शनिबार, २८ कार्तिक, २०८३

आफू कमाउन व्यापारीहरू जनताको ज्यानै जोखिममा पार्दै, राज्य कहाँ छ ?

उद्योगी, व्यापारीहरूले आफू कमाउन सर्वसाधारणको स्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेका छन् । नागरिकले पैसासँगै ज्यानसमेत गुमाइरहेका छन् । जनताको जीउधनको रक्षा गर्नु सरकारको दायित्व र कर्तव्य हो ।

पछिल्लो समय खानपिनका कारण मानिसहरू रोगी बन्ने क्रम बढ्दो छ । खानपिनमा ध्यान नपुर्‍याउँदा पैसा र जीवन दुवै गुमिरहेको अवस्था छ । मिठो खाने लोभ वा बानीले हामीलाई मृत्यको मुखसम्म पुर्‍याइरहेको छ । जस्तैः भोक लागेमा, अरूले खाएको देखेमा वा अलिकति फुर्सद हुनासाथ हामी होटल, रेस्टुरेन्ट गई मःम, चाउमिन, पिज्जा, बर्गरलगायत खानेकुरा खान्छौँ । घरमा खाजा खानसमेत बाहिरबाटै डोनट, आलु चिप्स, निम्कीजस्ता खानेकुरा किनेर ल्याउँछौँ ।

थकाइ वा तिर्खा मेटाउन मदिरा, पेय पदार्थ सेवन गर्छौँ भने चिन्ता हुनासाथ धूम्रपान गर्छौँ । चाडपर्वमा खुसीयाली मनाउनसमेत मदिरा सेवन गर्दछौँ अनि बाहिरबाट ल्याइएका माछामासु, दही, दूध, मिठाई अधिक खान्छौँ । अहिले तिहारकै कुरा गरौँ । तिहारमा सबैभन्दा बढी खपत मिठाईकै हुन्छ । बजारमा मिठाई पसलहरूमा खुट्टा टेक्न नसक्नु भीडभाड देखिन्छ । सर्वसाधारणले पाँच सयदेखि लाखौँ खर्चेर मिठाई किनेर खाइरहेका छन् ।

तर, ती मिठाई केबाट, कसरी, कहिले र कहाँ बनेको हो ? मिठाई पसलबाहेक कसैलाई थाहा हुँदैन । मिठाई पसल बाहिरबाट जति सफा र आकर्षक हुन्छन्, मिठाई बनाउने ठाउँ त्यति नै दुर्गन्धित, फोहोर हुन्छ । मुसा मरेका ठाउँमा मिठाई बनाइन्छ । पकाउने भाँडाहरू महिनौँदेखि माझिएको हुँदैनन् त खुट्टाले कुल्चिएर मिठाई तयार पारिन्छ । मिठाई बनाउनेको र्‍याल, थुकसहित शरीरको फोहोरसमेत परेको हुन्छ ।

शरीरलाई हानिनोक्सानी पुर्‍याउने केमिकल, बिग्रिएका सामग्री प्रयोग गरेर मिठाई बनाइन्छ । डल्ला घिउ वा अखाद्य तेल मिठाईमा प्रयोग गरिन्छ र चिनी त कति हो कति । यसरी तयार पारिएको मिठाईको पसलेहरूले एकदमै महँगो मूल्य तोक्छन् । मिठाईको मूल्य सरकारले तोक्दैन । व्यापारीहरू आफूखुसी तोक्छन् । अनि महँगो मूल्यमा सर्वसाधारणले मिठाई किनी घर ल्याउँछन्, खान्छन् र खुवाउँछन् । मिठाई खानुञ्जेल त खाइरहूँजस्तो लाग्छ ।

त्यसको असर चाहिँ शरीरमा पछि देखिन्छ र दीर्घकालसम्मका लागि रहन्छ । मिठाई खाएकै कारण सुगरलगायत अनेकौँ रोगको सिकार हुनुपर्छ । र, जीवनभर अस्पताल धाइरहनुपर्छ । यता, माछामासु खाएमा शरीर तन्दुरुस्त हुने चिकित्सकहरू बताउँछन् । तर, पछिल्लो समय माछामासुकै कारण मानिसहरू अनेकौँ रोगबाट ग्रसित भइरहेका छन् । कानुनमा खुला रूपमा पशुपन्छी काटेर बेच्न मनाही छ । व्यापारीहरू भने जस्तोसुकै ठाउँमा पनि मासु काटेर बेच्छन् । यसको उदाहरण हो, भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौर ।

यहाँ खुला रूपमा खसी, बोका, च्याङ्ग्रालगायत काटेर बेचबिखन गरिँदै आएको छ । खुला रूपमा त काटिन्छ नै तर मासु राख्ने फ्रिज कहीँकतै छैन । अनि एक हप्ताअघि काटिएको मासु एक हप्तापछि समेत बेचिन्छ, तबसम्म त्यो मासु कुन अवस्थामा पुगिसकेको हुन्छ होला ? अनि यस्तो मासु खाँदा शरीरमा ताकत लाग्ला कि रोगी बनिन्छ ?

मासु व्यापारीहरू आफ्नो फाइदाका निम्ति जस्तोसुकै मासुसमेत बेच्छन्, चाहे महिनौँ दिन बासी, सडेगलेको नै किन नहोस् । पैसा चाहिँ मनलाग्दी असुल्छन् तर खसीको भनेर बोका, राँगाको भनेर भैँसी, बङ्गुरको भनेर सुँगुर र मरेका कुखुरा बेच्छन् । यस्तो मासु खाएपछि मानिसमा अल्पकालीन र दीर्घकालीन दुवै असर पर्दछ । केही वर्षयता बजारमा चिकेन, बफ र खसीको झोल मःम लोकप्रिय छ । बच्चादेखि बुढाबुढीसम्मले मःम खान्छन् ।

व्यापारीहरू त राम्रो मासु हालेर मःम बनाएको दाबी गर्छन् । कसलाई के थाहा मःममा कुहिएको, मरेका कुखुरा, भैँसी, राँगाको छाला पेलेर हालिएको हुन्छ भनेर । सरकारी निकायहरू त अनुगमन गर्दैनन् अनि व्यापारीहरूलाई त जेसुकै गरे पनि छुटै छुट छ नि । केही वर्षअघि काठमाडौँको कोटेश्वरस्थित एक मःम पसलमा कुकुरको मासु हालेर मःम बनाउने गरिएकोसमेत पाइएको थियो । अहिले पनि कतिपय मःम पसलमा यस्तै होला तर बजार अनुगमन कसले गर्ने ?

विद्यालय, कलेज, विश्वविद्यालय, अफिस, मठमन्दिरहरू बाहिर चटपटे, पानीपुरीको ठेलागाडा लस्कर हुन्छन् र त्यहाँ लाइन लागिरहेको देखिन्छ । घण्टौँ कुरेर भए पनि मानिसहरू चटपटे, पानीपुरी खाएरै छोड्छन् । ठाउँअनुसार एक प्लेट चटपटेको पचासदेखि दुई सय र एक प्लेट पानीपुरीको ६० देखि दुई सय रुपैयाँसम्म लिइन्छ । भुरादेखि ठूलासम्म चटपटे, पानीपुरी मिठो मानीमानी खाइरहेका हुन्छन् । अझ कतिपय अभिभावक त आफ्ना छोराछोरीसँगै यस्ता खानेकुरा खाइरहेको देखिन्छन् ।

चटपटे, पानीपुरीलाई मिठो बनाउन व्यापारीहरूले हड्डी खियाउने अजिनामोटोको प्रयोग गरेका हुन्छन् । शरीरलाई हानि पुर्‍याउने अखाद्य रङ प्रयोग गरी सस बनाउँछन् अनि पुरी फुलाउन अखाद्य सोडा र झोल बनाउन फोहोर पानीको प्रयोग गर्छन् । यस्तो खानेकुरा खाएपछि मानिसको हालत के हुन्छ होला ? आफैँ सोचौँ । बजारमा पाइलैपिच्छे भट्टी पसलहरू खुलेका छन्, त्यहाँ घरेलु मदिरा बेचिन्छ । त्यस्तो मदिरा कोदो, चामलबाट बनेको र शरीरलाई तातो बनाउने व्यापारीहरू दाबी गर्छन् । तर, घरेलु मदिरा पुराना र फोहोर कपडा, जुत्ता, राँगा भैँसीका हड्डी र युरिया मल मिसाएर बनाइएको हुन्छ ।

यस्तो मदिरा खाँदा मानिसका संवेदनशील वा महत्त्वपूर्ण अङ्गहरू कलेजो, फोक्सो, मिर्गौलामा सीधै असर पुग्छ । किड्नी फेल भई उपचार गराउन नसकेर बाटोमा मागिरहेका मानिसहरू त हामी सबैले देखेकै हौँ । खानेपानीदेखि हरेक वस्तुमा मिसावट छ । उद्योगी, व्यापारीहरूले आफू कमाउन वा धनी हुन सर्वसाधारणको स्वास्थ्य माथि गम्भीर खेलबाड गरिरहेका छन् ।

सोझासाझा नागरिकले भने पैसासँगै आफ्नो ज्यानसमेत गुमाइरहेका छन् । यसरी उद्योगी, व्यापारीलाई धनी बनाइदिँदा जनता मृत्युको मुखसम्म पुगिरहँदा राज्य कहाँ छ ? कि यो देशमा राज्य नै छैन ? राज्य भएको भए त यस्ता उद्योगी, व्यापारीहरूलाई कारबाही गर्नुपर्ने होइन र ? कि राज्यलाई जनता मरे पनि बाँचे पनि मतलब नै छैन ? सरकार जनताको अभिभावक हो, संरक्षक हो । जनताको जीउधनको रक्षा गर्नु सरकारको दायित्व र कर्तव्य हो । विडम्बना, सत्तामा बसेकाहरू आफ्नै मोजमस्तीमा रमाउँदा जनताले भने अकालमै ज्यान गुमाइरहेका छन् । त्यसैले, अब जनता आफैँ सचेत हौँ । यस्ता खानेकुरालाई बहिष्कार गरौँ । मिठो खोज्दा ज्यानै नसिध्याऔँ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार