सामाजिक सञ्जालमा छ, नयाँ पुस्ताको जिब्रोमा छ। तर एउटा असहज प्रश्न गजलको भीड बढिरहेको छ कि गजलको स्तर पनि बढिरहेको छ? लोकप्रियता गजलको उपलब्धि हो। मौलिकता, शिल्प र समयसँग संवाद गर्ने सामर्थ्य गजलको साहित्यिक उचाइ हो। त्यसैले अब प्रश्न ‘कति गजल लेखिए?’ भन्ने होइन, ‘कति गजलले नेपाली जीवनलाई आफ्नै आँखाले देखे?’ भन्ने हुनुपर्छ।
४. गजललाई स्वतन्त्र छोड्ने नाममा हामीले गजलको अनुशासन नै मारिरहेका त छैनौँ? अर्कोतिर शास्त्रीयताको नाममा गजललाई यति कठोर बनाइरहेका त छैनौँ कि नयाँ पुस्ता त्यसको ढोकामै पुगेर फर्कियोस्?
गजललाई स्वतन्त्र छोड्नु र गजललाई अनुशासनविहीन बनाउनु एउटै कुरा होइन र नियम भत्काउँदैमा नयाँपन आउँदैन, अनि नियम समाउँदैमा उत्कृष्टता जन्मिँदैन।

नेपाली गजलको हकमा शास्त्रीयताको नाममा नियमलाई यति कठोर बनाउनु पनि उचित होइन कि गजल सिक्न चाहने नयाँ पुस्ताले सिर्जनाभन्दा पहिले डर सिक्न थालोस्। शास्त्रीयता जरा हो, जेल होइन। स्वतन्त्रता आकाश हो, अराजकता होइन। समस्या तब सुरु हुन्छ, जब अनुशासनले सिर्जनाको घाँटी थिच्छ र स्वतन्त्रताले विधाको पहिचान मेटाउँछ।
सायद गजलको सही बाटो यही हो कि परम्पराको काँधमा उभिएर नयाँ क्षितिज हेर्नु। न जरा काट्नु, न आकाश छेक्नु।
५. आजभोलि गजलका कार्यक्रम धेरै छन्। एउटै पुस्ताका, एउटै समूहका र एकअर्कालाई प्रशंसा गर्ने गजलकारहरू बारम्बार एउटै मञ्चमा देखिन्छन्। के हामीले गजलको उत्सवलाई गजलकारहरूको नेटवर्किङमा सीमित गरिरहेका छौँ?
मेरो विचारमा समस्या एउटै समूहका र एकअर्कालाई प्रशंसा गर्ने गजलकारहरू बारम्बार एउटै मञ्चमा देखिनुमा होइन, मञ्चमा विविधता कम हुनुमा हो। एउटै पुस्ता, एउटै घेरा र एउटै प्रशंसाको वृत्तभित्र गजल घुमिरह्यो भने महफिल त भरिन्छ, तर गजलको क्षितिज फराकिलो हुँदैन। नयाँ आवाजले ठाउँ पाउँदैन, फरक मतले प्रवेश पाउँदैन, र अन्ततः गजलको उत्सव गजलको होइन, गजलकारहरूको आपसी उपस्थिति र प्रशंसाको उत्सव बन्ने खतरा हुन्छ।
उत्सवको अर्थ आफ्नै मान्छेहरूलाई पटक पटक बोलाउनु मात्र होइन, आफ्नो घेराभन्दा बाहिरको उत्कृष्टतालाई मञ्च दिनु पनि हो। साँच्चै गजलको उत्सव मनाउने हो भने मञ्चमा परिचयभन्दा प्रतिभा, सम्बन्धभन्दा रचना र प्रशंसाभन्दा प्रश्न बोल्नुपर्छ। नत्र महफिलहरू बढ्दै जानेछन्, तस्बिरहरू थपिँदै जानेछन्, तालियाँ पनि बजिरहनेछन्, तर एक दिन फर्केर हेर्दा प्रश्न उठ्न सक्छ, गजल कहाँ थियो? हामी त केवल एकअर्काको उपस्थितिको उत्सव मनाइरहेका रहेछौँ कि?
६. तपाईंका गजल सङ्ग्रह कुन कुन बजारमा छन्? सङ्ग्रहभित्रका कथा सुनौँ र एउटा गजल।
मेरा ‘पग्लिएका रहरहरू’ (२०६९) र ‘सेतो रूमाल’ (२०८१) दुई गजल सङ्ग्रह प्रकाशित छन्।
‘पग्लिएका रहरहरू’देखि ‘सेतो रूमाल’सम्म आइपुग्दा शब्दले कति बाटो हिँडे, कति रहर पग्लिए, कति अनुभूति रुमालभित्रको मौनताजस्तै लुकिरहे, त्यसको उत्तर गजलमै छ।
एउटा गजल प्रस्तुत छ,
कसले जोड्यो हातपाउ मुस्कुराएर
बढिरहेको छ बजारभाउ मुस्कुराएर
किन उदास छ यो जीवन सोचिरहेको छु
हेरिरहेको छ मलाई तलाउ मुस्कुराएर
गाउँमा अझै पनि बाटो पुगेको छैन
सरकारलाई चिठी पठाऊ मुस्कुराएर
दुःखलाई दुःख भएकोमा लाज लागोस्
दुःखका कथाहरू सुनाऊ मुस्कुराएर
खोज्ने बेला पनि मुस्कुराउँदै खोजोस्
शत्रुलाई ठेगाना बताऊ मुस्कुराएर
तिमीले दिएका कैयौँ घाउहरू मध्ये
सन्चो भइरहेछ एउटा घाउ मुस्कुराएर।
मलाई लाग्छ, सङ्ग्रह कति वटा छन् भन्नेभन्दा पनि सङ्ग्रह बन्द गरेपछि पनि पाठकको मनमा कुन शेर बसिरहन सक्यो भन्ने कुरा महत्त्वपूर्ण हो। यदि एउटा शेर पनि पाठकको मनमा बसिरहन सकेको छ भने सायद गजलकारको वास्तविक परिचय त्यही हो।
७. अझ सीधा प्रश्न नेपाली गजलमा ‘गुट’ छ? यदि छ भने, त्यसले सर्जक जन्माइरहेको छ कि सर्जकलाई छानिरहेको छ?
छ, नेपाली गजलमा गुट वा समूहगत प्रवृत्ति छैन भन्नु वास्तविकतालाई ढाक्नु हो। तर समस्या समूह हुनुमा होइन, समूहले प्रतिभा र शिल्पभन्दा नजिकपन, सम्बन्ध र स्वीकृतिलाई मापदण्ड बनाउन थालेमा हो।
गुटले सर्जक जन्माउन पनि सक्छ, किनकि समूहले मञ्च, संवाद, आलोचना र अवसर दिन्छ। तर जब त्यही समूह कसलाई अघि सार्ने र कसलाई ओझेलमा पार्ने भन्ने निर्णायक शक्ति बन्न थाल्छ भने त्यसले सर्जक जन्माउँदैन, सर्जक छान्छ।
तर म यति ढुक्कले भन्न सक्छु, गजलमा टिक्ने कुरामा चाहिँ कुनै गुटको सिफारिस चाहिँदैन। समयले जाँच्ने शेरको सामर्थ्य हो। गुटले नाम अगाडि ल्याउन सक्छ, तर साहित्यमा स्थान दिलाउन सक्दैन। समयले कुनै समूहको सदस्यता हेर्दैन, रचना हेर्छ।
८. गजलमा विकृति कसले जन्माइरहेको छ? हामी बहर मिल्यो कि मिलेन, काफिया शुद्ध भयो कि भएन, रदिफ ठीक छ कि छैन भनेर लामो बहस गर्छौँ। तर गजलभित्रको मान्छे, उसको वर्ग, लैङ्गिकता, श्रम, पीडा, अपाङ्गता, बुढ्यौली, विस्थापन र सीमान्त जीवनबारे कति बहस गर्छौँ?
यस प्रश्नको केन्द्रमा एउटा असहज सत्य छ, गजलको विकृति केवल बहर, काफिया र रदिफ बिग्रिँदा जन्मिँदैन, गजलले समाजको वास्तविक अनुहार देख्न छोड्दा पनि जन्मिन्छ।
बहर मिल्नु शिल्पको अनुशासन हो, काफिया–रदिफ मिल्नु संरचनाको शुद्धता हो, तर गजलभित्रको मान्छे छुट्यो भने ती सबै मिलेर पनि गजल अधुरै रहन्छ।
श्रम गर्ने हात, भोकसँग लडिरहेको वर्ग, लैङ्गिक असमानतामा पिसिएको जीवन, अपाङ्ग शरीरभित्रको अदम्य चेतना, बुढ्यौलीको एकान्त, घरबाट विस्थापित मानिस र समाजको किनारामा उभिएको आवाज, यी विषय गजलका विषय बन्न सक्दैनन् भने हाम्रो बहस शिल्पमा मात्र सीमित भएको प्रमाण हो।
अझ गम्भीर प्रश्न त ‘विकृति कसले जन्माइरहेको छ?’ भन्ने छ। कहिलेकाहीँ सिर्जनाभन्दा प्रमाणपत्र, संवेदनाभन्दा समूह, जीवनभन्दा शास्त्र र प्रश्नभन्दा प्रशंसालाई ठूलो बनाउने हाम्रो सामूहिक संस्कारले पनि विकृति जन्माउँछ।
प्रश्न यो पनि हो कि हामी नेपाली गजललाई शुद्ध बनाउँदै छौँ वा गजलभित्रको जीवनलाई? यदि गजल शिल्पमा शुद्ध हुँदै जाँदा संवेदनामा गरिब हुँदैछ भने त्यो गजलको विकास होइन, विकृतिको अत्यन्त सुन्दर रूप हो।
९. गजलको शिल्प सुन्दर भएर मात्रै पुग्छ कि त्यसले संसारलाई हेर्ने दृष्टि पनि सुन्दर बनाउनुपर्छ?
शिल्प सुन्दर हुनु गजलको आवश्यकता हो, तर पर्याप्तता होइन। गजलका अक्षरहरू सुन्दर भएर मात्र पुग्दैन, ती अक्षरले संसारलाई कसरी हेर्छन् भन्ने कुरा अझ महत्त्वपूर्ण हुन्छ।
सुन्दर दृष्टि भन्नाले संसारलाई केवल सुन्दर देख्नु होइन, असुन्दरता, अन्याय, विभेद, पीडा र मौनताभित्र पनि संसार छ भन्ने देख्न सक्नु हो। प्रेम लेख्दा प्रेमभित्रको असमानता देख्नु, गरिबी लेख्दा गरिबलाई केवल करुणाको पात्र नबनाउनु, स्त्री लेख्दा स्त्रीलाई केवल सौन्दर्यको विम्ब नबनाउनु, र मृत्यु लेख्दा जीवनको मूल्य अझ गहिरोसँग बुझ्नु हो।
त्यसैले मेरो विचारमा गजलको शिल्पले कान जित्नुपर्छ, दृष्टिले विवेक। शब्द सुन्दर छन् तर दृष्टि संकीर्ण छ भने त्यो सुन्दर लेखाइ हुन सक्छ, सुन्दर गजल हुन सक्दैन।
१०. एउटा असहज प्रश्न; रूढीवादी सोच बोकेको उत्कृष्ट शिल्पको गजल र कमजोर शिल्पमा लेखिएको प्रगतिशील गजलमध्ये तपाईं कुनलाई साहित्यिक रूपमा उत्कृष्ट मान्नुहुन्छ? किन?
यस प्रश्नमा म कमजोर शिल्प भएको गजललाई स्वतः उत्कृष्ट मान्दिनँ, केवल त्यसको विचार प्रगतिशील भएकै कारण। तर रूढीवादी सोचलाई सुन्दर शिल्पले सजाएको गजललाई पनि केवल शिल्पकै कारण उत्कृष्ट भन्न सक्दिनँ।
मेरो प्राथमिकता दृष्टि र शिल्पबीचको सन्तुलन हो। उत्कृष्ट शिल्पमा लेखिएको रूढीवादी गजलले भाषिक सौन्दर्य त दिन सक्छ, तर यदि त्यसको दृष्टिले मान्छेलाई विभेद, पूर्वाग्रह वा पुरानै असमानताभित्र कैद गर्छ भने त्यसको साहित्यिक मूल्यमा ठूलो प्रश्न उठ्छ। अर्कोतर्फ, प्रगतिशील चेतना भएको तर कमजोर शिल्पको गजलमा भविष्यको सम्भावना हुन्छ, तर सम्भावना मात्र उत्कृष्टता होइन।
त्यसैले यी दुईमध्ये एउटा रोज्नै परे म प्रगतिशील गजलतर्फ झुक्छु। गजलमा सुन्दर शिल्प मात्र होइन, सुन्दर मानवीय चेतना पनि चाहिन्छ। शिल्प उत्कृष्ट भएर दृष्टि संकीर्ण छ भने त्यो सुन्दर ढङ्गले सजाइएको पुरानो अँध्यारो हो। शिल्प कमजोर भएर दृष्टि प्रगतिशील छ भने त्यो अझै पूर्ण आकार नलिएको उज्यालो हो।
११. नेपाली गजलमा प्रेम, विरह, धोका र सम्झना अत्यन्त लोकप्रिय छन्। तर देशमा बेरोजगारी छ, श्रमिक छन्, परदेश छ, वर्गीय विभाजन छ, राजनीति छ, हिंसा छ, पहिचानका प्रश्न छन्। हामी गजलमा संसार लेखिरहेका छौँ कि अझै प्रेमिकाको आँखामै संसार खोजिरहेका छौँ? अनि गजललाई सामाजिक दस्तावेज बनाउने जिम्मेवारी छ कि छैन?
प्रेम, विरह र सम्झना गजलका स्वाभाविक विषय हुन्। गजलमा प्रेमिकाको आँखामा संसार देख्नु गलत होइन, तर संसारलाई प्रेमिकाको आँखामै सीमित गर्नुचाहिँ गजलको सीमा हो। गजलले केवल आँखाकै नशा लेखिरह्यो भने समयको एउटा ठूलो सत्य छुटिरहेको हुन सक्छ।
गजल सामाजिक दस्तावेज बन्नैपर्छ भन्ने बाध्यता छैन, तर आफ्नो समयको साक्षी बन्ने जिम्मेवारी अवश्य छ। वरिपरि बेरोजगारी, श्रम, परदेश, वर्गीय विभाजन, राजनीति, हिंसा र पहिचानका प्रश्न छन् भने गजलले ती आवाज पनि बोल्नुपर्छ। सामाजिक विषयलाई नारा होइन, कलात्मक अनुभूति र शिल्पमा रूपान्तरण गर्न सक्नु नै गजलको शक्ति हो।

गजलले प्रेम देखोस्, खुसी देखोस्, तर त्यही गजलले श्रमिकको पसिना, परदेशीको एक्लोपन, बेरोजगारको प्रतीक्षा, वर्गको दूरी, हिंसाको घाउ, राजनीति र पहिचानको सङ्घर्ष पनि देख्न सक्नुपर्छ।
१२. गजलका हजारौँ शेर लेखिन्छन्, लाखौँ पटक सुनिन्छन्, भिडियोमा लाखौँ भ्यु आउँछन्। तर गजलकारको हातमा त्यसको आर्थिक प्रतिफल कति पुग्छ? हामी साहित्यलाई सम्मान गर्छौँ कि निःशुल्क उपभोग गर्छौँ?
नेपाली गजलको सबैभन्दा असहज प्रश्नमध्ये यो प्रश्न पनि एक हो। गजल सुन्ने र हेर्ने संस्कृति बढेको छ, तर गजलकारलाई त्यसको आर्थिक मूल्य दिने संस्कृति अझै कमजोर छ। लाखौँ भ्यु र हजारौँ शेरको लोकप्रियताबीच सर्जक आर्थिक रूपमा उही ठाउँमा रहनु भनेको साहित्यलाई सम्मान गर्नु होइन, निःशुल्क उपभोग गर्ने बानी हो।
साहित्य केवल ताली र प्रशंसाले बाँच्दैन। सर्जकको श्रमको मूल्य तिर्ने संस्कार नबनेसम्म साहित्यप्रतिको सम्मान अधुरै रहन्छ।
१३. भाषा बाँच्न साहित्यले कति भूमिका खेल्छ? भाषा बोल्ने समुदाय घट्दै गयो भने साहित्यले भाषा बचाउन सक्छ? कि भाषा बचाउन साहित्यभन्दा पहिले विद्यालय, परिवार, सञ्चार र राज्यको नीति बदलिनुपर्छ? र खस अछामी भाषाको भविष्यबारे तपाईं आशावादी हुनुहुन्छ कि चिन्तित?
भाषा बचाउने काममा साहित्यको भूमिका अत्यन्त ठूलो छ, तर साहित्य एक्लैले भाषा बचाउन सक्दैन। साहित्यले भाषालाई अभिलेख गर्छ, सौन्दर्य दिन्छ र नयाँ पुस्तासम्म पुर्याउँछ; तर भाषा दैनिक जीवनमा बोलिन छाड्यो भने साहित्य सङ्ग्रहालयको वस्तु बन्न सक्छ।
त्यसैले विद्यालय, परिवार, सञ्चारमाध्यम र राज्यको भाषानीति सबैले मातृभाषालाई व्यवहारमै ठाउँ दिनुपर्छ। साहित्यले भाषा बचाउने चेतना जगाउँछ, तर समुदायले बोलिरहे मात्र भाषा जीवित रहन्छ।
खस अछामी भाषाको भविष्यप्रति म आशावादीभन्दा बढी सचेत आशावादी छु। मौलिक शब्द, लोकस्मृति र सांस्कृतिक पहिचान बोकेको यो भाषालाई नयाँ पुस्ताले बोल्ने, लेख्ने र सिर्जनामा प्रयोग गर्ने वातावरण बनाउन सके यसको भविष्य सधैँ बलियो हुन सक्छ। नत्र पुस्तान्तरण कमजोर हुँदै जाँदा चिन्ता स्वाभाविक छ। भाषा बचाउनु भनेको शब्द बचाउनु मात्र होइन, एउटा समुदायको स्मृति र आत्मा बचाउनु हो।
१४. तपाईंको पहिलो अक्षर कहाँ जन्मिएको थियो? त्यही पहिलो रचना ‘अक्षर वार्ता’का पाठकलाई सुनाउन सक्नुहुन्छ?
कक्षा आठमा पढ्दाको कुरा हो। कापीमा ‘स्कुले जीवन’ भनेर एउटा कविता लेखेँ र भित्तेपत्रिकामा टाँसेर कक्षाकोठामा राखेँ। भोलिपल्ट साथीहरू आफ्नै कविता पढिरहेका देख्दा मन खुसीले फुरुङ्ग भयो।
मलाई कविताको शीर्षक र त्यो समय याद छ, तर कविता याद छैन। सायद मेरो पुरानो डायरीमा त्यो कविता हुनुपर्छ। मैले खस अछामी भाषामा धेरै गीतहरू पनि त्यतिबेला लेखेको छु।
केही खस अछामी भाषाका गीतहरू
कर्णालीको पानी मिठो, अछामको माटो
पठाउन्याले माया पठाऊ, बाडुलीको साटो।
एकाइथि पिपल हुनु, एकाइथि वर हुनु
म जस्तो बहाडिको बाटाइथि घर हुनु।
सपनिमा बाजकलीको नजिकै हुँदो छु
विपनीमा बाजकलीलाई सम्झेर रुँदो छु।
त्यो समय आजभोलि सम्झिँदा आफैलाई हाँसो लाग्छ। तर त्यही बालसुलभ अक्षरहरूले मलाई लेखाइप्रतिको मोह बसालिदियो।
१५. यदि तपाईंलाई ‘अक्षर वार्ता’का लागि एक सर्जक सिफारिस गर्ने अधिकार दिइयो, र त्यो सिफारिस चर्चा, पहुँच, मित्रता, गुट वा सामाजिक सञ्जालको लोकप्रियताका आधारमा होइन, केवल सिर्जनाको गुणस्तरका आधारमा गर्नुपर्ने भयो भने तपाईं कसको नाम सिफारिस गर्नुहुन्छ?
स्किप
१६. अन्तिम प्रश्न; यसपटक मेरो होइन। आजसम्म अरूले तपाईंलाई प्रश्न सोधे। अब दीर्घराज प्रियसीले आफैलाई एउटा असहज प्रश्न सोध्नुपर्यो भने के सोध्नुहुन्छ? र त्यो प्रश्नको उत्तर दिन तपाईं आफैँ तयार हुनुहुन्छ?
असहज प्रश्न:
“दीर्घराज प्रियसी, अरूलाई सत्य, प्रेम, समाज र जीवनको अर्थ सुनाउँदै हिँडिस्, तर एकपटक ऐनाअगाडि उभिएर भन, तैँले लेखेको जीवन साँच्चै बाँचेको छस् कि शब्दहरूको एउटा सुन्दर झूट मात्र बाँचेको छस्?”
र त्यसपछि अर्को प्रश्न अझ भयङ्कर हुनेछ,
“जसलाई संसारले ‘दीर्घराज प्रियसी’ भनेर चिन्यो, त्यो नाम हटाइदिएपछि र कवि, लेखक, परिचय, प्रशंसा र अक्षर सबै खोसिदिएपछि बाँकी रहने मान्छेलाई तैँले आफै चिन्न सक्छस्?”
उत्तर?
सायद छैन।
वास्तवमा जीवनका धेरै प्रश्नको उत्तर शब्दले दिन सकिन्छ, तर आफ्नै अस्तित्वको प्रश्नमा शब्दहरू पनि अनाथ हुन्छन्। त्यसैले उत्तर दिनुभन्दा पहिले एउटा स्वीकारोक्ति आवश्यक छ। अहिलेसम्म अरूलाई बुझ्न धेरै लेखियो। अब बाँकी जीवन आफूले आफूलाई नछल्ने अभ्यास हुनुपर्छ। किनकि मृत्यु शरीरको मात्र हुँदैन, मानिसले आफूलाई आफूबाट लुकाउन छाडेको दिन, ‘म’ भन्ने भ्रमको पनि मृत्यु हुन्छ।
१७. गजलका बारेमा कुरा गर्दै गर्दा हामीले गजल मात्रै होइन, भाषा, समाज, राजनीति, बजार र आफूलाई समेत प्रश्न गर्यौँ। अन्तिममा ‘अक्षर वार्ता’लाई सुझाव र तपाईंका चर्चित शेरहरू…
‘अक्षर वार्ता’ले गजलको चर्चा मात्र होइन, गजलभित्र लुकेको समय, समाज र सर्जकको अन्तरमनलाई पनि प्रश्न गरिरहोस्। जहाँ गजलको सौन्दर्यसँगै त्यसका कमजोरी, सर्जकसँगै उसका अहंकार, बजारसँगै उसका भ्रम र समाजसँगै उसका मौनतामाथि पनि प्रश्न उठून्। नयाँ पुस्ताका आवाजहरू नछुटाऊन्।
लोकप्रियताभन्दा पर सत्यको असहज ठाउँमा पुग्ने साहस ‘अक्षर वार्ता’ले राखोस्। किनकि साहित्यलाई बचाउने सबैभन्दा ठूलो शक्ति उत्तर होइन, सही प्रश्न सोध्ने विवेक हो। ‘अक्षर वार्ता’ प्रश्नोत्तरको कार्यक्रम मात्र नबनोस्, आफ्नै समयसँग साहित्यले गर्ने आत्मसंवाद बनोस्। शुभकामना।
शेरहरू
१
यी आँखाले राज गरे कहीँकतै
कहीँकतै त यो अनुहार चलेन।
२
तिम्रो नयाँ क्रान्ति यस्तै त होला
नयाँ कोदालो, एक असार चलेन।
३
जूनजस्तो हुनुपर्ने, फूलजस्तो हुनुपर्ने
बदाम बेचेर हिँड्ने बैनीको अनुहार सोच्दैछु।
४
काम सकिएपछि अर्को काम सम्झेको छ
मजदुरले आफूलाई दिनभर सम्झेको छैन।
५
आज त बाढी आएर बगर भरिभराउ छ
आज त बगरले बगर सम्झेको छैन।
६
कहिले निस्किन्छ मान्छे मान्छे जस्तो बनेर?
भगवान् बन्न पत्थर पत्थरबाट निस्किसक्यो।
७
जे गरे पनि हुन्छ अब, जे भने पनि हुन्छ
नभन्ने कुरा भनिहाल्यौ, डर त्यही थियो।
८
पानी पानी भएन, आगो आगो भएन
तैपनि छोरो कहिले आमाको भएन।
९
मर्न त्यति सजिलो छैन, बुझेर आएको छु
मान्छे आगोले खाएको देखेर आएको छु।
१०
हावा जरूरी छ, हावाको डर पनि छ
मर्नु त छँदैछ, बाँच्ने रहर पनि छ।
११
मनमा पीर, बारीमा झार कति छ कति छ
हे भगवान्, तेरो अवतार कति छ कति छ।
१२
केही दिनदेखि एउटै कुरा लगातार सोच्दैछु
बनाउन मिल्छ कि औँलालाई औजार, सोच्दैछु।
१३
जिन्दगीबाट तिमी पो जान्छु भन्दै थियौ
तिमीलाई के था, मनमा पहिरो जाँदै थियो।
१४
देश सम्झेर म घरतिर आएँ
देश सम्झेर भाइ कतार आयो।
१५
आज मेरो पालो, भोलि तिम्रो पालो
कोसँग आएर कालले माफी माग्छ?

सबै तस्बिरहरु एआईद्वारा सिर्जना गरिएका हुन।















