रसुवामा गएको बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारका लागि राहत सहयोग जुटाउने अभियानअन्तर्गत जुम्लाको पातारासी गाउँपालिका–६ र ७ का वडा कार्यालयमा राहत उपलब्ध गराउन माग गरिएको छ ।
युवा समाजसेवी तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा कार्यरत हस्तबहादुर बुढाको नेतृत्वमा गएको टोलीले दुवै वडा कार्यालयमा पुगेर राहत सहयोगका लागि आवश्यक कागजात तथा प्रभावित परिवारसम्बन्धी विवरण बुझाएको हो ।
बाढीपहिरोबाट रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै पीडित परिवारलाई तत्काल राहत तथा आवश्यक सामग्री उपलब्ध गराउन स्थानीय तहले पनि सहयोग गर्नुपर्ने टोलीले जनाएको छ ।
टोलीले पातारासी–६ र ७ का वडा अध्यक्षसँग भेट गरी विपद्मा परेका परिवारको अवस्था मध्यनजर गर्दै स्थानीय तहबाट सक्दो राहत सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन र सम्बन्धित निकायसँग समन्वय गर्नसमेत आग्रह गरिएको छ ।
‘विपद्को समयमा पीडित परिवारलाई एक्लै छाड्न हुँदैन,’ टोलीको भनाइ उद्धृत गर्दै बुढाले भने, ‘स्थानीय तह, जनप्रतिनिधि, सामाजिक संघसंस्था र नागरिक सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गरे पीडित परिवारलाई केही राहत पुग्न सक्छ ।’
राहत संकलन तथा वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको टोलीले जनाएको छ । तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्रीलगायत राहत सामग्री उपलब्ध गराउन सहयोगी हातहरू अघि बढ्नुपर्नेमा पनि टोलीले जोड दिएको छ ।
रसुवा बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले विभिन्न क्षेत्रबाट राहत संकलन तथा सहयोग अभियान सञ्चालन भइरहेका छन् । सोही अभियानअन्तर्गत पातारासी गाउँपालिकाका वडा कार्यालयसँग पनि सहयोगका लागि आग्रह गरिएको टोलीले जनाएको छ ।















