शनिबार, १५ कार्तिक, २०८३

ब्राजिलको राजनीतिक मोड र नेपालका लागि पाठ

बाह्य शक्तिको आड र नवउदारवादी आवरणमा राष्ट्रिय हित दाउमा राखेर गरिने राजनीतिको आयु क्षणिक हुन्छ। ब्राजिलमा दक्षिणपन्थी प्रवृत्तिको पतनले देखाएको छ, जनतालाई सधैँ भ्रममा राख्न सकिन्न; इतिहासको वास्तविक फैसला सचेत श्रमजीवी जनता र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने शक्तिले नै गर्नेछ।

​मानवताको भविष्य पुँजीवादको मुठीमा मात्र सुरक्षित छ र वामपन्थी विचार सधैँका लागि अप्रासंगिक भइसक्यो भन्ने एकपक्षीय भाष्य शीतयुद्धयता नवउदारवादी वृत्तबाट निरन्तर स्थापित गर्न खोजियो। संसारभरि सामाजिक न्याय र समाजवादी आन्दोलन रक्षात्मक अवस्थामा पुगेको दाबी गरिँदै गर्दा, ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलको पछिल्लो राजनीतिक परिदृश्यले त्यो भाष्यलाई पुनर्विचार गर्न बाध्य बनाएको छ।

श्रमजीवी जनता, गरिब र सीमान्तकृत समुदायको आवाज बनेका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाको पुनरागमनले एउटा स्पष्ट सन्देश दिएको छ, जबसम्म समाजमा विभेद, आर्थिक असमानता र बाह्य हस्तक्षेप रहिरहन्छ, तबसम्म जनपक्षीय राजनीतिको औचित्य समाप्त हुँदैन।

​तर, निर्वाचन परिणामपछिको घटनाक्रमले सत्तालिप्सा र लोकतान्त्रिक मूल्यप्रतिको उदासीनता कति घातक हुन्छ भन्ने अर्को पाटो पनि उजागर गरेको छ। पराजित पूर्वराष्ट्रपति जायर बोल्सोनारो र उनी निकटका समूहले देखाएको व्यवहार त्यसको ज्वलन्त उदाहरण हो। भ्रष्टाचार, शक्ति दुरुपयोग र लोकतान्त्रिक संस्थामाथिका प्रहारका कारण अदालती छानबिनको घेरामा परेपछि कानुनी दायित्वबाट भाग्न खोज्ने प्रवृत्ति त्यहाँ देखियो।

राहदानी जफत र देश छाड्न प्रतिबन्ध लाग्ने सम्भावनाबीच कानुनलाई छलेर बाह्य शक्तिको संरक्षण खोज्दै फ्लोरिडा पुग्ने कसरतले दक्षिणपन्थी शक्तिको वैचारिक खोक्रोपन र परनिर्भर चरित्र छताछुल्ल पारेको छ। शक्तिमा रहँदा कानुनलाई निजी हतियार बनाउनेहरू शक्ति गुमेपछि कसरी आफ्नै देशको न्यायप्रणालीबाट भाग्छन् भन्ने दृष्टान्त ब्राजिलले दिएको छ।

​ब्राजिलको यो घटना केवल एउटा देश वा व्यक्तिको उतारचढावमा सीमित छैन। यसले नवउदारवादी अर्थतन्त्रको आवरणमा राष्ट्रिय हितलाई दोस्रो प्राथमिकतामा राख्ने विश्वभरका राजनीतिक पात्रहरूको भविष्यप्रति पनि सङ्केत गर्छ। दुर्भाग्यवश, नेपालको राजनीतिक वृत्तमा पनि यस्तै प्रवृत्तिको छाया गहिरिँदै गएको छ।

राष्ट्रिय स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र र जनसरोकारका मुद्दालाई तिलाञ्जली दिएर बाह्य शक्तिको सामरिक तथा आर्थिक स्वार्थको पृष्ठपोषण गर्ने प्रवृत्ति पछिल्ला वर्षहरूमा मौलाएको देखिन्छ। नीतिगत भ्रष्टाचार, प्राकृतिक स्रोतको दोहन र परनिर्भर कूटनीतिलाई नै सफलता ठान्ने शासकहरूले ब्राजिलको हविगतबाट पाठ सिक्न जरुरी छ।

​इतिहास साक्षी छ, जनतालाई लामो समयसम्म भ्रममा राखेर वा बाह्य शक्तिको आड लिएर सत्ता र सुविधाको राजनीति सधैँ टिक्न सक्दैन। ब्राजिलमा अति-दक्षिणपन्थी उन्मादलाई जनताले जसरी मतपत्रमार्फत अस्वीकृत गरे र विधिको शासनले त्यहाँका शक्तिशाली भनिएका पात्रहरूलाई कठघरामा उभ्यायो, नेपालमा पनि राष्ट्रघात र जनविरोधी कार्यमा संलग्न शक्तिहरूको नियति फरक हुने छैन।

​तसर्थ, ब्राजिलको राजनीतिक रूपान्तरणले दिएको मुख्य सन्देश यही हो, जनता र मातृभूमिको सार्वभौमसत्तालाई दाउमा राखेर गरिने राजनीतिको आयु क्षणिक हुन्छ। ढिलो वा चाँडो, इतिहासको वास्तविक फैसला सचेत श्रमजीवी जनता र उनीहरूको स्वाधिनताको पक्षधर शक्तिले नै गर्नेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार