कर्णाली कृषि तथा पशुपंक्षी फर्म एण्ड एग्रो मिलको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविर २०८२ को प्रगति प्रतिवेदन आठबीस नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतसमक्ष औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
गत असोज २५ देखि २७ गतेसम्म आठबीस नगरपालिका–४ का छ वटा विभिन्न स्थानमा सञ्चालित शिविरको प्रगति विवरण फर्मका सञ्चालक निरज कुमार माझीले पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएका हुन्।
प्रतिवेदन हस्तान्तरणसँगै आगामी २०८३ सालमा सञ्चालन हुने दोस्रो संस्करणका लागि आवश्यक समन्वय तथा सहजीकरण गरिदिन पालिका समक्ष औपचारिक समीक्षा निवेदन समेत पेस गरिएको छ।
’युवाहरूको हातमा स्वास्थ्यको अभियान, जागरुक समाज हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सञ्चालित पहिलो संस्करणको शिविरबाट वडा नं. ४ का विभिन्न गाउँ, बस्ती तथा बजार क्षेत्रका ३३१ जना नागरिकले स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ सेवा लिएका थिए।
जसमध्ये ५२ जनामा विभिन्न स्वास्थ्य समस्या पहिचान भई उनीहरूलाई समयमै स्वास्थ्य परामर्श, थप परीक्षण तथा उपचारका लागि सुझाव र प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो।
शिविरमा दक्ष स्वास्थ्यकर्मीहरूले निस्वार्थ सेवा पुर्याएको उल्लेख गर्दै सञ्चालक माझीले आगामी दिनमा सेवाको दायरा अझ फराकिलो बनाउँदै लैजाने बताए।
पहिलो संस्करणको सफलतापछि आयोजकले यस वर्ष कार्यक्रम विस्तार गर्दै वडा नं. १ देखि ६ सम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्य राखेको छ।
आगामी कात्तिक १२ देखि १७ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणमा सम्बन्धित वडाध्यक्षहरू तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहने जनाइएको छ।
कार्यक्रम सफल बनाउन नगरवासी, समाजसेवी, राजनीतिकर्मी तथा सबै सरोकारवालाको सहयोग आवश्यक रहेको आयोजकको भनाइ छ।
व्यावसायिक परियोजनासँगै सामाजिक उत्तरदायित्व बहन गर्दै युवाहरू समाज रूपान्तरणमा लाग्नुपर्ने धारणा राख्दै सञ्चालक माझीले भने, ‘धन आज नभए भोलि कमाइन्छ, तर मन सबैको राख्नुपर्छ।”
समाज परिवर्तन गर्न आफ्ना तर्फबाट सक्दो योगदान दिनुपर्छ भन्ने सोचका साथ यो अभियान अघि बढाइएको उनले स्पष्ट पारे।
प्रतिवेदन बुझ्दै आठबीस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कृषि फार्मको मानवीय तथा सामाजिक कार्यको प्रशंसा गरे।
उनले आगामी कार्यक्रमका लागि पालिकाका तर्फबाट आवश्यक प्रचारप्रसार, समन्वय र स्वास्थ्य शाखामार्फत ग्रामीण बस्तीका बिरामी पहिचान गरी शिविरमा अधिकतम सहभागिता जुटाउन विशेष सहयोग गर्ने प्रतिबद्धता जनाए।
















