शनिबार, १६ जेष्ठ, २०८३

रातो नम्बर प्लेटका ६ सवारी साधन नियन्त्रणमा, एक साताभित्र कालो नम्बर प्लेट बनाउन निर्देशन

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले रातो नम्बर प्लेट भएका सवारी साधनमार्फत अवैध रूपमा यात्रु तथा सामान ओसारपसार भइरहेको पाइएपछि ६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरीले शुक्रबार बिहान ती सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक परामर्श तथा सचेतना प्रदान गरेको जनाएको छ। पहिलो पटक भएकाले सम्बन्धित सवारीधनी तथा चालकलाई सम्झाई–बुझाई गरी सोही दिन साँझ करिब ४ बजे छाडिएको कार्यालयले जनाएको छ। नियन्त्रणमा परेका सवारी साधनमध्ये दुई वटा राराली यातायातका रहेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रमुख सहि प्रकाश शाहीका अनुसार रातो नम्बर प्लेट भएका सवारी साधनलाई एक साताभित्र कालो नम्बर प्लेटमा रूपान्तरण गर्न निर्देशन दिइएको छ।

कार्यालयद्वारा जारी सूचनामा रातो नम्बर प्लेट भएका सवारी साधनले व्यावसायिक प्रयोजनका लागि यात्रु तथा सामान ओसारपसार नगर्न आग्रह गरिएको छ। तोकिएको समयभित्र नम्बर प्लेट परिवर्तन नगरेमा दर्ता भएको प्रयोजनअनुसार मात्रै सवारी साधन सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

ट्राफिक प्रहरीले निर्देशनको पालना नगरे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। साथै सम्पूर्ण सवारीधनी तथा चालकलाई सवारी साधन कानुनी प्रयोजनअनुसार मात्रै सञ्चालन गर्न अनुरोध गरिएको छ।

जिल्लामा सवारी साधनको दर्ता प्रयोजनविपरीत सञ्चालन हुने क्रम बढ्दै गएको गुनासो आएपछि निगरानी तथा अनुगमनलाई थप प्रभावकारी बनाइएको ट्राफिक प्रहरीको भनाइ छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार