बुढेसकालमा आमाबुवाका लागि सबैभन्दा ठूलो सम्पत्ति सन्तानको उपस्थिति र सामूहिक हाँसो हो। विदेशको कमाइभन्दा परिवारको सामिप्यता ठूलो हुँदो रहेछ; सन्तानविहीन रित्तो घरमा तिहारको बाहिरी उज्यालोले मनको अँध्यारो र पीडा मेट्दैन।
सधैँझैँ यसपालि पनि घुमिफिरी आँगनमा तिहार आएको छ। गाउँबस्ती झिलिमिली बत्तीले सजिएका छन्। घरघरमा सयपत्री र मखमलीका मालाहरू लहलहाएका छन्। आँगनका डिलमा दियो बलिरहेका छन्। दिदीबहिनीहरू भाइटीकाको थाली सजाएर दाजुभाइ पर्खिरहेका छन्। कतै देउसी–भैलोको सुमधुर भाका गुञ्जिरहेको छ त कतै हाँसो र उमङ्गको रौनक छ। तर, बाहिर जति नै उज्यालो भए पनि मेरो घरभित्र भने तिहार पस्न सकेको छैन।
आँगन उस्तै छ, ढोका उस्तै छ, रातो माटोले लिपेका भित्ताहरू उस्तै छन्; केवल हराएको छ त घरलाई ‘घर’ बनाउने आफ्ना सन्तानहरूको न्यानो उपस्थिति। अनि सबैभन्दा ठूलो बज्रपात, ममतामयी आमा अर्थात् घरकी साक्षात् गृहलक्ष्मी गुमाएको वर्ष दिन पनि पुगेको छैन। जसको घरमा ज्येष्ठ नागरिकको छहारी हुन्छ, असली लक्ष्मीको बास त्यहीँ हुन्छ भनिन्छ। तर आज मेरो झुपडीबाट त्यो ममताको छहारी सधैँका लागि बिलाएको छ।
म आज आफ्नै मनसँग प्रश्न गरिरहेको छु, मेरा सन्तान कहाँ छन्? भाइको परिवार र टाढा रहेका दिदीबहिनी किन घर आइपुगेनन्?
छोरा सात समुद्रपारि परदेशको तातो बालुवामा पसिनासँग पैसा साटिरहेको छ। भाइटीकाको पावन दिनमा ऊ बहिनीको हातबाट निधारमा सप्तरङ्गी टीका थाप्नबाट वञ्चित छ। यता दिदीबहिनी पनि दाजुभाइको खाली निधार सम्झेर आँसु पुछिरहेका छन्। म मातृभूमिमा बसेर दिवंगत मातापिताको सम्झनामा छटपटाइरहेको छु भने मेरो छोरो जन्मभूमिको आँगन र साथीसङ्गीको साथ सम्झेर परदेशको साँघुरो कोठामा रोइरहेको होला। मेरो घर त केवल एक प्रतिनिधि पात्र मात्र हो; आज गरिबी, ऋण, बेरोजगारी र बाध्यताले थिचिएका हजारौँ नेपाली घरको साझा आत्मकथा यही हो। परदेशिनुको विवशताले परिवारहरूलाई एउटै आँगनमा उभिएर हाँस्न दिएको छैन।
छोरी पनि आफ्नै बाध्यताको घेरामा छिन्। कुनै छोरी पारिवारिक जिम्मेवारीले बाँधिएका होलान्, कुनै आर्थिक अभावले त कुनै दूरीको विवशताले। म आशावादी नजरले बाटोतिर हेरिरहन्छु। मनले भन्छ, ‘अहिले त दिदीबहिनी र छोरी आउलान्, निधारमा अक्षता र स्नेह लगाइदेउलान्, सबै सँगै बसेर सुखदुःख साटौँला।’ तर बाटो कुर्दै गर्दा साँझ पर्छ, बाटो सुनसान हुन्छ र निराशाको अँध्यारो छाउँछ।
चाडपर्वले ल्याउने वास्तविक हर्ष त बाल्यकालमै सकिँदो रहेछ। जब उमेर ढल्कँदै जान्छ र काँधमा जिम्मेवारीको भारी थपिन्छ, तब चाडपर्व खुसीभन्दा बढी अभाव सम्झाउने माध्यम बन्दा रहेछन्। यही आँगनमा छोराछोरी दौडिन्थे, छोरीले फूल टिपेर माला गाँस्थिन्, छोराले दियो बाल्थ्यो। दाजुभाइ–दिदीबहिनीबीच टीका लगाउने होडबाजी चल्थ्यो। परिवारका सदस्यहरूको अनुहार हेरेरै घर हाँस्थ्यो। आज लाग्छ, परिवारबिनाको घर र मुस्कानबिनाको अनुहार उस्तै उस्तै हुँदा रहेछन्।
चाडपर्वमा परिवारको जम्काभेट हुन नसक्नुभन्दा ठूलो पीडा अरू के हुन सक्छ? बाहिरबाट हाँसेर सबैलाई शुभकामना दिन्छु, तर भित्रभित्रै मन आफ्नाहरूको प्रतीक्षामा रोइरहेको हुन्छ। मोबाइलको सानो पर्दामा देखिने तस्बिर र भिडियो कलको आवाजले केही क्षण चित्त बुझाउला, तर त्यसले घरको शून्यता मेट्न सक्दैन। जसको हातमा टीकाको थाली छ, तर निधार थाप्ने सन्तान छैनन्; परिकार पाकेका छन्, तर बाँडेर खाने परिवार छैन, त्यो मनको रोदन कसले बुझ्ने?
त्यत्तिकैमा मोबाइल बज्छ। छोराको मधुरो स्वर सुनिन्छ, “बुबा, यसपालि पनि आउन सकिनँ। पढाइ सकिएको छैन, कामको चाप छ। चित्त नदुखाउनुहोला, म खर्च पठाइदिऊँला।”
सन्तानको प्रत्यक्ष सामिप्यता अगाडि त्यो कागजको पैसा कति फिक्का हुन्छ भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ। छोराले सम्झाउन खोज्छ, “फूपूहरू पनि आउनुभएनछ, तपाईंहरू एक्लै हुनुहुन्छ भनेर फोन गरेको बुबा।” म मनको भेल थाम्दै भन्छु, “केही छैन बाबु, आफ्नो ख्याल गर।” तर फोन काटिएपछि कोठाको मौनताले छाती अझै भारी बनाउँछ। छोराले पनि त परदेशको कोठामा आँसु लुकाएको होला। आमाको हातको खाना, बहिनीको टीका र बुबाको न्यानो अँगालो सम्झिँदा उसको मन पनि कति छटपटाएको होला!
धनधान्यकी देवी लक्ष्मीलाई मेरो एउटा विनम्र प्रश्न छ, तिमी समृद्धि दिने देवी हौ भने हाम्रा छोराछोरीलाई आफ्नै घरको आँगनमा पसिना बगाएर बाँच्ने वातावरण किन दिन सक्दिनौ? सन्तानले बुढेसकालका आमाबुवाको अनुहार हेर्न किन मोबाइलको स्क्रिन नै कुर्नुपर्ने? किन तिहारको उज्यालोमा आमाबुवाले आँसु पिएर रात काट्नुपर्ने?
संसार अनौठो छ। कतिपय घरमा अथाह धनसम्पत्ति छ, तर आत्मीयता छैन। टेबलभरि मिठाइका परिकार छन्, तर सँगै बसेर खाने सन्तान छैनन्। अर्कोतिर, आफ्नै माटोमा बसेर एक छाक जुटाउन संघर्ष गरिरहेका विपन्न परिवारहरू छन्, जसको मनमा माया त छ तर विवशताले बिछोडको खाडल खनेको छ। मेरो घरमा आज दियो बलेको छ, तर मनमा अँध्यारो छ। फूल फुलेका छन्, तर सम्बन्धको आँगन रित्तो छ।
हे लक्ष्मी! तिमी आउँछ्यौ भने महलमा होइन, मेरो यो जुम्लाको झुपडीसम्म आऊ। मलाई धनको थुप्रो होइन, परिवारको पुनर्मिलन देऊ। मलाई महँगा उपहार होइन, छोराछोरी र दिदीबहिनीको हातबाट निधारमा स्नेहको टीका थाप्ने सौभाग्य देऊ। बुढेसकालमा आमाबुवाका लागि सबैभन्दा ठूलो सम्पत्ति आफ्ना सन्तानको उपस्थिति हो। सबैभन्दा ठूलो दीपावली घरको झिलिमिली बत्ती होइन, परिवारको सामूहिक हाँसो हो।
यसपालिको तिहारले मलाई खुसीभन्दा बढी रिक्तता र पीडा दिएर गयो। साँच्चै, सबै चाडपर्वले उमङ्ग मात्र ल्याउँदा रहेनछन्; कहिलेकाहीँ आफ्ना मान्छेहरूको अभाव सम्झाएर आँखाभरि आँसु पनि दिँदा रहेछन्।
प्रार्थना छ, अर्को वर्षको तिहार आउँदा मेरो आँगनमा परदेशिएका सन्तानको पाइला परोस्। टाढिएका परिवारका सदस्यहरू एउटै छानोमुनि हाँसुन्। आज मेरो घरमा बाहिर तिहारको उज्यालो त छ, तर त्यो उज्यालोभित्र लुकेको मनको अँध्यारो कसैले देख्न सकेको छैन। सायद, यही नै मेरो यस वर्षको तिहारको वास्तविक आत्मकथा हो।
















