आईतवार, १७ जेष्ठ, २०८३

सेवाको नाममा एम्बुलेन्स र शव वहानको लुटधन्दा, बिरामीलाई झन् मर्का सरकार मौन!

एम्बुलेन्स ढिलो आएको खण्डमा कतिपय बिरामीको ज्यानै समेत जान सक्छ भने कतिपय बिरामीलाई एम्बुलेन्सले नै पुनःजीवन दिएको पनि घटना छन्। तर, दुर्भाग्यको कुरा एम्बुलेन्स र शववाहकजस्तो अत्यावश्यकीय सेवामा समेत केहीले आफ्नो फाइदाका निम्ति लुटतन्त्र मच्याएका छन्।

जनताले तिरेको करबाट एम्बुलेन्स र शववाहक खरिद गरिन्छ। कतिपय त छिमेकी मुलुक वा विदेशीले अनुदानस्वरुप पनि दिएका छन्। एम्बुलेन्स र शववाहकलाई अत्यावश्यकीय सेवाका रुपमा लिइन्छ। एम्बुलेन्स बिरामी गम्भीर अवस्थामा हुँदा प्रयोग गरिन्छ भने बिरामीको मृत्युपश्चात् उसको लास शववाहकमार्फत सम्बन्धित स्थान लगिन्छ।

एम्बुलेन्स र शववाहक जोकोहीलाई पनि आवश्यक पर्न सक्छ। र, यो कतिबेला आवश्यक पर्छ भनेर कल्पनासमेत गर्न सकिँदैन। एम्बुलेन्स ढिलो आएको खण्डमा कतिपय बिरामीको ज्यानै समेत जान सक्छ भने कतिपय बिरामीलाई एम्बुलेन्सले नै पुनःजीवन दिएको पनि घटना छन्। तर, दुर्भाग्यको कुरा एम्बुलेन्स र शववाहकजस्तो अत्यावश्यकीय सेवामा समेत केहीले आफ्नो फाइदाका निम्ति लुटतन्त्र मच्याएका छन्।

सरकारले यसलाई वेवास्ता गर्दा आम सर्वसाधारण मारमा परेका छन्। अहिले एम्बुलेन्सले एक–दुई किलोमिटरकै एकदेखि दुई हजार रुपैयाँसम्म असुल्ने अधिकांशको गुनासो छ। शववाहकले पनि उत्तिकै शुल्क लिने गरेको छ। त्यसमाथि जुन अस्पतालले कमिशन दिन्छ, एम्बुलेन्सले बिरामीलाई त्यही पुर्‍याइदिन्छ। बिरामीसँग त्यहाँ उपचार गर्ने आर्थिक अवस्था छ कि छैन? भनेर केही नहेरी महँगा अस्पताल लगिदिइन्छ।

अहिले कतिपय व्यक्तिले नै एम्बुलेन्स र शववाहक किनेर सञ्चालन गरिरहेको पाइन्छ। किनकि यसबाट धेरै आम्दानी जो हुन्छ। देशमा सरकार छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग छ। यातायात व्यवस्था विभाग पनि छ। तर, एम्बुलेन्स र शववाहकको भाडा निर्धारण कुनै निकायले गर्दैन। जसका कारण सर्वसाधारण ठगिरहेका छन्। अहिले एम्बुलेन्स र शववाहक व्यवसायीले जति भाडा भन्छन्, त्यति नै जनता तिर्न बाध्य छन्।

हाल सञ्चालनमा रहेका एम्बुलेन्सहरु सबै थोत्रा, पुराना भइसकेका छन्। सरकारले एम्बुलेन्स सञ्चालनका निम्ति मापदण्ड बनाएको छ। विडम्बना, त्यो कार्यान्वयन भएको पाइँदैन। यसले सर्वसाधारणले महँगो पैसा तिरे पनि सेवासुविधा केही पाएका छैनन्। बिरामीलाई एम्बुलेन्सको राख्नुको कारण हो, अस्पताल पुग्नुसम्म उसको त्यहाँ प्राथमिक वा आवश्यक उपचार गराइनु।

तर, अहिले सञ्चालनमा रहेका एम्बुलेन्समा बिरामीको प्राथमिक उपचारका लागि आवश्यक केही सामानहरु छैन। एम्बुलेन्समा चालकसहित एक जना चिकित्सक अनिवार्य रुपमा हुनैपर्छ। यद्यपि, यहाँ त चिकित्सक परको कुरा हो, एम्बुलेन्समा बिरामीका लागि आवश्यक अक्सिजनसमेत हुँदैन। अनि अस्पताल पुग्दापुग्दा बिरामीको ज्यान जानु कुनै नौलो होइन। यता, कतिपय एम्बुलेन्स चालकहरुले मदिरा वा लागूऔषध सेवन गरेर गाडी चलाएको पनि पाइन्छ। यसले ज्यान बचाउन एम्बुलेन्स चढेका बिरामीसहित उसका घरपरिवारले समेत अकालमै ज्यान गुमाउनुपरिरहेको छ। पछिल्लो समय एम्बुलेन्सको दुरुपयोग बढ्दै गएको छ। अहिले लागूऔषध ओसारपसारसमेत एम्बुलेन्समार्फत हुने गरेको छ।

एम्बुलेन्सलाई अत्यावश्यकीय सेवाका रुपमा राखिएको हुँदा ट्राफिक प्रहरीले हत्तपत्त यसमाथि चेकजाँच गर्दैन। जसको फाइदा लागूऔषध कारोबारीहरुले समेत उठाउन थालेका छन्। अहिले अधिकांश अस्पतालको आफ्नै एम्बुलेन्स र शववाहक छ। तैपनि अन्य एम्बुलेन्सको बिरामी अस्पतालमा ल्याइन्छ। यसको पछाडि कारण हो, कमिशन। अस्पतालले एम्बुलेन्स चालकलाई बिरामी ल्याएमा कमिशन दिने भनेका हुन्छन्।

अनि चालकहरु जुन अस्पतालले बढी कमिशन दिन्छ, त्यही बिरामी पुर्‍याइदिन्छन्। अनि त्यो कमिशन अस्पतालले बिरामीबाटै असुलउपर गर्छ। अनावश्यक रुपमा विभिन्न परीक्षण गर्न लगाइन्छ। उदाहरणका लागि बिरामी टाउको दुखेर अस्पताल पुगेमा उसलाई समग्र शरीरकै एक्सरे वा परीक्षण गर्न लगाइन्छ। यसबाट अस्पताललाई फाइदा पुग्छ भने बिरामीको अनेकन् झन्झटसँगै खर्च पनि उत्तिकै हुन्छ।

डाक्टरलाई भगवान्सरह मानिन्छ। विडम्बना, पछिल्लो समय डाक्टरहरु पनि कमिशनको पछि लाग्दा बिरामीहरुले अकालमै ज्यान गुमाउनुपरेको छ। डाक्टरकै लापरबाहीका कारण कयौंले घटना गुमाएको घटना पनि छन्। चिकित्सकहरु आफ्नो कामप्रति जिम्मेवार हुँदा त्यसको परिमाण बिरामीले आफ्नो ज्यान गुमाएर भुक्तान गरिरहनुपरेको छ। यो अझै कतिञ्जेलसम्म हो कुन्नि!

कुनै पनि व्यक्ति अस्पताल तब जान्छ, जब उसलाई केही समस्या पर्छ। अर्थात् शारीरिक वा मानसिक रुपमा अस्वस्थ महसुस गरे पनि मानिस अस्पताल पुग्छ। अस्पताल पुगेपछि शुरुमा उसलाई टिकट काट्न लगाइन्छ। घण्टौं लाइनमा बसेर टिकट काटिन्छ। टिकट काटेपछि पनि फेरि घण्टौं कुरेर डाक्टर कहाँ गइन्छ। र, डाक्टरले चेकजाँच गरेपछि विभिन्न परीक्षण गर्नुपर्ने भनी भन्छ। परीक्षण गर्नुअघि बिल भुक्तानी गर्नुपर्छ। अनि बिरामीसँग पाँच रुपैयाँ पनि अभाव भएमा अस्पतालले परीक्षण अघि बढाउँदैन।

पुरै रकम तिरेपछि मात्र परीक्षण गर्न दिइन्छ। कतिपय बिरामी आर्थिक रुपमा कमजोर हुन्छन्। उनीहरु सरकारी अस्पताल पुग्छन्। तर, सरकारी अस्पतालका चिकित्सकहरुले निजी अस्पतालसँग कमिशन खाएर उनीहरुलाई उपचारका लागि निजी अस्पतालमा रिफर गर्छन्। निजी अस्पतालमा रिफर गरेपछि बिरामीले उपचार खर्च तिर्न सक्दैन। अनि अस्पतालले बिरामीलाई नै महिनौं बन्धक बनाएर राख्छ। सरकारी र निजी अस्पतालमा उपचार गराउनुमा धेरै फरक छ। चाँहे त्यो पैसाको हिसाबले होस् या गुणस्तर। सरकारी अस्पतालमा उपचार गराएमा केही भएपनि छुट पाइन्छ।

तर, निजी अस्पतालमा एक सुको छुट पाइँदैन। सेवा भने सरकारी अस्पतालभन्दा निजीमा राम्रो हुन्छ। किनकि सरकारीमा बिरामीको चाप धेरै हुन्छ भने निजी अस्पतालमा कम। बिरामीको चाप जति धेरै भयो, त्यति नै अस्पताललाई फाइदा हुने छ। सरकारी अस्पताल सरकारको भएकाले यसबारे खासै फरक पर्दैन। निजी त व्यक्तिले सञ्चालन गरेको हुन्छ। व्यक्तिले सेवामुखीभन्दा पनि नाफाका लागि अस्पताल सञ्चालन गर्छ।

अनि नाफाका लागि सञ्चालन गरेको निजी अस्पतालले नाफा कमाउन जे पनि गर्ने गर्छ। बिरामीलाई नभएको रोग पनि लागेको बताइन्छ। र, अपरेशन गरिन्छ। जसका कारण बिरामीको पैसासँगै ज्यानै जाने गरेको छ। निजी अस्पतालहरुको फाइदाका लागि विचारा सर्वसाधारण जनताले आफ्नो प्राण त्याग्नुपरिरहेको छ।

निजी अस्पतालबाट सञ्चालित एम्बुलेन्स र शववाहकको लुटतन्त्र मच्चिरहेको छ। तैपनि सरकार आँखामा छारो हालेर बसिरहेको छ। बिरामीहरु जताततै ठगिन्छन् । चाँहे त्यो एम्बुलेन्सबाट होस् या अस्पतालबाट। उता, ट्याक्सीले पनि बिरामीलाई नै ठग्छ। अस्पताल बाहिर ट्याक्सीहरु पार्किङ गरेर राखिएका हुन्छन्। तर, एउटै ट्याक्सीले पनि मिटरमा यात्रु बोक्न मान्दैनन्। बिरामी बोक्दा त झन् चर्को भाडा असुल्छन्।

ट्याक्सी व्यवसायीहरुलाई दुःख, मर्का वा समस्यामा परेका देख्नै हुन्न, उनीहरु ठग्नतिर लागिहाल्छन्। निजी अस्पतालहरुमा राजनीतिक दलका नेताहरुको लगानी रहेको छ। यसैले, यी अस्पतालहरुले जतिसुकै जनता ठगे पनि सरकार केही गर्दैन। राजनीतिक दलहरु एकातर्फ जनताको हकअधिकारबारे बोल्छन्, अर्कोतर्फ पर्दाभित्र बसेर आफैं जनता ठग्छन्। वाह् क्या वात हे! देखाउने दाँत एउटा, पचाउने दाँत अर्कै भनेझैं नेताहरुको पनि बाहिरी र भित्रि रुप फरक फरक रहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार