सोमबार, २३ कार्तिक, २०८३

बिदाको एक दिन, सिकाइका हजार पाठ

बालबालिकालाई सिकाउन सधैँ किताब र कक्षाकोठा नै चाहिँदैन; कहिलेकाहीँ एउटा खुला खेत, एक हल गोरु, माटोको सुगन्ध र उनीहरूसँगै हिँडेर संवाद गर्ने धैर्यवान् अभिभावक भए मनमा सिकाइका हजारौँ बीउ अंकुराउँछन्।

दसैँ–तिहारको लामो बिदा। सधैँझैँ यसपालि पनि घरका दुई साना नानीहरू आफ्नै संसारमा मस्त थिए, कहिले गल्लीमा गुच्चा खेल्ने, कहिले ब्याट-बल समातेर दौडिने, कहिले बाख्रा–गाईबस्तुको हेरचाहमा रमाउने त कहिले बिहान-साँझ गृहकार्यमा घोरिने। यसरी नै उनीहरूका बिदाका दिनहरू आफ्नै गतिमा बितिरहेका थिए।

हिजो गहुँ छर्ने दिन थियो। बिहान करिब सात बजेको हुँदो हो, हामी लेखतिर लाग्न तम्तयार थियौँ। दुवै जना पनि हामीसँगै जाने सुरसारमा देखिए।

मैले सोधेँ, “तिमीहरू पनि लेख जाने हो?” दुवैले एकै स्वरमा हौसिँदै भने, “अँ, जाने!”

उनीहरूको उत्साह देखेर मन रमायो। न्यानो लुगा लगाएर उनीहरू तयार भए। हामी पाँच जना, साथमा एक हल गोरु लिएर लेखको उकालो लाग्यौँ।

बाटोभरि उनीहरूको फुर्ती हेर्नलायक थियो। न थकाइको चिन्ता, न बाटो लामो भएको गुनासो। घरी एउटाले प्रश्न सोध्ने, घरी अर्कोले। कहिले खाजाको चर्चा, कहिले थकाइको गफ, त कहिले माथिबाट देखिने गाउँको दृश्य। त्यसमाथि डाँडाबाट टाढै आफ्नै घर ठम्याउँदै उनीहरू खुसीले चिच्याउँथे, “काका, त्यो हाम्रो घर हो है?” “हो नि!” भान्जाले सोधे, “लेख पुगेपछि के खाने? स्याउ, आरु कि नासपाती?”

यस्तै रमाइला कुराकानी गर्दै बाटो काटेको पत्तै भएन। हामी गाउँमाथिको धारा नजिक पुगिसकेका थियौँ।

धारामा पुगेपछि उनीहरूले पानीको बहाव नियाल्न थाले। पहिलेभन्दा अहिले पानीको मूल बढेको कुरा आफैँ तुलना गरे। पानीको चिसोपन र तातोपनबारे उनीहरूमा अनौठो कौतूहल जाग्यो। खोलाको पानीभन्दा मूलको पानी किन न्यानो लाग्छ भन्ने विषयमा उनीहरू आफै तर्क गर्न थाले। मलाई लाग्यो, बालबालिकाले वरिपरि जे देख्छन्, त्यसलाई केवल हेर्दैनन्; बुझ्न पनि खोज्छन्। उनीहरूका आँखामा संसार एउटा खुला पुस्तकझैँ हुन्छ।

लेख पुगेपछि त्यहाँ रहेको सानो घर देखेर एउटाले भन्यो, “आहा, नयाँ घर रहेछ है!” अर्कोले तुरुन्तै सच्यायो, “हैन, यो घर होइन, आटि हो! काका, होइन त?” मैले प्रस्ट्याइदिएँ, “हो नि, गाउँको स्थायी बसोबासलाई घर भनिन्छ भने लेखमा वस्तुभाउ र खेतीपातीका लागि बनाइएको यस्तो सानो घरलाई आटि भनिन्छ।” यसरी एउटा सामान्य शब्दबाटै उनीहरूले आफ्नो भूगोल, परिवेश र स्थानीय जनजीवनको पहिचान बुझे।

केही बेरमा चिया पाक्यो। चिया सुरुप्प पार्दै भान्जाले सोधे, “मामा, यसमा तैरिएका पात केका हुन्?” अर्काले लख काट्यो, “जडीबुटी हो है काका?” मैले भनेँ, “हो, यो जडीबुटी चिया हो। यसमा रामतुलसी र घोडेमच्चो उमालिएको छ, बजारिया चियापत्ती होइन नि!” दुवैले फेरि एक घुट्को चाखे र दंग पर्दै भने, “अँ, निकै मीठो रहेछ!” एउटा सामान्य चियाको कपले उनीहरूलाई स्थानीय वनस्पति, जडीबुटीको नाम र तिनको उपयोगिता चिनाइदियो।

अब सुरु भयो गहुँ छर्ने काम। उनीहरूको जिज्ञासाको भोक झन् बल्झियो। “यो के हो? त्यो के हो? यसले के काम गर्छ?” उनीहरूका अबोध प्रश्नको उत्तर दिँदै मैले हलो, जुवा, फालो, स्याउटो र हलुडोजस्ता परम्परागत कृषि औजारको नाम र काम बताएँ।

हलो जोत्ने मान्छेलाई हली भनिन्छ भन्ने कुरा पनि उनीहरूले पहिलोपटक चाल पाए। उनीहरू ती काठ र फलामका औजार हातले छाम्थे, नाम दोहोर्‍याउँथे। खेल्दै, हेर्दै र सोध्दै उनीहरू माटो र श्रमको संसारसँग एकाकार हुँदै थिए।

हलोले माटो पल्टाउँदै गर्दा भुइँमा अघिल्लो बालीका आलु भेटिए। मैले भनेँ, “लौ, आलु टिपेर जम्मा गर त!” दुवै जना कुद्दै आलु टिप्न थाले। माटो पन्छाउँदै भेटिएका आलु जतनसाथ थैलोमा राखे। खेतबारीमा उब्जिएको उत्पादनको एउटा दाना पनि खेर फाल्नुहुन्न र त्यसलाई व्यवस्थित रूपमा संकलन गर्नुपर्छ भन्ने पाठ उनीहरूले कुनै उपदेशबिना नै सिके।

केही बेरपछि उनीहरू आफै पानीको बोतल खोज्दै आए। दुवैका निधारमा पसिनाका थोपा टल्किरहेका थिए। मैले सम्झाएँ, “शारीरिक श्रम गर्दा शरीरबाट पसिनाको रूपमा पानी बाहिरिन्छ, त्यसैले बेलाबेलामा पानी पिउनुपर्छ।” उनीहरूले पानी पिए र फेरि आफ्नै धुनमा रमाउन थाले।

यसपछि उनीहरूको ध्यान छेउकै स्याउका रुखतिर तानियो। रुखमा पहिले टिप्न छुटेका केही स्याउ लटरम्म थिए। उनीहरूले स्याउ टिपे। हातहातमा राता स्याउ लिएर टोक्दै एउटाले भन्यो, “वा! कस्तो मीठो! लौ मामा, तपाईं पनि खानुस् न!” मैले पनि चाखेँ। साँच्चिकै निकै रसिला र स्वादिला थिए। अर्कोले थप्यो, “अस्तिका स्याउभन्दा यी त झन् मीठा रहेछन्! अस्ति सबै स्याउ नटिपेर रुखमै छोडेको भए आज पनि खान पाइने रहेछ नि!”

म मुसुक्क मुस्कुराएँ। उनीहरूले स्वाद मात्र लिएका थिएनन्, फलफूल पाक्ने प्रक्रिया र रुखमै प्राकृतिक रूपमा पाकेको फलको मिठासबारे आफ्नै अनुभवबाट जीवनोपयोगी ज्ञान हासिल गरिरहेका थिए।

काम गर्दागर्दै दिउँसो ढल्किसकेको थियो। खाना खाने बेला भयो। मैले गोरु फुकाइदिएँ। खाना खाँदा उनीहरूले सधैँभन्दा धेरै भात मागे। मैले जिस्क्याएँ, “आज त धेरै खाना खायौ नि, किन होला?” दुवैले पालैपालो भने, “मामा, आज धेरै भोक लाग्यो नि!” “आज धेरै काम गर्‍यौँ नि त, त्यही भएर!” मैले थपेँ, “बिहानैदेखि उकालो हिँड्यौ, माटोमा काम गर्‍यौ र बिहान केही खाएका पनि थिएनौ। ऊर्जा खर्च भएपछि शरीरलाई भोक लाग्नु स्वाभाविक हो।” किताबमा पढाइने क्यालोरी, शारीरिक श्रम र पोषणसम्बन्धी पाठ आज उनीहरूले आफ्नै शरीरको भोगाइबाट बुझिरहेका थिए।

दिउँसोको करिब तीन बजेतिर मैले सानो रेडियो बजाएँ। रेडियोमा देउसीभैलोका भाका घन्किरहेका थिए। भान्जाले कान ठाडो पार्दै भने, “मामा, भोलिदेखि त तिहार सुरु भयो है?” मैले सोधेँ, “तिमीलाई कसरी थाहा भयो?” उसले सहज जवाफ दियो, “रेडियोले भन्यो नि! देउसीभैलोको गीत पनि बजिरहेको छ।”

रेडियोको ध्वनि र सांस्कृतिक धुनबाट उसले समय र चाडपर्व नजिकिएको भेउ पाइसकेको थियो। सुनेर बुझ्ने र परिवेशको संकेतबाट निष्कर्ष निकाल्ने यो अर्को जीवन्त सिकाइ थियो।

साँझ पर्न थाल्यो। खेतबारीका औजार र अन्नपात आटिमा ओसार्नुपर्ने भयो। साना हातहरूले पनि सामान समात्न थाले। मैले भनेँ, “नबोक, तिमीहरूलाई गाह्रो हुन्छ।” उनीहरूले मानेनन्, “हामी सकिहाल्छौँ नि! छिटो काम सके पो समयमै घर पुगिन्छ।” कामप्रतिको जिम्मेवारी, सहकार्य र समयको अनुशासन उनीहरूले कुनै नैतिक शिक्षाको किताब नपढीकनै व्यवहारमा उतारिरहेका थिए।

दिन ढल्यो। काम सकेर हामी घर फर्कियौँ।

कक्षाकोठाको चार पर्खाल र पाठ्यपुस्तक मात्र सिकाइका अन्तिम सीमा होइनन्। घर, खेतबारी, वनजङ्गल, उकाली-ओराली, धारा, रेडियो र आत्मीय पारिवारिक संवाद सिकाइका विराट् पाठशाला हुन्। लेखको खेतमा गहुँ छर्दै गर्दा मैले माटोमा अन्नको बीउ मात्र छरेको थिइनँ; ती दुई बालमनमा श्रमप्रतिको निष्ठा, प्रकृतिप्रतिको प्रेम, स्थानीय पहिचान र जीवनोपयोगी विवेकका बीउ पनि रोपिरहेको थिएँ।

ती बीउ कहिले अंकुराउँछन् र कस्तो फल दिन्छन्, त्यो त भविष्यले देखाउला। तर एउटा सत्य प्रस्ट छ, बालबालिकालाई सधैँ पढाउनैपर्छ भन्ने छैन, कहिलेकाहीँ उनीहरूसँगै हिँडिदिए पुग्छ, उनीहरूका अनगिन्ती प्रश्न धैर्यपूर्वक सुनिदिए पुग्छ र प्रकृतिसँग रमाउन खुला छोडिदिए पुग्छ। किनकि जीवन आफैमा एउटा खुला विश्वविद्यालय हो र बालबालिकाको कौतूहल नै सिकाइको सबैभन्दा निष्कपट गुरु।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार