दैलेखको ठाटीकाँध गाउँपालिका–४, धनकोटमा धारिलो हतियार (हँसिया) प्रहार गरी एकै परिवारका पाँच जनालाई घाइते बनाइएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३६ वर्षीय बमबहादुर रावतलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार कात्तिक २२ गते बिहान करिब ५ बजे रावत स्थानीय चन्द्रबहादुर पुन मगरको घरमा पुगेर परिवारका सदस्यहरूमाथि हँसिया प्रहार तथा कुटपिट गरेका थिए। आक्रमणबाट चन्द्रबहादुरकी श्रीमती, बुहारी, दुई छोरी र तीन महिनाकी नातिनी घाइते भएका छन्।
हँसिया प्रहारबाट २५ वर्षीया बुहारी महेसरा पुनका दुवै हत्केला छिनिएका छन्। यस्तै चन्द्रबहादुरकी ४५ वर्षीया श्रीमती बिमा मगरको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ। बिमालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ।
घटनामा चन्द्रबहादुरकी २० वर्षीया छोरी लक्ष्मी पुन, २३ वर्षीया छोरी तिला पुन मगर र तिलाकी तीन महिनाकी छोरी जानकी रोक्का मगर घाइते भएका छन्। मध्यम अवस्थामा रहेका उनीहरूलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
घटनालगत्तै प्रहरी चौकी ठाटीकाँधबाट प्रहरी सहायक निरीक्षक लालबहादुर शाहीको कमान्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो।
घटनाको थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कडेलको नेतृत्वमा नौ जनाको प्रहरी टोली खटिएको छ।
आक्रमणको कारण भने खुल्न नसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
















