सवारीधनीले पाँच लिटर पेट्रोल भराउँदा चार लिटरमात्र भरिदिन्छन् । पैसा भने पाँचै लिटरको असुल्छन् । जिउँदो खसी केजीको पाँच सयदेखि सात सय रुपैयाँमा किनबेच हुन्छ । मासु व्यवसायीहरुले त्यही खसी काटेर प्रतिकेजी १४ सयदेखि १८ सय रुपैयाँमा बेचिरहेका छन्, त्यो पनि बाख्रा मिसाएर । तौलमा पनि गडबडी गरिन्छ ।
बजारमा महँगी एकदमै बढेको छ । खाद्यान्नदेखि हरेक वस्तुको मूल्य बढेको छ तर सामान भने गुणस्तरहीन रहेका आम नागरिकको गुनासो छ । तीन महिनाअघि प्रतिबोराको १९ सय रुपैयाँ रहेको जीरा मसिनो चामल अहिले २६ सय पुगेको छ । बोरामा २५ सय केजी लेखिएपनि २० देखि २३ केजीमात्र हुने गुनासो बढिरहेको छ ।
सरकारले खाना पकाउने एलपी ग्यासमा एक सय रुपैयाँ घटाएको धेरै दिन भइसकेको छ । तर, व्यापारीहरु अहिलेपनि ग्यासको मूल्य प्रतिसिलिण्डर २१ सय ६० रुपैयाँ लिन्छन् । ग्यासको तौल पनि कम हुने सर्वसाधारणको गुनासो छ । सिलिण्डरमा १४ केजी लेखिएपनि ग्यास भने १२ केजीमात्र हुन्छ ।
झन आधा सिलिण्डर ग्यासमा त पाँच केजीमात्र हुने गुनासो बढ्दो छ । नेपाल आयल निगमद्धारा निर्धारित पछिल्लो मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर एक सय ९४ र डिजेल एक सय ९२ रुपैयाँ छ । तर, पम्पहरुले पेट्रोलमा प्रतिलिटर एकदेखि पाँच रुपैयाँ र डिजेलमा तीन रुपैयाँ बढी असुलिरहेका छन् । यतिमात्र होइन, पेट्रोलियम पदार्थ सवारीसाधनमा भर्ने मेशिन वा मिटरसमेत बिगारिएको हुन्छ ।
सवारीधनीले पाँच लिटर पेट्रोल भराउँदा चार लिटरमात्र भरिदिन्छन् । पैसा भने पाँचै लिटरको असुल्छन् । जिउँदो खसी केजीको पाँच सयदेखि सात सय रुपैयाँमा किनबेच हुन्छ । मासु व्यवसायीहरुले त्यही खसी काटेर प्रतिकेजी १४ सयदेखि १८ सय रुपैयाँमा बेचिरहेका छन्, त्यो पनि बाख्रा मिसाएर । तौलमा पनि गडबडी गरिन्छ ।
राँगाको मासु प्रतिकेजी आठ सयदेखि नौ सय रुपैयाँमा बेचबिखन भइरहेको छ, त्यसमा पनि भैंसीको मासु मिसाइन्छ । कुखुराको मासु प्रतिकेजी साढे तीन सयदेखि पाँच सय रुपैयाँमा बेचबिखन भइरहँदा बर्ड फ्लु लागेका वा मरेका कुखुरासमेत बेचिरहेको छ । पेय पदार्थ (कोक, फान्टा, ड्यिुलगायत) केमिकल हालेर बनाइन्छ । यसको मूल्य उद्योगी वा व्यापारीले आफूखुशी तोक्छन्, सर्वसाधारण किनेर खान्छन् ।
तर, यस्ता पेय पदार्थले मानिसको स्वास्थ्यमा निकै हानि पुर्याइरहेको छ । घरेलु वा विदेशी मदिराको पनि खपत बढ्दो छ । मानिसहरु तनाव मेटाउन वा खुशी मनाउन मदिरा सेवन गर्छन्, यद्यपि मदिरा केबाट र कसरी बनाइन्छ ? प्रायजसोलाई थाहा हुँदैन । घरेलु मदिरा युरिया मलदेखि भैंसीको हड्डी, पुराना कपडा, जुत्तालगायत प्रयोग गरेर बनाइन्छ । र, मानाकै एक सयदेखि तीन सय रुपैयाँमा बेचबिखन गरिन्छ ।
यस्तो मदिरा सेवनले मानिसको किड्नी, फोक्सो, कलेजो, मुटु सिध्याउँछ । विदेशी मदिरामा पनि मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्याउने केमिकलको प्रयोग गरिएको हुन्छ । आजकल पानीपुरी, चटपटे जोकोही खान्छन् । बच्चादेखि बुढाबुढीसम्म चटपट, पानीपुरी मन पराउँछन्, खान्छन् । तर, चटपटेमा प्रयोग गर्ने सस केमिकल हालेर बनाइएको हुन्छ ।
पानीपुरीको झोल पनि फोहोर पानी प्रयोग गरेर बनाइन्छ । जसले स्वास्थ्यमा दीर्घ वा गम्भीर रोग निम्त्याउँछ । मःम, चाउमिन अधिकांशलाई मन पर्छ । मःम प्लेटको एक सयदेखि दुई सय रुपैयाँसम्म लिइन्छ । तर, मःममा कुहिएको मासु हाल्ने गरिएको गुनासो बढ्दो छ । दूध, दही, मही, घिउ, मह स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छन् । यसैको फाइदा डेरीहरुले उठाइरहेका छन् । दूधको नाममा पानीमा पाउडर मिसाएर बेचिन्छ । घिउमा पिठो मिसाइएको हुन्छ त महको नाममा सख्खर वा चिनीको झोल बेचिन्छ ।
डोनट, निम्की, आलु चिप्स जोकोहीलाई मन पर्छ । एउटा सानो डोनटको १५ देखि २० रुपैयाँ, एक पाउ निम्की वा आलु चिप्सको ५० सयदेखि एक सय रुपैयाँ लिइन्छ । डोनट र निम्की सोडा हालेर फुलाइएको हुन्छ । आलु चिप्समा बिग्रिएका आलु प्रयोग गरिन्छ । अनि एउटै तेलमा यी सबै चिज तारिन्छ । बच्चादेखि बुढासम्म मन पराउँछन्, मिठाई ।
चाडपर्व वा खुशीयालीका बेला मिठाई खाइन्छ । त्यही मिठाईले मानिसको ज्यानैसमेत लिइरहेको अवस्था छ । मिठाईमा अधिक चिनी र अनेकौं केमिकलको प्रयोग गरिएको हुन्छ । मिठाई बनाउँदा प्रयोग हुने तेल अखाद्य हुन्छन् । एउटै तेलमा सबै कुरा पकाइन्छ । मिठाई राम्रो देखाउन विभिन्न रंग हालिन्छ । जसले स्वास्थ्यमा गम्भीर हानि पुर्याउँछ ।
होटल, रेष्टुरेन्टमा मासु भातको प्लेटकै तीन सयदेखि आठ सय रुपैयाँसम्म असुलिन्छ । पार्टी प्यालेन्सहरुले प्लेटको १५ सयदेखि तीन हजारसम्म लिन्छन् । तर, खसीको मासु भनेर बाख्रा, बोकाको बेचिन्छ । अर्डर गरेपछि खानैपर्छ, नखाएपनि पैसा तिर्नैपर्छ । खाउ कसरी खाउ, नखाए पैसा दिनैपर्छ । अनि बाध्यताले खाएपनि मानिस त्यस्ता खाना खान्छन् ।
यता, भाटभटेनी, सुपरमार्केट, बिग मार्टहरुमा सामानहरु आकर्षक ढंगले राखिएका हुन्छन्, देख्दै किन्न मन लाग्छ । सामान किनेपछि भने पछुताउनुछ । बाहिर प्याकेजमा म्याद बाँकी नै हुन्छ, भित्र चाँहि किरा परिसकेको हुन्छ । सडेको, गलेको हुन्छन् । यसले जनता लुटिएका मात्र छैनन्, उनीहरुको स्वास्थ्यमाथि खेलबाड भइरहेको छ तर अनुगमन कसले गर्ने ?
सरकारी निकायहरु निदाएर बसेका छन् । देशमा स्थानीय, प्रदेश र संघीय सरकार छन् । विडम्बना, जनता लुटिएको ठाउँमा तीनै तहको सरकारको आँखा जाँदैन । व्यापारीले जस्तोसुकै सामान जतिसुकै मूल्यमा बेचेपनि सरकार अनुगमन गर्छ न कारबाही । जसका कारण व्यापारीहरुले मनोबल झनै बढेको छ । सरकार भन्छ–कुनै पनि वस्तु वा सेवाको मूल्य तिरेपछि बिल अनिवार्य लिनू । व्यापारीहरु सामान बेच्छन् तर बिल दिँदैनन् ।
ग्राहकले माग्दा उल्टै गाली गर्छन् । यता, सामानको बढी मूल्य लिएमा सरकार बिलसहित उजुरी गर्नुस् भन्छ । अनि बिल नभएपछि जनताले कसरी उजुरी गर्ने ? फेरि बिलबिना उजुरी पनि लिइँदैन । सरकार कानूनको रटान लगाउँछ तर व्यापारीको हकमा कुनै कानून लागू नहुँदा राज्य मौन छ । सरकारका कुनै पनि निकाय यसतर्फ गम्भीर छैनन् ।
किनकि सरकारमा बसेकाहरु नै व्यापारीहरुसँग मिलेका छन् । बजार अनुगमन गर्नुपर्ने कर्मचारीहरु व्यापारीसँग दशैंमा उपहार लिन्छन्, राजनीतिक दलहरु चन्दा उठाउँछन् । अनि कसले अनुगमन गर्ने ? सरकारी निकायलाई नै हातामा लिएर व्यापारीहरु सर्वसाधारण उठिरहेका छन् । यसले जनता त लुटिरहेकै छन्, सँगै राज्यसमेत राजस्वविहीन बनेको छ ।
बालेन सरकारको यसतर्फ ध्यान जाओस् । बजार अनुगमन गर्न टोली खटाओस् । जथाभावी मूल्य असुल्ने, गुणस्तरहीन सामान बेच्नेलाई कडा कारबाही गरियोस् । साथै, हरेक सामानको मूल्य अब सरकारले नै तोक्ने व्यवस्था मिलाइयोस् । यसो गरिएमा महँगी घट्छ, राज्यले पनि राजस्व पाउँछ । व्यापारीसामु सरकार लाचार होइन, शक्तिशाली बनोस् ।
रुषा थापा















