शुक्रबार, १५ जेष्ठ, २०८३

तुर्माखाँद गाउँपालिकामा नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै ३२८ जना लाभान्वित

अछामको तुर्माखाँद गाउँपालिकामा सञ्चालन गरिएको नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट सयौँ स्थानीय नागरिक लाभान्वित भएका छन्। दुर्गम भेगका नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा पहिलो दिनमै ३२८ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्।

गाउँपालिकाको आयोजनामा तथा विशेषज्ञ चिकित्सकहरूको सहभागितामा सञ्चालन भएको शिविरमा फिजिसियन, स्त्रीरोग, दन्त, छाला, आँखा लगायतका विभिन्न रोगसम्बन्धी सेवा प्रदान गरिएको थियो। शिविरमा सबैभन्दा बढी १२६ जनाले फिजिसियन सेवा लिएका थिए भने ५६ जनाले दन्त सेवा प्राप्त गरेका छन्।

त्यसैगरी ३८ जनाले स्त्रीरोग सम्बन्धी सेवा, १८ जनाले छाला रोग सेवा, ४४ जनाले आँखा जाँच सेवा तथा २६ जनाले भिडियो एक्सरे सेवा लिएका छन्। साथै ३ जनाको अपाङ्गता पहिचान समेत गरिएको आयोजकले जनाएको छ।

विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष उपस्थितिमा सञ्चालन गरिएको शिविरले ग्रामीण भेगका नागरिकलाई राहत पुगेको स्थानीयवासीहरूले बताएका छन्। सामान्य उपचारका लागि समेत जिल्ला सदरमुकाम वा बाहिर जानुपर्ने बाध्यता रहेको अवस्थामा गाउँमै विशेषज्ञ सेवा प्राप्त भएपछि स्थानीय नागरिक उत्साहित बनेका छन्।

शिविरमा उपचार गराउन आएका सेवाग्राहीहरूले आर्थिक अभाव र यातायातको कठिनाइका कारण समयमै उपचार गर्न नसकिएको अवस्थामा गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउनु ठूलो अवसर भएको प्रतिक्रिया दिएका छन्। विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा दीर्घरोगीहरू यसबाट बढी लाभान्वित भएका छन्।

गाउँपालिकाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। शिविरमा खटिएका स्वास्थ्यकर्मीहरूले दुर्गम क्षेत्रमा अझै स्वास्थ्य चेतनाको आवश्यकता रहेको भन्दै नियमित स्वास्थ्य परीक्षण गर्न स्थानीयलाई आग्रह गरेका छन्।

आयोजकका अनुसार स्वास्थ्य शिविर भोलि पनि बिहान ९ बजेदेखि सञ्चालन हुनेछ। साथै आगामी १७ गते वडा नं. १ रहफमा समेत शिविर आयोजना गरिने भएकाले सेवाको फाइदा लिन सम्पूर्ण स्थानीयवासीहरूलाई अनुरोध गरिएको छ।

दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न यस्ता शिविर प्रभावकारी बन्दै गएको स्थानीय सरोकारवालाहरूको भनाइ छ। गाउँमै विशेषज्ञ सेवा उपलब्ध हुँदा नागरिकको समय, खर्च र दुःख कम हुनुका साथै स्वास्थ्यप्रति जनचेतना समेत बढ्दै गएको देखिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार