बिहीबार, १९ कार्तिक, २०८३

‘तेरो बाउको गाडी हो?’ भन्दै कर्णालीका यात्रुमाथि बसभित्रै ज्यादती

कात्तिक १६ को साँझ। सुर्खेत बसपार्क आसपास संघीय राजधानी काठमाडौं जाने यात्रुको बाक्लो भीड थियो। कर्णालीका दुर्गम बस्तीहरूबाट लामो र कष्टकर यात्रा छिचोल्दै झरेका यात्रुहरू झिटीगुण्टा समातेर गाडी पर्खिरहेका थिए। त्यही भीडमा ‘आरामदायी सिट’ को आश्वासन पाएर कर्णाली प्रदेश ००१ ख ११९२ नम्बरको बस चढेका यात्रुहरूले यात्रा सुरु हुनासाथ चरम दुर्व्यवहार र अपमान भोग्नुपर्‍यो।

​देउती यातायात प्रालिसम्बद्ध उक्त बसभित्र सहचालकले यात्रुमाथि गरेको गालीगलौज र धम्कीको भिडियो यतिबेला सार्वजनिक भएको छ। भिडियोमा सहचालकले औँलो ठड्याउँदै यात्रुलाई ‘तेरो बाउको गाडी हो?’ भन्दै अश्लील शब्दसहित धम्क्याएको सुनिन्छ। महिला तथा बालबालिकासमेत सवार गाडीमा सहचालकको यस्तो अराजक व्यवहारले त्रसित बनेका केही बालबालिकालाई त गाडीबाटै ओर्लन बाध्य पारिएको यात्रुहरूको दाबी छ।

​जुम्लाबाट काठमाडौं जाँदै गरेका कलाकार धनराज सुनार घटनाका प्रत्यक्षदर्शी मात्र होइनन्, पीडित पनि हुन्। उनका अनुसार सुरुमा सिट खाली रहेको भन्दै यात्रु र उनीहरूका झोला तानातान गरिएको थियो। तर गाडी गुड्ने बेला भने दृश्य अर्कै भयो, एउटै सिटका लागि चार जनासम्मको टिकट काटिएको फेला पर्‍यो।

​’क्षमताभन्दा बढी यात्रु कोच्ने र सिट व्यवस्थापनमा मनपरी गर्ने त नियमित जस्तै भइसक्यो,’ सुनारले भने, ‘तर यसको विरोध गर्दा सहचालकले बालबालिका र महिलालाई समेत छाडेनन्, चरम गालीगलौज र धम्की दिए।’

​कर्णालीका जुम्ला, हुम्ला, मुगु, कालीकोट, दैलेख, अछाम र बाजुराबाट अध्ययन, रोजगारी र उपचारका लागि काठमाडौं आउजाउ गर्ने यात्रुको चाप अहिले बढेको छ। चाडपर्व सकिएलगत्तै राजधानी फर्किनेहरूको यही बाध्यताको फाइदा उठाउँदै केही यातायात व्यवसायी र बिचौलियाहरूले मनपरी भाडा असुल्ने र अभद्र व्यवहार गर्ने प्रवृत्ति पुरानै हो।

​भौगोलिक विकटता, कच्ची सडक र लामो दुरीको यात्रा आफैँमा जोखिमपूर्ण र थकाइलाग्दो हुन्छ। त्यसमाथि सेवा प्रदायकहरूको अमानवीय व्यवहारले कर्णालीवासीलाई सधैँ दोस्रो दर्जाको नागरिकको महसुस गराउने गरेको भुक्तभोगीहरूको गुनासो छ। टिकट काटेर पैसा तिरेका यात्रुलाई सुरक्षित र मर्यादित सेवा दिनु यातायात व्यवसायीको कानुनी दायित्व भए पनि कर्णाली रुटमा भने पुरानै सिन्डिकेट शैलीको दबदबा कायमै देखिन्छ।

​सार्वजनिक यातायातमा यात्रुमाथि हुने दुर्व्यवहार, दोहोरो टिकट बिक्री र ओभरलोड रोक्न सडकमा ट्राफिक प्रहरीका चेकपोस्टहरू थुप्रै छन्। सुर्खेतदेखि काठमाडौंसम्म दर्जनौँ ठाउँमा सवारी जाँच गरिन्छ। तर, यात्रु कोचेर लैजाने र सडकमै दादागिरी देखाउने यस्ता सवारीसाधनमाथि भने प्रभावकारी नियमन र कारबाही हुन सकेको छैन।

​यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी तथा स्थानीय प्रशासनको मौनताले यस्ता प्रवृत्तिका चालक-सहचालकको मनोबल झन् बढाएको छ। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि दोषीमाथि कारबाहीको माग त उठेको छ, तर यो घटना कुनै एउटा बस वा सहचालकको मात्र नभएर कर्णालीका यात्रुले वर्षौंदेखि भोग्दै आएको संरचनागत सास्तीको प्रतिनिधि दृश्य हो। नियमनकारी निकायले अब पनि कठोर कदम नचाल्ने हो भने कर्णालीवासीका लागि सडकको यो अपमान कहिल्यै रोकिने छैन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार