काठमाडौँ मेडिकल कलेज (केएमसी) ले कर्णाली प्रदेशबाट उपचारका लागि रिफर भएर आउने बिरामीलाई सम्पूर्ण उपचार शुल्कमा ५० प्रतिशतसम्म छुट दिने भएको छ। साथै कर्णालीका स्थानीय तहको सिफारिसमा आउने १०० जना अति विपन्न बिरामीलाई अस्पतालले पूर्ण रूपमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने भएको छ।
केएमसीका अध्यक्ष डा. सुनिल शर्मा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रजिस्ट्रार विश्वराज काफ्लेबीच भएको छलफलपछि यस्तो निर्णय गरिएको हो। सहमति अनुसार कर्णाली प्रदेशबाट रिफर भई आउने बिरामीलाई सिनामंगलस्थित केएमसी अस्पतालमा २५ प्रतिशत र भक्तपुरको दुवाकोटस्थित अस्पतालमा ५० प्रतिशत छुट प्रदान गरिनेछ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व रजिस्ट्रार काफ्लेले भौगोलिक विकटता र आर्थिक अभावका कारण उपचार पाउन कठिन भइरहेका कर्णालीवासीका लागि यो निर्णयले ठूलो राहत पुग्ने बताए।
‘कर्णालीबाट रिफर भएर राजधानी आउने अधिकांश बिरामी आर्थिक अभावकै कारण महँगो उपचार खर्च धान्न नसक्ने अवस्थामा हुन्छन्,’ काफ्लेले भने, ‘केएमसीसँग भएको यो सहमतिले दुर्गमका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। विशेषगरी स्थानीय तहको सिफारिसमा आउने १०० जना विपन्न नागरिकले निःशुल्क उपचार पाउने व्यवस्था निकै सराहनीय छ।’
यस्तै केएमसीका अध्यक्ष डा. सुनिल शर्माले सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम तथा पिछडिएको क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा सहुलियत दिने नीति अनुरूप यो निर्णय गरिएको स्पष्ट पारे।
‘कर्णालीका नागरिकले सामान्य उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने वा उपचारकै लागि जायजेथा बेच्नुपर्ने बाध्यताको अन्त्यका लागि हामीले सानो प्रयास गरेका हौँ,’ डा. शर्माले भने, ‘हाम्रा दुवै अस्पतालबाट कर्णालीका बिरामीलाई अधिकतम सहुलियत दिएर स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न हामी पूर्ण प्रतिबद्ध छौँ।’
यो व्यवस्था कार्यान्वयनमा आएपछि कर्णाली प्रदेशका बिरामीले स्थानीय तह तथा प्रदेशका स्वास्थ्य संस्थाको रिफरल कागजातका आधारमा सिनामंगल र दुवाकोट अस्पतालबाट तोकिएको छुट र निःशुल्क उपचार सुविधा पाउनेछन्।















