चन्दननाथ नगरपालिका–४ मा विद्यार्थीको खेल प्रतिभा पहिचान गर्ने उद्देश्यले अन्तरविद्यालय वडा नं. ४ रनिङ शिल्ड प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
चन्दननाथ नगरपालिका–४ को आयोजनामा हुने प्रतियोगिताको सह–आयोजकमा सिद्धिविनायक बाल क्लब र प्राविधिक सहयोगीका रूपमा कर्णाली स्पोर्ट्स क्लब जुम्ला रहेका छन्।
‘विद्यार्थीको क्षमता पहिचान, समृद्ध वडा निर्माणको सुनौलो अभियान’ भन्ने नाराका साथ प्रतियोगिता असोज १ देखि ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्राथमिक तह (कक्षा १–५), निम्न माध्यमिक तह (कक्षा ६–८) र माध्यमिक तह (कक्षा ९–१२) का विद्यार्थीबीच विभिन्न खेल तथा अतिरिक्त क्रियाकलापमा प्रतिस्पर्धा गराइनेछ।
प्राथमिक तथा निम्न माध्यमिक तहमा १००, २००, ४०० र ८०० मिटर दौड, रिले, लङ जम्प, हाई जम्प, टग अफ वार, स्पुन रेस र स्याक रेसलगायतका खेल समावेश गरिएको छ।
कक्षा ६–८ तहमा फुटबल र कबड्डी तथा माध्यमिक तहमा ३ किलोमिटर दौड, क्विज, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुनेछन्। प्रतियोगिताको उद्घाटन समारोहमा मार्चपास प्रतियोगितासमेत आयोजना गरिनेछ।
आयोजकका अनुसार प्रतियोगितामा करिब ५ सय ५५ खेलाडी सहभागी हुनेछन्। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने २ सय ४५ खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने तयारी छ।
व्यक्तिगत विधाका विजेता खेलाडीलाई स्वर्ण, रजत र कांस्य पदकसहित प्रमाणपत्र प्रदान गरिनेछ। प्राथमिक तथा निम्न माध्यमिक तहका विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
समग्र वडा रनिङ शिल्डतर्फ प्रथम हुने विद्यालयले २० हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक तहका विजेता विद्यालयलाई ट्रफीसमेत प्रदान गरिनेछ।
कर्णाली स्पोर्ट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले विद्यालय तहबाटै विद्यार्थीको खेल प्रतिभा पहिचान गरी उचित अवसर र प्रशिक्षण दिन सके जुम्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने बताए।
‘खेलकुद विद्यार्थीको शारीरिक स्वास्थ्यसँग मात्रै जोडिएको विषय होइन, यसले अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र सकारात्मक सोचको विकाससमेत गर्छ,’ उनले भने, ‘विद्यालय तहमा हुने यस्ता प्रतियोगिताले लुकेर रहेका प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्छ।’
प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न क्लबले प्राविधिक पक्षबाट आवश्यक सहयोग गर्ने उनले बताए। उनले प्रतियोगितामा विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरे।
धावक हरि रोकायले पनि विद्यालय तहबाटै खेलाडीको क्षमता पहिचान गर्न सके भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने बताए। यस्ता प्रतियोगितालाई जित र हारमा मात्रै सीमित नराखी प्रतिभा पहिचान, खेलाडी उत्पादन र खेल संस्कृतिको विकास गर्ने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ।
‘विद्यार्थीलाई खेलकुदसँग जोड्न सके उनीहरूलाई विभिन्न कुलतबाट समेत टाढा राख्न सकिन्छ,’ रोकायले भने, ‘खेलकुदले विद्यार्थीमा अनुशासन र सकारात्मक सोच विकास गर्नुका साथै स्वस्थ जीवनशैली निर्माणमा सहयोग पुर्याउँछ।’
सिद्धिविनायक बाल क्लबकी अध्यक्ष पुस्तिका देवकोटाले विद्यार्थीको क्षमता पहिचान र समृद्ध वडा निर्माणको अभियानलाई केन्द्रमा राखेर प्रतियोगिता आयोजना गरिएको बताइन्। उनले असोज १ देखि ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा इच्छुक सबै विद्यार्थीलाई अनिवार्य रूपमा सहभागी हुन आग्रह गरिन्।
प्रतियोगिताले विद्यालय तहमा लुकेर रहेका खेल प्रतिभा पहिचान गर्नुका साथै विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना, अनुशासन, नेतृत्व क्षमता र खेलप्रतिको रुचि विकास गर्ने आयोजकको अपेक्षा छ।















