बुधबार, २५ कार्तिक, २०८३

आकासे तालदेखि दूध कुण्डसम्म: सरोज शाहीको लेन्समा कैद गरिएका तस्बिरहरु​

गुठीचौर गाउँपालिकाको -१ को घाट लेक प्रकृतिको यस्तो भूगोल हो, जहाँ पुग्दा थकान मेटिन्छ र आँखाहरू अलौकिक दृश्यमा हराउँछन्। समुद्री सतहदेखि ४,८६० मिटरको उचाइमा आकाशकै रङ सापट लिएर बसेको ‘आकासे ताल’ र ४,२८० मिटरमा अवस्थित पवित्र ‘दूध कुण्ड’ जुम्लाको हिमाली पर्यटनका अनमोल निधि हुन्।

​हिउँदमा सेताम्य र बर्खामा बैजनी–पहेंला हिमाली फूलहरूले सजिने यी तालहरू केवल आँखा लोभ्याउने गन्तव्य मात्र होइनन्, स्थानीय धार्मिक आस्थाका धरोहर पनि हुन्।

उकालो–ओरालो, विशाल पाटन, भेडीगोठ र छिनछिनमै बदलिने मौसमको सास्ती भुलेर पुग्ने जो-कोहीलाई यहाँको शान्तिले मोहित बनाउँछ। प्रचारप्रसारको पर्खाइमा रहेका यी दुई हिमताललाई फोटोग्राफर सरोज शाहीले आफ्नो क्यामेरामा यसरी कैद गरेका छन्।
​
गुठीचौरको घाट लेकस्थित आकासे ताल पुग्दा प्रकृतिले आफ्नो भव्य रूप प्रदर्शन गरेझैं लाग्छ। बादलका टुक्राहरू तालको कञ्चन पानीमा तैरिरहँदा यहाँ पुग्ने जो-कोही पदयात्री मोहित हुन्छन्।

​४,२८० मिटरमा अवस्थित दूध कुण्ड। स्थानीय जनविश्वास अनुसार यो ताल धार्मिक रूपमा अत्यन्तै पवित्र मानिन्छ। शान्त वातावरण, वरिपरि फैलिएका चट्टानी पहाड र कञ्चन जलधाराले यहाँको वातावरणलाई ध्यानमग्न बनाउँछ।

​कठिन तर रोमाञ्चक पदमार्ग। तालसम्म पुग्ने बाटोमा भेटिने विशाल पाटन, हिमाली जडीबुटी र स्थानीय गोठालाहरूको जीवनशैलीले यात्रालाई जीवन्त बनाउँछ। हिमालको फेदीमा चर्दै गरेका भेडाका बथानले यात्राको थकान भुलइदिन्छन्।

​चट्टानको काखमा शान्त ताल। वरिपरि नाङ्गा पहाड र हिउँका ढिकाहरूको बीचमा अवस्थित यी तालहरूले कर्णालीको हिमाली जनजीवन र भूगोलको वास्तविक कठोरता अनि सौन्दर्यलाई एकैसाथ उजागर गर्छन्।

​स्वदेशी तथा विदेशी पर्यटक पर्खिँदै। पदमार्गको व्यवस्थित विकास, आवास सुविधा र प्रचारप्रसार हुन सके आकासे ताल र दूध कुण्ड कर्णालीकै प्रमुख ट्रेकिङ गन्तव्य बन्न सक्ने सम्भावना बोकेका छन्।

​दुर्गम भूगोल, उच्च हिमाली हावापानी र सीमित पूर्वाधारका बाबजुद घाट लेकका यी हिमतालहरू साहसिक पदयात्रा र प्रकृतिका प्रेमीहरूका लागि स्वर्गीय अनुभव हुन्। फोटोग्राफर सरोज शाहीका यी तस्बिरहरूले जुम्लाको लुकेको सौन्दर्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय तहसम्म पुर्‍याउन पुलको काम गरेका छन्।

​(तस्बिरहरू : सरोज शाही)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार