बुधबार, २४ भाद्र, २०८३

तिलाका ४८ जनालाई सीपमूलक तालिम दिइँदै

१० दिने सीपमूलक तालिम कुल २२ लाख ९२ हजार २१० रुपैयाँको लागतमा सञ्चालन भइरहेको छ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र किर्डाक नेपालको साझेदारीमा सञ्चालित एकीकृत परियोजना ढाँचाअन्तर्गत जुम्ला खलंगामा १० दिने सीपमूलक तालिम सुरु भएको छ। तालिममा तिला गाउँपालिकाका ४८ जना सहभागीले विभिन्न चार विधामा सीप सिक्नेछन्।

तिला गाउँपालिकाकी उपाध्यक्ष गोरिकला बुढाले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरिन्। उनले तालिमबाट प्राप्त ज्ञानलाई घरपरिवारको आर्थिक अवस्था सुधार गर्न तथा स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न प्रयोग गर्नुपर्ने बताइन्।

सीप सिकेपछि त्यसलाई व्यवहारमा प्रयोग नगर्ने प्रवृत्तिले तालिमको उद्देश्य पूरा हुन नसक्ने भन्दै उनले सीपलाई निरन्तर अभ्यास गर्दै आयआर्जनको माध्यम बनाउन सहभागीलाई आग्रह गरिन्।

किर्डाक नेपालका कार्यक्रम संयोजक शिवचन्द्र कार्कीले बजारको माग र आवश्यकताअनुसारको सीप हासिल गर्न सके बेरोजगार भएर बस्नुपर्ने अवस्था नआउने बताए। उनले तालिमलाई प्रमाणपत्र प्राप्त गर्ने औपचारिक कार्यक्रमका रूपमा मात्र नलिई सिकेको सीपलाई आम्दानी र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिए।

‘बजारले खोजेको सीप सिक्न सकियो भने अवसरको कमी हुँदैन,’ कार्कीले भने, ‘तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सके स्वरोजगार बन्न पनि सकिन्छ।’

तिला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर रावलले सीपले व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताए। उनका अनुसार सीप सिकाइ व्यक्तिको आर्थिक अवस्थामात्र नभई आत्मविश्वास र प्रेरणा बढाउने महत्वपूर्ण माध्यम पनि हो।

‘सीपले व्यक्तिगत जीवन परिवर्तन गर्न सक्छ,’ रावलले भने, ‘सीप सिकेपछि त्यसलाई निरन्तरता दिन सके आफ्नो जीवनमा परिवर्तन ल्याउन सकिन्छ।’

तालिम सञ्चालन गर्ने प्रशिक्षणमूलक संस्था बेष्टका कार्यकारी निर्देशक मानबहादुर बोगटीले १० दिनको अवधिमा सहभागीलाई सकेसम्म व्यावहारिक तथा प्रयोगात्मक सीप प्रदान गरिने बताए। तालिमलाई सहभागीले प्रत्यक्ष अभ्यास गर्न सक्ने गरी सञ्चालन गरिने उनको भनाइ छ।

तालिमअन्तर्गत चारवटा विधामा प्रशिक्षण दिइनेछ। हाउस वायरिङतर्फ जीवन सुनार, कुकिङतर्फ जयराम शर्मा, सिलाइ–कटाइतर्फ चन्दा शर्मा ढकाल र फर्निचरतर्फ खुसीराम थारुले प्रशिक्षण दिनेछन्।

चारवटै विधामा तिला गाउँपालिकाका कुल ४८ जना सहभागीले सीप हासिल गर्नेछन्। स्थानीय आवश्यकता र रोजगारीका सम्भावनालाई ध्यानमा राखेर विभिन्न विधाका सीप छनोट गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा अनुगमन तथा मूल्यांकन अधिकृत ललित डाँगीले १० दिने सीपमूलक तालिम कुल २२ लाख ९२ हजार २१० रुपैयाँको लागतमा सञ्चालन भइरहेको जानकारी दिए। तालिममा सहभागी सबै जना तिला गाउँपालिकाका रहेको उनले बताए।

स्थानीय तहमा बेरोजगारी तथा रोजगारीका सीमित अवसरका कारण युवाहरू बाहिरिने क्रम बढिरहेका बेला यस्ता सीपमूलक तालिमले स्थानीयस्तरमै स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयआर्जनसँग प्रत्यक्ष रूपमा जोडिन सक्ने हाउस वायरिङ, कुकिङ, सिलाइ कटाइ र फर्निचरसम्बन्धी सीप प्रदान गरिएकाले तालिमपछि सहभागीले व्यक्तिगत रूपमा व्यवसाय सञ्चालन गर्न वा रोजगारी खोज्न सक्ने आयोजकको विश्वास छ।

तालिममा सहभागीले १० दिनसम्म सम्बन्धित विषयका प्रशिक्षकबाट सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान र सीप हासिल गर्नेछन्। तालिमको प्रभावकारिता र सहभागीले प्राप्त गरेको सीपको उपयोगितालाई समेत अनुगमन गरिने आयोजकले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार