बिहीबार, २५ भाद्र, २०८३

नेपालमा बढ्दो मानसिक स्वास्थ्य संकट र हाम्रो जिम्मेवारी

कसैको जीवनमा सबैभन्दा कठिन क्षण कहिले आउँछ भन्ने हामीलाई थाहा नहुन सक्छ। तर त्यो क्षणमा उसको कुरा सुन्ने, साथ दिने र सही सेवासम्म पुर्‍याउने मानिस बन्ने अवसर हामीसँग हुन सक्छ।

कहिलेकाहीँ मानिसको जीवनमा समस्या यति भारी भएर आउँछ कि उसलाई अगाडि बढ्ने बाटो नै देखिँदैन। निराशा बढ्दै जान्छ, आफूलाई बोझ ठान्ने अवस्था आउँछ र ‘अब बाँच्न मन छैन’ भन्ने विचारसम्म पुग्न सक्छ। यस्तो बेला एउटा प्रश्न अत्यन्त महत्वपूर्ण हुन्छ, त्यो व्यक्तिको हात समात्न कोही छ कि छैन?

विश्वभर हरेक वर्ष सात लाखभन्दा बढी मानिसले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२१ मा मात्रै करिब ७ लाख २७ हजार मानिसले आत्महत्याका कारण मृत्यु वरण गरेका थिए। १५–२९ वर्ष उमेर समूहमा यो मृत्युको प्रमुख कारणमध्ये एक हो।

नेपाल पनि यस समस्याबाट अछुतो छैन। नेपाल प्रहरीका अभिलेखमा पछिल्ला वर्षहरूमा प्रत्येक वर्ष हजारौँ आत्महत्या मृत्यु दर्ता हुँदै आएका छन्। आर्थिक वर्ष २०८१/८२ मा ६,८६६ मृत्यु दर्ता भएको प्रकाशित तथ्याङ्कले पनि समस्याको गम्भीरता देखाउँछ।

तर यस्ता तथ्याङ्कलाई केवल संख्या भनेर हेर्न मिल्दैन। प्रत्येक संख्याको पछाडि एउटा व्यक्ति, एउटा परिवार र एउटा समुदायको कथा हुन्छ। त्यसैले अब हामीले मृत्युको तथ्याङ्क गन्ने मात्र होइन, जीवन जोगाउने प्रणाली कति बलियो बनायौँ भन्ने प्रश्न पनि उठाउनुपर्छ।

समस्या एउटै कारणले जन्मिँदैन

कुनै व्यक्तिले आफ्नो जीवन समाप्त गर्ने अवस्थामा पुग्नुका पछाडि एउटा मात्र कारण हुन्छ भन्ने बुझाइ गलत हो। मानसिक स्वास्थ्य समस्या, पारिवारिक कलह, सम्बन्धमा आएको संकट, आर्थिक कठिनाइ, बेरोजगारी, हिंसा, सामाजिक बहिष्करण, एक्लोपन, शोक, दीर्घरोग तथा पदार्थको दुरुपयोगजस्ता अनेक कारण एकअर्कासँग जोडिन सक्छन्।

डिप्रेसन, द्विध्रुवीय विकार, गम्भीर चिन्ता, आघातजन्य समस्या तथा अन्य मानसिक स्वास्थ्य अवस्थाले जोखिम बढाउन सक्छन्। तर आत्महत्याको प्रयास गर्ने प्रत्येक व्यक्ति मानसिक रोगबाट पीडित हुन्छ भन्ने निष्कर्ष पनि सही होइन। कहिलेकाहीँ औपचारिक मानसिक रोगको निदान नभएको व्यक्तिसमेत गम्भीर संकटको क्षणमा जोखिमपूर्ण निर्णयको अवस्थामा पुग्न सक्छ।

युवाको अवस्था अझ संवेदनशील छ। परीक्षा तथा शैक्षिक असफलता, प्रेम सम्बन्धमा समस्या, साइबर बुलिङ, सामाजिक सञ्जालको दबाब, परिवारको अत्यधिक अपेक्षा, बेरोजगारी, भविष्यप्रतिको अनिश्चितता, साथीभाइबाट अस्वीकार तथा आत्मसम्मानसम्बन्धी समस्या उनीहरूको मानसिक स्वास्थ्यमा गहिरो असर पार्न सक्छ।

त्यसैले ‘सानो कुरामा पनि यति ठूलो निर्णय?’ भन्ने प्रश्न गर्नुभन्दा पहिले त्यो ‘सानो कुरा’ उसको जीवनमा कति ठूलो पीडा बनेको थियो? भनेर बुझ्न आवश्यक छ।

संकेत देखिँदा मौन बस्नु सबैभन्दा ठूलो जोखिम

‘अब बाँच्न मन छैन’, ‘म मरेपछि सबै समस्या सकिन्छ’ जस्ता अभिव्यक्ति सामान्य रूपमा लिनु हुँदैन। अत्यधिक निराशा, आफूलाई बोझ ठान्नु, सामाजिक सम्पर्कबाट टाढिनु, मृत्युका विषयमा बारम्बार कुरा गर्नु, अत्यधिक मदिरा वा पदार्थ प्रयोग गर्नु, महत्वपूर्ण सामान अरूलाई बाँड्न थाल्नु वा विगतमा आत्महत्याको प्रयास गरिसकेको इतिहास हुनु जोखिमका महत्वपूर्ण संकेत हुन सक्छन्। यस्तो अवस्थामा ‘ध्यान खिच्न खोजेको होला’ भनेर बेवास्ता गर्नु हुँदैन।

बरु शान्त भएर कुरा सुन्नुपर्छ। आलोचना, दोषारोपण र धम्कीले समस्या समाधान गर्दैन। ‘यस्तो सोच्नु हुँदैन’, ‘जीवन त सबैको कठिन हुन्छ’ वा ‘तिमी कमजोर भयौ’ भन्नुभन्दा ‘म तिम्रो कुरा सुन्न तयार छु, तिमी एक्लो छैनौ’ भन्ने सन्देश बढी महत्वपूर्ण हुन्छ।

आत्महत्याबारे प्रत्यक्ष र संवेदनशील रूपमा सोध्दा त्यस्तो विचार पैदा हुन्छ भन्ने धारणा सही होइन। बरु व्यक्तिको मनमा त्यस्तो विचार, योजना वा तत्काल जोखिम छ कि छैन भन्ने कुरा बुझ्न प्रत्यक्ष संवादले मद्दत गर्न सक्छ।

तत्काल जोखिम देखिएमा व्यक्तिलाई एक्लै छोड्नु हुँदैन। सम्भावित खतरनाक साधनबाट टाढा राख्दै परिवारका विश्वासिला सदस्य र स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्छ। आवश्यकता परे नजिकको अस्पताल वा आकस्मिक स्वास्थ्य सेवामा तत्काल लैजानुपर्छ।

परिवारदेखि विद्यालयसम्म, सबैको भूमिका

मानसिक स्वास्थ्यको समस्या केवल स्वास्थ्य संस्थाको ढोकासम्म सीमित विषय होइन। परिवार यसको पहिलो सहारा हो। व्यक्तिको कुरा ध्यानपूर्वक सुन्ने, उसको भावनालाई सम्मान गर्ने, दोष नलगाउने र आवश्यक पर्दा विशेषज्ञ सेवामा जोड्ने वातावरण परिवारले बनाउन सक्छ।

विद्यालय पनि महत्वपूर्ण स्थान हो। विद्यार्थीको शैक्षिक उपलब्धिलाई मात्र प्राथमिकता दिएर पुग्दैन। उनीहरूको भावनात्मक अवस्था, परीक्षा तनाव, बुलिङ, पारिवारिक समस्या र सामाजिक सम्बन्धबारे पनि ध्यान दिनुपर्छ।

विद्यालयमा मनोसामाजिक सहयोग, परामर्श सेवा, जीवनोपयोगी सीप शिक्षा र शिक्षकलाई जोखिमका संकेत पहिचानसम्बन्धी तालिम आवश्यक छ। विद्यार्थीले समस्या बताउँदा सजाय वा अपमान होइन, सुरक्षित संवाद पाउने वातावरण बनाउनुपर्छ।

समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। नेपालमा धामी–झाँक्री, धार्मिक तथा सामुदायिक अगुवाजस्ता विश्वासिला व्यक्तिहरूले संकटमा परेका मानिससँग स्वास्थ्यकर्मीभन्दा पहिले सम्पर्क पाउन सक्छन्। त्यसैले उनीहरूलाई जोखिमका संकेत पहिचान गर्न र आवश्यक पर्दा स्वास्थ्य संस्थामा referral गर्न सक्षम बनाउनु उपयोगी हुन सक्छ।

मानसिक समस्यालाई केवल भूतप्रेत, अशुभ शक्ति वा चरित्रको कमजोरीका रूपमा व्याख्या गर्नुको सट्टा आवश्यक स्वास्थ्य सेवासँग जोड्ने संस्कार विकास गर्नुपर्छ।

उपचारभन्दा पहिले आवश्यक छ, समयमै पहिचान

आत्महत्या रोकथाममा एउटै औषधि वा एउटै उपचार पर्याप्त हुँदैन। व्यक्तिको अवस्था र जोखिमअनुसार मनोपरामर्श, मनोचिकित्सकीय उपचार, परिवारको सहयोग, संकट व्यवस्थापन र निरन्तर follow-up आवश्यक हुन सक्छ।

कग्निटिभ बिहेभियर थेरापी (CBT), समस्या समाधानसम्बन्धी परामर्श, पारिवारिक परामर्श, शोक परामर्श तथा संकट हस्तक्षेपजस्ता मनोसामाजिक उपाय उपयोगी हुन सक्छन्। डिप्रेसन, द्विध्रुवीय विकार, मनोविकृति, गम्भीर चिन्ता वा पदार्थ प्रयोगसम्बन्धी समस्या भएमा विशेषज्ञको मूल्याङ्कनअनुसार औषधि उपचार पनि आवश्यक हुन सक्छ।

तर नेपालमा चुनौती उपचारको मात्र होइन, सेवामा पहुँचको पनि हो। ग्रामीण तथा दुर्गम क्षेत्रमा मानसिक स्वास्थ्य विशेषज्ञको उपलब्धता सीमित छ। मानसिक स्वास्थ्यसम्बन्धी कलंकका कारण धेरै मानिस समस्या लुकाउँछन्। त्यसैले मानसिक स्वास्थ्य सेवालाई स्थानीय तहसम्म विस्तार गर्नु, स्वास्थ्यकर्मीलाई जोखिम मूल्याङ्कनसम्बन्धी तालिम दिनु र सुरक्षित referral प्रणाली बलियो बनाउनु आवश्यक छ।

यससँगै आत्महत्याका साधनमा पहुँच घटाउने नीति पनि महत्वपूर्ण हुन्छ। विश्व स्वास्थ्य संगठनले आत्महत्याको साधनमा पहुँच सीमित गर्नु प्रभावकारी रोकथाम उपायमध्ये एक मानेको छ। नेपालले २०१९ देखि उच्च जोखिमयुक्त २६ वटा विषादी प्रतिबन्धित गरेको तथ्य पनि यस दिशामा भएको प्रयासको उदाहरण हो।

मिडियाको भूमिका पनि कम महत्वपूर्ण छैन। समाचारमा घटनाको विधि वा विस्तृत विवरण, सनसनीपूर्ण शीर्षक तथा घटनालाई समस्याको समाधानका रूपमा प्रस्तुत गर्ने शैलीबाट जोगिनुपर्छ। बरु मानसिक स्वास्थ्य, सहयोग र उपचार प्राप्त गर्ने बाटोबारे जानकारी दिनुपर्छ।

अन्ततः प्रश्न एउटै हो, संकटमा परेको मानिसको हात कसले थाम्छ? आत्महत्या जटिल र बहुआयामिक समस्या हो। यसको समाधान व्यक्तिलाई मात्र जिम्मेवार बनाएर सम्भव छैन। परिवार, विद्यालय, समुदाय, स्वास्थ्य प्रणाली, सञ्चारमाध्यम र राज्य सबैको संयुक्त प्रयास आवश्यक छ।

हामीले मानसिक स्वास्थ्यलाई लुकाउने विषय होइन, कुरा गर्ने विषय बनाउनुपर्छ। समस्या लिएर आउने मानिसलाई कमजोर होइन, सहयोग खोज्ने साहसी व्यक्तिका रूपमा हेर्नुपर्छ।

कसैको जीवनमा सबैभन्दा कठिन क्षण कहिले आउँछ भन्ने हामीलाई थाहा नहुन सक्छ। तर त्यो क्षणमा उसको कुरा सुन्ने, साथ दिने र सही सेवासम्म पुर्‍याउने मानिस बन्ने अवसर हामीसँग हुन सक्छ।

किनकि कहिलेकाहीँ जीवन र मृत्युबीचको दूरी कुनै ठूलो चमत्कारले होइन, समयमै गरिएको एउटा फोन, एउटा संवाद, एउटा भेट र एउटा सहयोगी हातले तय गर्छ।

यदि कुनै व्यक्ति तत्काल आफूलाई चोट पुर्‍याउने जोखिममा छ वा आत्महत्या गर्ने योजना बनाएको छ भने उसलाई एक्लै नछोडी तुरुन्त नजिकको अस्पताल/आकस्मिक स्वास्थ्य सेवामा लैजानु वा स्थानीय आपत्कालीन सेवासँग सम्पर्क गर्नु आवश्यक हुन्छ।

(लेखक आचार्य कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मनोपरामर्शदाता हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार