मंगलवार, २४ कार्तिक, २०८३

राजधानीको दुर्दशाः सडकमै रंगोली, हरेक थोकमा परनिर्भरता

काठमाडौं उपत्यकावासीले फोहोर गर्छन्, अन्य जिल्लाका जनताले सास्ती खेप्छन् । पानी पनि बाहिरी जिल्लाबाटै ल्याउनुपरेको छ । खाद्यान्नका निम्ति पनि अन्य जिल्लामा भर पर्नुपरेको छ । दिगो योजनाबिना अव्यवस्थित बस्ती बस्दाको परिणाम हो यो ।

एक वर्षमा ३६५ दिन हुन्छ । त्यसमध्ये ३६४ दिन सरसफाइ गरेको देखिँदैन । तर, हिजो बेग्लै दृश्य थियो । कोही सडक पखालिरहेका थिए त कोही फुटपाथ । बिहान उज्यालो भएदेखि यो क्रम चलिरहेको छ । पानी हालेर सरसफाइ कार्यक्रम चलिरहेको थियो । अरू बेला पालिकाले बढार्नुपर्ने सडक सफा गर्ने सडक हिजो आफैँ सफाको कारण थियो, लक्ष्मी पूजा ।

लक्ष्मी पूजाका निम्ति धमाधम सडक बढार्ने, पखाल्ने कार्य व्यापक थियो । त्यो दृश्य देख्दा सडक हिँड्नेलाई पनि लाग्थ्यो–लक्ष्मी पूजामा मात्र सरसफाइ चाहिने हो ? अरू बेला फोहोरमै बस्दा हुने हो ? अर्को रोचक प्रसङ्ग के भने, मान्छेहरू सडकमा रंगोली बनाइरहेका थिए । रंगोली बनाउने त कम्पाउन्डभित्र होला नि ? सडक सवारी साधन र फुटपाथ पैदलयात्रीका निम्ति हो ।

तर, हिजो त्यहाँ रंगोली बनाएर पूजाआजा गरिएको थियो । काठमाडौंमा अधिकांश घर एकदेखि चार आनामा बनेको छ । सडकसँगै जोडेर घर बनाइएको छ । घरमा कम्पाउन्डका लागि समेत ठाउँ छोडिएको छैन । अनि पूजा गर्नका लागि सडकमा आइपुग्छन् । सडकमा लिपेर रंगोली बनाउँछन् । तिनको कारणले गर्दा हिजो पैदलयात्री र सवारी चालकलाई निकै सास्ती भयो ।

फुटपाथमा रंगोली बनाइँदा पैदलयात्री बीच सडकबाट हिँड्न बाध्य थिए । उनीहरूलाई गाडीले हानेको भए वा दुर्घटनामा परेको भए, कसले जिम्मा लिन्थ्यो ? यता, गल्ली गल्लीमा ट्राफिक जाम भएको थियो । फुटपाथ साझा हो । त्यो कसैले आफ्नो निजी प्रयोजनका लागि प्रयोग गर्न पाउँदैन । तर, फुटपाथ र सडकमा जताततै रंगोली बनाइएको थियो । दियो बालिएको थियो ।

फुटपाथमा टिकटक बनाउने यत्तिकै थिए । तिनलाई कारबाही गर्नुपर्दैन ? नगर प्रहरी के हेरेर बसेको ? अर्कोतिर, मिठाई पसलेले फुटपाथ ढाकेर सामान बेच्न राखेका छन् । तरकारीको क्रेट बिछ्याएर फुटपाथमा मिठाई बेच्न राखिएको छ । फुटपाथ मिठाई बेच्ने ठाउँ हो ? आफूलाई संघीय राजधानीको घरधनी भन्नेहरूसँग पूजा गर्ने ठाउँ छैन । फुटपाथमा लिपेर घरभित्र लक्ष्मी भित्र्याइन्छ ।

जबकि, गर्नुपर्ने आफ्नो निजी जमिनमा हो । तर, फुटपाथमा गर्छन् । अर्कोतिर, आफ्नो घरभित्र फोहोर गर्छन्, सडकमा ल्याएर थुपार्छन् । नगरपालिकाको गाडी नआउँदासम्म फोहोर थन्काउने ठाउँ समेत यिनीहरूसँग छैन । यदि बञ्चरेडाँडा र सिसडोलका स्थानीयले फोहोर फाल्न नदिने हो भने यहाँका घरधनीको हालत के हुन्छ ? संघीय राजधानीमा न फोहोर व्यवस्थापनको सुविधा छ न पानीको ।

काठमाडौं उपत्यकावासीले फोहोर गर्छन्, अन्य जिल्लाका जनताले सास्ती खेप्छन् । पानी पनि बाहिरी जिल्लाबाटै ल्याउनुपरेको छ । खाद्यान्नका निम्ति पनि अन्य जिल्लामा भर पर्नुपरेको छ । दिगो योजनाबिना अव्यवस्थित बस्ती बस्दाको परिणाम हो यो । उपत्यका एउटै कुरामा अगाडि छ–खेतीयोग्य जमिन मासेर घर बनाउनमा । यहाँ जताततै घर बनेको छ, त्यो पनि एकदेखि चार आनामा ।

