शनिबार, १६ जेष्ठ, २०८३

तातोपानीने गिडीदहलाई अन्तर्राष्ट्रिय स्तरमा चिनायो

म निर्वाचित भएपछि कहिल्यै पनि ‘म कांग्रेसको मात्रै अध्यक्ष हुँ’ भनेर व्यवहार गरिनँ। सबै दल र जनतालाई समान व्यवहार गरेँ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईं राजनीतिक पृष्ठभूमि भएकाे परिवारका सदस्य हुन्। उनका बुबा मणिकृष्ण चाैलागाईं तीन पटक गाउँ पञ्चायकाे अध्यक्ष, त्यसपछि प्रधानपञ्च, क्षेत्रीय सदस्य, किसान संगठनकाे अञ्चल सभापति र गाविस अध्यक्षसमेत भएका थिए।

अध्यक्ष चाैलागाईं आफ्ना बुबाकाे समाज सेवा नै धर्म हाे भन्ने भनाइबाट प्रेरित भएका थिए। त्यहीअनुरुप उनी जनताकाे सेवामा लागेका कयौं उदाहरण भेटिन्छन्। तातोपानी गाउँपालिकामा हुने हरेक पल्टका झै-झगडा साम्य पार्न उनका उपस्थिति बलियाे मानिन्छ। कुलाे, वन, पानीका मुहानलगायत कारणले हुने झगडा मिलाउन उनी सधैँ अग्रसर रहे।

खस्कँदाे शिक्षा क्षेत्र सुधारकाे सेतु बनेका उनी तातोपानीमा कांग्रेसकाे संगठन राम्राे नहुँदा पनि विजयी हुन सफल भए। जसलाई उनले ४३ वर्षको तपस्या भनिरहेका छन्।

यसै सन्दर्भमा रहेर अध्यक्ष चाैलागाईंसँग कार्यक्रम सिंहावलोकनका लागि महेश नेपालीले गरेको विशेष कुराकानीको सम्पादित र परिमार्जित अंश यहाँ प्रस्तुत छ।

​तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसको सांगठनिक आधार कमजोर हुँदाहुँदै पनि तपाईं विजयी हुनुभयो। यो विजयको अन्तर्य वा मुख्य कारण के थियो?

नमस्कार र धन्यवाद। मेरो विजयको मुख्य आधार भनेको सामाजिक क्षेत्रमा मेरो विगत ४३ वर्षको निरन्तर लगानी हो। म राजनीतिमा निकै ढिलो गरी, अर्थात् वि.सं. २०६३ सालदेखि मात्रै नेपाली कांग्रेसमा आबद्ध भएको हुँ। त्यसअघि मेरो सम्पूर्ण जीवन सामाजिक सेवामै बित्यो। मैले दलगत राजनीतिभन्दा माथि उठेर गाउँपालिका र जिल्लाका हरेक समुदायसँग नङमासुको जस्तै आत्मिय सम्बन्ध बनाएँ। सांगठनिक जग कमजोर भए पनि जनताले मेरो त्यही सामाजिक पृष्ठभूमि र व्यक्तित्वलाई विश्वास गरेर मलाई निर्वाचित गराउनुभएको हो।

यसको मतलब, स्थानीय तहको निर्वाचनमा पार्टीभन्दा पनि व्यक्तिको सामाजिक पृष्ठभूमि र व्यक्तित्व बढी महत्त्वपूर्ण हुँदो रहेछ, होइन त?

एकदमै सही कुरा हो। स्थानीय तहमा जनताले प्रत्यक्ष काम गर्ने र सुख-दुःखमा साथ दिने व्यक्ति रोज्छन्। मेरो पारिवारिक र सामाजिक पृष्ठभूमि नै मेरो विजयको प्रमुख कडी बन्यो।

स्थानीय तहमा निर्वाचित भएर तपाईंले चार वर्ष बिताइसक्नुभएको छ। यो अवधिलाई आफूले गरेका काम र सिकाइका हिसाबले कसरी समीक्षा गर्नुहुन्छ?

सुरुमा निर्वाचित भएर आउँदा हामीमा एउटा फरक हुटहुटी र केही नयाँ ढंगले अब्बल पालिका बनाउने सपना थियो। तर, बाहिरबाट देखिने माहोल र भित्र छिरेपछिको प्रशासनिक एवं कानुनी यथार्थ निकै फरक हुँदो रहेछ। हामी सामाजिक क्षेत्रबाट आएकाले प्रशासनिक प्रक्रिया, बजेट निर्माण र कानुनी जटिलताहरूका बारेमा सुरुमा पर्याप्त ज्ञान थिएन।

करिब डेढ वर्ष त हामीलाई नीति, कार्यक्रम, बजेट निर्माण र कर्मचारी एवं राजनीतिक दलहरूसँग समन्वय कसरी गर्ने भन्ने कुरा सिक्नै लाग्यो। तर, सिकाइपछि हामीले सबैलाई समान व्यवहार गर्दै कामलाई गति दियौँ, जसले गर्दा पछिल्ला वर्षहरू सहज बने।

स्थानीय तहमा केन्द्र वा प्रदेशमा जस्तो औपचारिक प्रतिपक्ष हुँदैन। यस्तो अवस्थामा दलीय सन्तुलन मिलाएर काम गर्न कत्तिको सहज भयो?

हामी आफैँ राजनीतिक पृष्ठभूमिबाट आएका हौँ। म के ठान्छु भने, आफू सत्ता वा नेतृत्वमा पुगेपछि प्रतिपक्ष दलहरूलाई कहिल्यै तिरस्कार गर्नु हुँदैन। उहाँहरूलाई सँगसँगै लिएर, समन्वय र सहकार्य गरेर अगाडि बढियो भने मात्रै नेतृत्व अब्बल हुन सक्छ। “मै जगदम्बा हुँ, जे गर्छु मै मात्र गर्छु” भन्ने अहंकार राखियो भने काम गर्न निकै गाह्रो हुन्छ। हामीले तातोपानीका सबै राजनीतिक दलका अग्रज व्यक्तित्वहरूसँग निरन्तर समन्वय गरेकै कारण काम गर्न सफल भयौँ।

तपाईंहरूले शिक्षा क्षेत्रमा पनि केही ठोस सुधारका कोसिसहरू गर्नुभयो, यसको परिणाम र मुख्य समस्याहरू के-के थिए?

मेरो मूल मन्त्र नै ‘शिक्षामा सुधार नभई गाउँपालिका, जिल्ला र देश सुधार हुन सक्दैन’ भन्ने हो। हामी आउँदा गाउँपालिकाका २९ वटा विद्यालयहरूको भौतिक र व्यवस्थापकीय अवस्था दयनीय थियो। शौचालय, खानेपानी र कक्षाकोठाको अभाव थियो। शिक्षक दरबन्दीको ठुलो समस्या थियो भने विद्यार्थीहरू दिवा खाजाका नाममा पत्रु खाना (जंकफुड) खाइरहेका थिए।

हामीले नागरिक समाज, पत्रकार र राजनीतिक दलहरूलाई समेटेर पटक-पटक स्थलगत अनुगमन गर्यौँ र वास्तविक समस्या पहिचान गर्यौँ। मुख्य तीनवटा समस्या थिए:
सामुदायिक विद्यालय छोडेर संस्थागत (निजी) तिर आकर्षण बढ्नु,
दरबन्दी अभावका कारण समुदायले आफैँ पैसा उठाएर शिक्षक पाल्नुपर्ने बाध्यता,
कमजोर भौतिक संरचना (शौचालय, खानेपानी र कक्षाकोठाको अभाव)।


अहिले हामीले यी तीनै क्षेत्रमा व्यापक सुधार गरेका छौँ। भौतिक पूर्वाधार चुस्त बनाएका छौँ, विद्यालयहरू एकापसमा गाभेका (मर्ज गरेका) छौँ र दरबन्दी मिलानको काम भइरहेको छ।

हामीले विद्यालयहरूमा जंकफुड पूर्ण रूपमा निषेध गरेर स्थानीय रैथाने बालीमा आधारित दिवा खाजा कार्यक्रम सुरु गर्यौँ। यो मोडल अहिले कर्णाली प्रदेशकै नमुना बनेको छ। जुम्ला बाहिरका स्थानीय तहहरू पनि अहिले हाम्रो यो अभ्यास हेर्न र सिक्न तातोपानी आउने गरेका छन्।

पूर्वाधार विकास, स्वास्थ्य र अन्य क्षेत्रमा गाउँपालिकाका मुख्य उपलब्धिहरू के-के हुन्?

शिक्षाबाहेक हामीले प्रत्येक स्वास्थ्य संस्थाको सुदृढीकरण गरेका छौँ। स्वास्थ्य चौकीका भवनहरू र त्यहाँसम्म पुग्ने सडक सञ्जाल निर्माण गरेका छौँ।

सुशासन र व्यवस्थापनको क्षेत्रमा सबैभन्दा ठुलो उपलब्धि, हिजो गाउँपालिका र सबै वडा कार्यालयहरू भाडाका घरमा सञ्चालित थिए। अहिले तातोपानी गाउँपालिकाका कुनै पनि वडा कार्यालय भाडामा छैनन्। साना-ठुला जस्ता भए पनि हामीले आफ्नै सरकारी संरचना निर्माण गरेर त्यहीँबाट सेवा प्रवाह गरिरहेका छौँ। हामी सामाजिक र भौतिक विकासलाई सँगसँगै अगाडि बढाइरहेका छौँ।

​तातोपानी पर्यटकीय हिसाबले आकर्षक गन्तव्य हो, तर त्यहाँ पर्यटकबाट लिइने शुल्कमा विविधता र विभेद देखियो भन्ने गुनासो छ, किन यस्तो भयो?

हिजोका दिनमा तातोपानी धारा स्थानीय समुदाय र क्लबहरूको जिम्मामा थियो। हामी निर्वाचित भएको दुई वर्षपछि मात्रै यसलाई गाउँपालिका र वडाको मातहतमा ल्याउन सफल भयौँ। सुरुमा समुदाय र पालिकाबिच केही विवाद र डेलिगेसनका कुरा पनि भए।

अहिले पालिकाले पूर्ण स्वामित्व लिएपछि हामीले करिब १ करोड रुपैयाँ खर्च गरेर पौडी पोखरी (स्विमिङ पुल) सहितका भौतिक पूर्वाधार बनाएका छौँ। ठेकेदारको लापरबाहीले केही कुण्डहरू अझै अपुरो छन्। हाम्रो आन्तरिक स्रोत सीमित छ, तर आगामी एक वर्षभित्र तातोपानीको स्वरूप देखिने गरी परिवर्तन गर्ने योजनामा छौँ।

तपाईंहरू आउनुअघि ‘गिडीदह’ को चर्चा खासै थिएन, अहिले यो अन्तर्राष्ट्रिय स्तरसम्म चिनिएको छ। यसको प्रवर्द्धनका लागि के-स्ता योजना छन्?

हिजो गिडीदह (गिडीताल) स्थानीय समुदायमा मात्र सीमित थियो। निर्वाचित भएपछि वडा नं. ४ का अध्यक्षको सक्रियता र गाउँपालिकाको सहयोगमा हामीले पत्रकारसहित ८२ जनाको टोली लिएर त्यहाँ पुग्यौँ र पत्रकार सम्मेलन गर्यौँ। जुम्लाका पत्रकार साथीहरूकै कारण यसको राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रचार भयो।

अहिले हामीले गिडीदहको वातावरणीय मूल्यांकन (EIA) गरिसकेका छौँ। पदमार्ग र धर्मशालाहरू निर्माण भएका छन्। आउँदो असारमा हामी त्यहाँ विद्यार्थीहरूको देउडा गीत प्रतियोगितासहितका सांस्कृतिक कार्यक्रम गर्दै छौँ।

साथै, गिडीदहबाट ५५ मेगावाटको जलविद्युत् आयोजना निर्माणका लागि हामीले दुई वर्षअघि नै अनुमति दिइसकेका छौँ, जसको काम तीव्र गतिमा अघि बढिरहेको छ। अहिले फुलचाउनेसम्म सडक पुगेको छ, वातावरणीय मूल्यांकन भइसकेकाले अब त्यहाँबाट माथि ट्र्याक मात्रै ओपन गर्न सकियो भने पर्यटकहरू सहजै गन्तव्यमा पुग्न सक्नेछन्।

तपाईंहरूले सुरुमा ‘तातोपानी टाइम’ (समय पालना) र ‘खादा नलगाउने’ निर्णय गर्नुभएको थियो, यसमा कत्तिको सफल हुनुभयो?

यसमा हामी शतप्रतिशत सफल छौँ र यो सिंगो जिल्लाकै लागि एउटा उदाहरण बनेको छ। तातोपानी गाउँपालिकाको कार्यक्रममा कसैले खादा प्रयोग गर्दैनन् र कार्यक्रम ठ्याक्कै तोकिएको समयमै सुरु हुन्छ। म आफैँ पनि जुम्लाका अन्य जुनसुकै कार्यक्रममा जाँदा समयमै पुग्छु, ढिलो हुने भए म जाँदै जान्नँ।

इन्जिनियरिङ र एमबिएस पढ्ने विद्यार्थीका लागि ल्याइएको छात्रवृत्ति कार्यक्रम कत्तिको सफल भयो?

स्पष्ट भन्नुपर्दा, यो कार्यक्रममा हामी सफल हुन सकेनौँ र निर्णयबाट केही ब्याक (फिर्ता) हुनुपर्‍यो। हामीले विपन्न, दलित र पिछडिएको वर्गलाई लक्षित गरेर प्रतिविद्यार्थी १५ लाख रुपैयाँ छात्रवृत्ति दिने गरी बजेट राखेका थियौँ।

तर, एमबिएस वा इन्जिनियरिङ कोर्स पूरा गर्न ४० देखि ६० लाख रुपैयाँसम्म खर्च हुने रहेछ। पालिकाले १५ लाख दिए पनि बाँकी रकम गरिब परिवारले बेहोर्न सकेनन्। परिणामतः त्यो सरकारी कोटाको फाइदा हुनेखाने र धनी वर्गले मात्रै लिन खोजेपछि हामीले यो कार्यक्रम स्थगित गर्नुपर्यो।

गाउँपालिकामा रोजगारी र कृषिको क्षेत्रमा गैरसरकारी संस्थाहरूसँगको साझेदारी कस्तो छ? कतै कर्मचारी भर्नामा भागबन्डा भएको गुनासो त छैन?

केन्द्र र प्रदेश सरकारका योजनाहरू ल्याउन नेताहरूको चाकडी गर्नुपर्ने अवस्था छ। त्यसैले हामीले गैरसरकारी संस्थाहरू (NGOs/INGOs) लाई भित्र्याएर काम गर्यौँ। हाल पालिकामा ९ वटा संस्थाहरू कार्यरत छन्। सेभ द चिल्ड्रेन, युएनडिपी (UNDP) को ‘लक’ परियोजना, रिडास, सर्वोदय नेपाल र पेस नेपालजस्ता ठुला प्रोजेक्टहरू छन्।

हिजो माघ-फागुनमा हरियो साग नदेखिने तातोपानीमा अहिले साढे ३ सयभन्दा बढी पोलिहाउस (टनेल) बनेका छन्। कृषकहरूले बेमौसममा फर्सी, सिमी, प्याज र लसुन उत्पादन गरिरहेका छन्।

हिजो सौर्य ऊर्जा (सोलार) बाट नदीको पानी तान्ने करोडौँका आठवटा लिफ्ट सिँचाइ आयोजना अलपत्र र असफल थिए, किनकि घाम लाग्दा मात्र पानी आउँथ्यो। हामी आएपछि सोलार हटाएर केन्द्रीय प्रसारणको बिजुली जडान गर्यौँ। अहिले ३ वटा लिफ्ट आयोजना २४ सै घण्टा सफल रूपमा चलिरहेका छन्। थप ५ करोडको लगानीमा ६७ हेक्टर जमिन र स्याउ फार्म समेट्ने गरी ‘सिराफी लिफ्ट सिँचाइ’ को ठेक्का भई काम सुरु भइसकेको छ।

कर्मचारी भर्नाको कुरामा, युएनडिपी र सेभ द चिल्ड्रेन जस्ता संस्थाहरूले आफ्नै केन्द्रबाट निष्पक्ष भर्ना गर्छन्। ‘लक’ परियोजनाको हकमा कतै गाउँपालिकाले हस्तक्षेप गर्‍यो कि भन्ने भ्रम नहोस् भनेर हामीले यसको परीक्षा र छनोट मुख्य कार्यालय कालिकोटबाटै गराएका हौँ। यसमा हाम्रो वा पालिकाका कर्मचारीको कुनै संलग्नता छैन, सम्पूर्ण प्रक्रिया पारदर्शी छ।

स्थानीय तहका मुख्य चुनौती र अवसरहरू के-के देख्नुभयो?

सबैभन्दा ठुलो चुनौती भनेको ‘परनिर्भर मानसिकता’ हो। हाम्रा समुदायमा आफू केही नगर्ने, सबै कुरा सरकार वा अरूले नै गरिदेओस् भन्ने भावना बढेको छ। उदाहरणका लागि, हिजो लाम्रा गाउँमा कुलो खन्दा गाउँलेहरू सामूहिक रूपमा श्रमदान गर्थे, बजेट चाहिँदैनथ्यो।

मेरै कार्यकालमा ९ करोडको सिँचाइ कुलो आयोजना सफल भयो। तर, आज हिजो एक महिना श्रमदान गर्ने समुदायका मानिसहरू कुलो मर्मतका लागि एक दिन पनि जान मान्दैनन्, पालिकाले नै डोजर हालिदेओस् भन्छन्। लिफ्ट सिँचाइको बिजुली महसुलसमेत पालिकाले नै तिरिदियोस् भन्ने चाहना राख्छन्। यो परनिर्भरता चिर्नु ठुलो चुनौती हो।

गाउँपालिकाले आफ्नै बलबुतामा खानेपानीको समस्या समाधान गरेका उदाहरण के छन्?

बाहिरकामा लामो समयदेखि खानेपानीको ठुलो अभाव थियो। हामीले सुरुमा पुरानो लिफ्ट मर्मत गर्यौँ र अहिले ‘लक’ परियोजनाको सहयोगमा १ करोड रुपैयाँको बृहत् खानेपानी आयोजनाको उपभोक्ता समिति गठन गरी सम्झौताको अन्तिम चरणमा पुर्याएका छौँ। यस योजनामार्फत प्रत्येक घरधुरीमा ‘एक घर, एक धारा’ निर्माण हुनेछ र स्थानीयले आफ्नै कार्यकालभित्र स्वच्छ खानेपानी पाउनेछन्।

अब कार्यकालको एक वर्ष मात्र बाँकी छ, यो अवधिमा सम्पन्न गर्ने मुख्य योजनाहरू के-के छन्?

साना योजनाहरू हामीले सम्बोधन गरिसक्यौँ। अब ठुला र रणनीतिक योजनाहरू पुरा गर्नु छ:

बेलीब्रिज (पुल) निर्माण: वडा नं. ४ यातायातको सञ्जालबाट अलग्गिएको छ, गिडीखोलाबाट भारी बोक्नुपर्ने बाध्यता छ। भौतिक पूर्वाधार मन्त्री माधव चौलागाईँको पहिलो निर्णयबाट स्वीकृत साढे २ करोडको बेलीब्रिजका सम्पूर्ण सामग्री गाउँपालिकामा आइसकेका छन्। मौसमले साथ दिए आउँदो असारभित्रै यो पुल सञ्चालनमा आउनेछ।

त्रिवेणी-जाजरकोट सडक पुल: तातोपानी गाउँपालिकाभित्र वडा नं. १ देखि ७ सम्म सडक सञ्जाल जोडिए पनि पुल नहुँदा समस्या थियो। यसको स्रोत सुनिश्चित भइसकेकाले छिट्टै स्थानीय पूर्वाधार विभागबाट ठेक्का प्रक्रिया अघि बढ्दै छ।

प्रशासकीय भवन: हिजो क्याप्स कर्णालीको भवनमा अस्थायी रूपमा सरेर काम गरिरहेको गाउँपालिकाका लागि अहिले संघीय सरकारसँगको समन्वयमा ९ करोडको लागतमा भव्य ‘प्रशासकीय भवन’ को शिलान्यास भई काम सुरु भइसकेको छ।

तपाईंको मनमा रहेको तर कानुनी वा अन्य कारणले गर्न नसकेको कुनै अधुरो सपना छ?

मेरो सबैभन्दा ठुलो सपना गिडीदहसम्म गाडी पुर्‍याउने थियो। फुलचाउनेसम्म सडक पुग्यो, तर त्यहाँबाट माथि वन ऐन र कानुनी जटिलताका कारण रुखहरू काट्न नमिल्ने हुँदा सडक लैजान सकिएन। यदि मेरो कार्यकालमा त्यहाँसम्म सडक पुर्याउन पाएको भए मेरो सपना पुरा हुने थियो, तर अझै पनि कोसिस जारी छ।

अन्तिममा भनिदिनुस्, प्रभावशाली व्यक्तित्वका कारण आगामी निर्वाचनमा तपाईं पुनः गाउँपालिका अध्यक्षमा उठ्ने सम्भावना कति छ?

म आगामी निर्वाचनमा पुनः गाउँपालिकाको अध्यक्ष पदमा उठ्दिनँ। सबै जिम्मेवारी मैले मात्रै लिनुपर्छ भन्ने छैन। हिजो वि.सं. २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले तातोपानीमा एउटा सदस्य पनि जित्न सकेको थिएन। तर, वि.सं. २०७९ मा मेरो ५३ वर्षको सामाजिक लगानीका कारण हामीले तीनवटा वडाध्यक्षसहित गाउँपालिका जित्यौँ।

म निर्वाचित भएपछि कहिल्यै पनि ‘म कांग्रेसको मात्रै अध्यक्ष हुँ’ भनेर व्यवहार गरिनँ। सबै दल र जनतालाई समान व्यवहार गरेँ। म यहीँको स्थानीय बासी हुँ। भोलि जोसुकै अध्यक्ष भएर आए पनि तातोपानी र जुम्लाको विकासका लागि म बाहिरै बसेर सहयोग गर्न सधैँ तत्पर छु। तर, म पुनः उम्मेदवार बन्ने पक्षमा छँदै छैन।

यहाँले आफ्नो व्यस्त समय र तातोपानी गाउँपालिकाका गतिविधि मिडियामार्फत राख्ने अवसर दिनुभयो, धेरै-धेरै धन्यवाद।

मेरो र तातोपानी गाउँपालिकाका राम्रा पक्षहरू आम जनतामाझ पुर्‍याइदिनुभएकोमा तपाईं र तपाईंको मिडिया टिमलाई पनि विशेष धन्यवाद।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार