अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका पाँच जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक सिताराम विष्टका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका निवासी ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ निवासी ४५ वर्षीय रामप्रकाश थारुको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अन्य तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।