घर निर्माणको न्यूनतम मापदण्ड समेत पालना भएको छैन । सडकमै जोडेर घर बनेको छ । अव्यवस्थित बस्तीका कारण खोलानाला जम्मै दुर्गन्धित बनिसकेको छ । उपत्यकावासीलाई पर्याप्त पानीको अभाव छ । उपत्यकामा फोहोर व्यवस्थापनको ठाउँ छैन । पूजा गर्नका लागि सडकमा आउनुपर्छ । यस्तो ठाउँलाई कसरी देशको राजधानी भन्ने ? यहाँका स्थानीयको घर भत्कियो भने भएको एकदेखि चार आना जग्गा बाटोमा जान्छ ।

अधिकांशले सडकको जग्गा मिचेर घर बनाएका छन् । तिनको दादागिरीअगाडि सरकार पनि लाचार छ । आफूलाई सुकिलामुकिला भन्ने यिनीहरूले एकातिर राज्यलाई दादागिरी देखाइरहेका छन्, अर्कोतिर डेरावाललाई लुटिरहेका छन् । कोठा, सटर, फ्ल्याटको मनलाग्दी भाडा लिएका छन् । दुलोजत्रो कोठाको पाँच हजारदेखि ३० हजार लिइन्छ । सटर र फ्ल्याटको भाडा लाखौँ छ ।

खाली सटर त लाखौँमा खरिदबिक्री हुन्छ । बत्ती, इन्टरनेट, पार्किङ, फोहोर, पानीको पैसा पनि मनलाग्दी लिइरहेको अवस्था छ । सरकारले महिनाभरको पानीको पैसा दुई सय लिन्छ, घरधनी कोठामा बस्नेसँग पाँच सय लिन्छन् । बत्तीको पैसा विद्युत् प्राधिकरणले तोकेभन्दा दोब्बर लिइन्छ । न डेरावाललाई न्यूनतम सुविधा नै दिइएको छ । भाडा लिन्छन्, लुगा सुकाउने ठाउँ हुँदैन ।

डेरावालका समस्यै समस्या छ । तिनलाई ठगेर राजधानीका घरधनीले बसीबसी खान पाएका छन् । सुकिलामुकिला बनेर हिँडेका छन् । डेरावाल र बाहिरी जिल्लाका जनता नभइदिने हो भने यहाँका घरधनीले आफ्नो वास्तविकता थाहा पाउँथे । पानी, फोहोर, खाद्यान्न हरेक कुरामा बाहिरी जिल्लामै भर पर्नुपर्ने बाध्यता उपत्यकावासीलाई छ । त्यसैले यहाँका घरधनीले फाइफूर्ति लगाउनु बेकार छ ।

वास्तवमै भन्ने हो भने काठमाडौंमा केही नै छैन । ७४ जिल्लाका जनता यहाँ सुविधा छ भनेर थुप्रिएका छन् । तर, के सुविधा छ ? यहाँ बस्नु भनेको रोग निम्त्याउनु हो । जताततै प्रदूषण छ । बाटोमा हिँड्न सकिँदैन । सडकमा निस्कियो, गाडीले किचेर मार्ने हो कि भन्ने डर । न पानीकै सुविधा छ । सरकारले रोजगारी दिन नसक्दा गाउँ छोडेर यहाँ आउने क्रम बढ्यो ।

बाटोघाटो गाउँघरमा पनि पुगेकै छ । अस्पताल, स्कुल गाउँघरमा पनि छ । तैपनि, मान्छे काठमाडौं छिर्ने क्रम रोकिएको छैन । मानवको बढी चाप हुँदा काठमाडौंले थेग्न नसक्ने अवस्था बनेको छ । तैपनि, सरकार यस विषयमा गम्भीर छैन । एकदेखि चार आना जग्गामा पाँचदेखि २४ तला घर निर्माणको नक्सा स्वीकृत भइरहेको छ । भक्तपुर नगरपालिकामा त पुराना घर भत्काएर नयाँ निर्माण गर्दा घर मर्मत भनिन्छ ।

थोरै जग्गामा सरकारको मापदण्डअनुसार घर बनाउन नपुग्ने भएपछि घर मर्मत भनेर सिफारिस गरिन्छ । जनप्रतिनिधि नै यस्तो भएपछि फुटपाथ, सडक कसरी व्यवस्थित हुन्छ ? घर मर्मत भनेपछि नक्सा पास गर्नुपर्दैन । राज्यलाई कर तिर्न पर्दैन । थोरै जग्गामा नयाँ घर ठडिन्छ । नेपालीहरू यस्ता छन् कि आफ्नो घरमा ताल्चा लगाउँछन्, खेतबारी बाँझो छोड्छन् ।

अनि यहाँ आएर फुटपाथ छेकेर पसल थाप्छन् । देशको संघीय राजधानी बर्खामा पानी पर्दा जलमग्न र हिउँदमा धुलाम्मे हुन्छ । यस्तो ठाउँमा आएर मान्छे महँगो बहाल तिरेर बसिरहेका छन् । २०७२ वैशाख १२ गते आएको भूकम्पमा १४ जिल्लामा सबैभन्दा बढी क्षति भएकोमा सबैभन्दा बढी उपत्यकामा जनधनको क्षति भयो । उपत्यकामा ज्यान गुमाउनेको सङ्ख्या ९ हजार थियो, १४ हजारमध्ये ।

कोरोना महामारीमा सबैभन्दा प्रभावित पनि काठमाडौं उपत्यका बन्यो । कोरोना लागेर सबैभन्दा बढी ज्यान गुमाउने पनि उपत्यका नै बनेको थियो । उपत्यकाभित्र यत्रो जोखिम हुँदा पनि न सरकारले देख्छ न जनताको चेत खुल्छ । उपत्यकालाई कसरी व्यवस्थित बनाउने ? सरकारसँग योजना छैन ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार