शनिबार, १६ जेष्ठ, २०८३

अर्जुन सुनारको गीत कर्णाली तिर: परदेशिएको बैँसको प्रतिबिम्ब

गीतको मुख्य अंशका रूपमा रहेको ‘कहाँ पोखूँ कहाँ मनभरिको पीडा, मै बगाइ जाऊँ कि खोलै खोला तिरैतिर’ भन्ने पंक्तिले आम नागरिकको चरम निराशा र राज्यप्रतिको अविश्वासलाई बुझाउँछ।

शनिवार दिउँसो जुम्लाको होटेल प्याराडाइजमा भए भव्य कार्यक्रमका बीचमा गायत तथा कलाकार अर्जुन सुनारको गीत सार्वजनिक भयो। निकै मेहनत साथ तयार गरिएको गीतले टिजर सार्वजनिक भएदेखि नै चर्चा बटुल्न सुरु गरिसकेको थियोे।

गीतले राजधानी देखि दूरदराजको नेपाल र त्यहाँका विपन्न नागरिकले भोग्नुपरेको चरम सामाजिक, आर्थिक तथा राजनीतिक उपेक्षाको कथालाई प्रतिकात्म रुपमा देखाउन सकेको प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताए।

उनका अनुसार समग्र रूपमा गीत र भिडियोले कर्णालीको आँसु, ग्रामीण नेपालीको रोदन र राज्य व्यवस्थाको तितो यथार्थलाई छर्लङ्ग पार्ने एउटा सशक्त सामाजिक ऐनाको काम गरेको छ। ‘गीतले उठाएका विषयवस्तु, यसको परिवेश र यसमा व्यक्त भावना यति गहिरा छन् कि यसले नेपाली समाजको एउटा सिङ्गो कालखण्ड र वकटको कथालाई पूर्ण रूपमा उजागर गर्न सफल भएको छ।’

गीतको केन्द्रीय कथ्य नेपालको कर्णाली क्षेत्रको भौगोलिक विकटता, राज्यको पहुँचबाट टाढा रहेको अवस्था र त्यहाँ व्याप्त चरम आर्थिक विपन्नतामा केन्द्रित रहेको गुठिचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापाले बताए।

कर्णालीबासीको गहिरो पीडा र अभावलाई प्रस्तुत गर्दै कसरी एक नागरिक आफ्नो थातथलो छोडेर परदेशिन बाध्य हुन्छ भन्ने कुरालाई मुख्य विषय बनाउनु नै गीत र कथाको सफलता भएको उनको भनाइ छ।

गीतमा कर्णाली क्षेत्रको स्थानीय लवज र मौलिक शब्दहरू समेटेको छ। उदाहरणका निम्ति ‘क्यान परदेश जानु पढ्यो?’ ‘आटो खाउँला, फाटो लाउँला’ लगायतका शब्दको प्रयोग भिजुवल अझ मार्मिक बन्न सकेको पत्रकार शुभाकर विश्वकर्माले बताए।

उनका अनुसार कोदो-मकैको खोले खाएर र च्यातिएकै कपडा भए पनि टालेर लगाउँला भन्ने पंक्तिले कर्णालीको जीवनस्तर र नेपाली समाजको एउटा सन्तोषी तर दयनीय चरित्रलाई जीवन्त रूपमा बिम्बित गरेको छ।

कर्णालीबासीहरू जस्तोसुकै दुःखमा पनि आफ्नो परिवारसँगै बस्न चाहन्छन् तर बाध्यताले परदेश जानुपर्ने आफ्नै भोगाइलाई गीतल उजागर गर्न सफल भएको राजनीतिज्ञ मनसुर सुनारले बताए।

‘गीतको सबैभन्दा शक्तिशाली र अर्थपूर्ण पक्ष राजनीतिक व्यवस्था र दलहरूमाथिको तीखो एवं आक्रोशपूर्ण व्यङ्ग्य हो,’ उनले भने, ‘गितमा कति छिटो आउँछन् तिम्रा रङ्गीबिरङ्गी झण्डा, अघि आइपुग्छन् गाउँमा मुना चामल भन्दा भनिएका पंक्तिहरूले नेपालको राजनीतिक बेथितिलाई नाङ्गो पारिदिएका छन्।’

चुनावका बेला भोट माग्न र सत्ताको स्वाद चाख्न राजनीतिक दलका कार्यकर्ता र नेताहरू गाउँगाउँमा झण्डा बोकेर जति छिटो पुग्छन्, अनिकाल पर्दा, रोग लाग्दा वा संकट आइपर्दा त्यहाँका गरिब जनताका लागि खाद्यान्न (मुना चामल) पुग्न वर्षौँ लाग्छ वा पुग्दै पुग्दैन भन्ने गीतको सन्देश अनुसार नै कथा तयार पारेको कथाकार राजेश विश्वकर्माले बताए।

उनका अनुसार यो विरोधाभासले राज्य संयन्त्रको असफलता र दूरदराजका जनताप्रतिको उदासीनतालाई स्पष्ट पार्छ। उनले भने, ‘आजको आधुनिक र प्रविधिको युगमा पनि न्यूनतम पूर्वाधार जस्तै बाटो, पुल र यातायातको साधन देख्न र चढ्न नपाईकनै मानिसहरूको आधा जीवन सकिइसकेको पीडालाई गीतले प्रस्ट पारेको छ।’

विकासको उज्यालो र राज्यको छहारीबाट सधैँ बञ्चित हुनुपर्दाको छटपटी र आक्रोश गीतका शब्द-शब्दमा स्पष्ट रूपमा झल्किएको देख्न सकिने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ। ‘वैदेशिक रोजगारीले नेपाली परिवारमा ल्याएको विखण्डन, मानसिक तनाव र भावनात्मक द्वन्द्वलाई गीतमा श्रीमान् र श्रीमतीबीचको संवादमार्फत निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ,’ उनले थपे।

कथामा श्रीमती आफ्नो श्रीमान्‌लाई परदेश (खाडी मुलुक) जानबाट रोक्न हरसम्भव प्रयास गर्छिन्। उनलाई धेरै धन, दौलत वा सुनचाँदीको लोभ छैन। उनलाई केवल आफ्नो जीवनसाथीको साथ र माया चाहिएको छ।

उनी श्रीमान्‌को साथ पाए दुःखजिलो गरेर, आधा पेट खाएर र पुराना कपडा लगाएर पनि जीवन काट्न तयार छिन्। यही पीडादायी भूमिकालाई जिवन्त बनाईकी छिन्, जुम्लाकी नवउदित कलाकार राज्यलक्ष्मी नेपालीले।

अर्कोतर्फ श्रीमान्‌को बाध्यता फरक र क्रुर छ। उनको थाप्लोमा साहुको ऋणको भारी छ, जसलाई तिर्नु उनको प्रमुख जिम्मेवारी हो। देशमा न त कुनै रोजगारीको अवसर छ, न त उनीहरूको ठूला र पहुँचवाला मान्छेसँग कुनै सम्बन्ध छ। श्रीमान्को भूमिका निभाएका छन्, गायक सुनार स्वयंले।

उनी ‘स्वर्ग छाडी मरुभूमि पसौँ म क्या गरि’ भन्दै आफ्नो सुन्दर मातृभूमि र हरियो वनजङ्गल छोडेर परदेशमा पसिना बगाउन जानु पर्ने बाध्यताले हरेक विपन्न नेपाली घरधुरीको यथार्थ कथा बोकेको छ। पैसा र पहुँच नहुने सामान्य नागरिकका लागि आफ्नै देशमा सास फेर्न समेत मुस्किल भएको अवस्थालाई गीतले दर्साएको छ।

गीतको मुख्य अंशका रूपमा रहेको ‘कहाँ पोखूँ कहाँ मनभरिको पीडा, मै बगाइ जाऊँ कि खोलै खोला तिरैतिर’ भन्ने पंक्तिले आम नागरिकको चरम निराशा र राज्यप्रतिको अविश्वासलाई बुझाउँछ।

जब मानिसले आफ्ना पीडा सुनिदिने कोही पाउँदैन, जब राज्य र समाज दुवैबाट ऊ अपहेलित हुन्छ, तब उसमा आफ्नो अस्तित्व नै मेटाइदिने वा नदीसँगै बगेर जाने आत्मसमर्पणवादी भावना पैदा हुने सामाजिक यथार्थतालाई गीतले देखाउन सकेको चन्दननाथ नगरपालिका -६ का वडा अध्यक्ष रवि थापाले बताए।

‘गीतमा कर्णाली नदीको बहाव जस्तै एउटा निरन्तर कारुणिक प्रवाह छ, जसले सुन्ने वा पढ्ने जोकोहीको पनि मन अमिलो बनाउँछ र भावुक तुल्याउँछ,’ उनले भने।

गीत नेपाली सङ्गीत र साहित्यको क्षेत्रमा एउटा बलियो सामाजिक तथा राजनीतिक दस्तावेज बन्न सक्ने कथाकार विश्वकर्माको दाबी छ। उनका अनुसार गीतले राज्यको केन्द्रीकृत मानसिकता, काठमाडौँ केन्द्रित विकास र पहुँचवालाहरूको मात्र हालीमुहाली चल्ने व्यवस्थामाथि गम्भीर र न्यायसङ्गत प्रश्न उठाएको छ।

गीतले देशको वास्तविक अवस्था, असमानता र श्रमशक्तिको पलायनबारे सोच्न बाध्य बनाउने गोठिचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुढथापाले थपे। उनले भने, ‘यसले केवल दुःख मात्र पोखेको छैन, सिंहदरबारको सत्तालाई कर्णालीको कुनाबाट चुनौती समेत दिएको छ।’

सामाजिक र राजनीतिक चेतना जगाउने सन्दर्भमा यो एक उत्कृष्ट, गहन र कालजयी सिर्जना हो, जसको सान्दर्भिकता नेपाली समाजमा लामो समयसम्म रहिरहनेछ।

समग्रमा गीत अत्यन्तै मार्किक बनेको थीत सार्वजनिक कार्यक्रमा पुगेका धेरै टिप्पणीकारको भनाई छ। गीतमा रविन भुसालको शब्द तथा संगीत रहेको छ भने पृष्ठभूमिको स्वरमा रविन भुसाल र महेन्द्र विकको साथ रहेको छ।

संगीत संयोजन पूर्ण सम्योगले गरेका छन्। तुलसी विश्वकर्माले भ्वाइस डबिङ, एचबीएन किस्मतले मिक्सिङ, मास्टरिङ तथा रेकर्डिङको काम गरेका छन्। अतिथि कलाकारका रूपमा टिकाराम सुनार र कालिबहादुर सार्की तथा बाल कलाकारमा रोशनी सुनारको अभिनय रहेको छ।

भिडियोको छायांकन प्रकाश विश्वकर्माले गरेका छन् भने ड्रोन सट प्रकाश उपाध्यायले खिचेका हुन। चलचित्रका निर्देशक आयुष शाही हुन् भने निर्माता दुर्गा रावत रहेकी छन्। त्यस्तै भिडियो सम्पादन मदन नेपालीले गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार