रासुवामा भदौ १० गते आएको बाढीपहिरोमा परी प्रभावित तथा सम्पर्कविहीन जुम्ली नागरिकका लागि जुम्लाका युवाहरूले राहत संकलन अभियान थालेका छन्। ‘वेक अप जुम्ला’ र ‘जुम्ली युथ मुभमेन्ट’को अगुवाइमा सुरु गरिएको अभियानमा नगदभन्दा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री संकलनलाई प्राथमिकता दिइएको छ।
अभियन्ता अनुप थापाका अनुसार अभियानअन्तर्गत जुम्लाका विभिन्न स्थानमा पुगेर पीडितका लागि आवश्यक सामग्री संकलन भइरहेको छ। अभियानमा कसैले चामल दिएका छन्, कसैले खानेतेल र कसैले चाउचाउ। युवाहरूले संकलित सामग्रीको विवरणसहित सहयोगीको नाम र सम्पर्क नम्बरसमेत अभिलेख राखिरहेका छन्।
‘पैसा दिनुभन्दा आवश्यक सामान नै दिऔँ’ भन्ने उद्देश्यसहित अभियान अघि बढाइएको थापाले बताए। ‘कसैले चामल दिएका छन्, कसैले तेल, कसैले चाउचाउ। हामीले पैसाभन्दा सामानमै फोकस गरेका छौँ,’ उनले भने, ‘संकलित सामग्री पीडितहरूलाई नै दिने गरी अभियान चलाएका हौँ।’
अभियान सदरमुकाममा सीमित छैन। युवाहरू विभिन्न गाउँ तथा स्थानीय तहमा पुगेर पनि राहत संकलन र सहयोगको काम गरिरहेका छन्। पछिल्लो समय पातारासी गाउँपालिकाका वडा ६ र ७ मा समेत युवाहरू पुगेर अभियान सञ्चालन गरेका थिए। यसअघि कृष्ण मन्दिर क्षेत्रमा पनि राहत संकलन गरिएको थापाले जानकारी दिए
।
युवाहरूले राहत अभियानलाई अन्य सामाजिक कामसँग पनि जोड्दै आएका छन्। उनीहरू जुगाड खोला सरसफाइ अभियानलगायतका गतिविधिमा समेत सहकार्य गर्दै आएका छन्। थापाका अनुसार ‘वेक अप जुम्ला’ र ‘जुम्ली युथ मुभमेन्ट’का युवाहरूले आफूले सकेको सहयोग जुटाउँदै विपत्तिमा परेका जुम्ली नागरिकसम्म राहत पुर्याउने प्रयास गरिरहेका छन्।
रासुवाको बाढीपहिरोपछि जुम्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि पुगेका धेरै नागरिक प्रभावित भएका छन्। कतिपयको अवस्था अझै यकिन हुन नसकेको अवस्थामा स्थानीय युवाहरूले आफ्नो क्षेत्रका पीडितलाई सहयोग गर्न अभियान अघि सारेका हुन्।
संकलित राहत सामग्री सम्बन्धित पीडितसम्म पुर्याउने र सहयोगको विवरण पारदर्शी राख्ने उनीहरूको तयारी छ। विपद्का बेला स्थानीयस्तरबाट जुटेको यस्तो सहयोगले प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन सहज हुने युवाहरूको विश्वास छ।















