मंगलवार, १ मंसिर, २०८३

मुगु जिप दुर्घटना : उपचारका क्रममा थप एक जनाको मृत्यु, ज्यान गुमाउने ४ पुगे

मुगुमा आइतबार भएको जिप दुर्घटनामा सख्त घाइते भएकी एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचाररत अन्जु थापाको सोमबार दिउँसो करिब १ बजे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थापाका अनुसार उनको मृत्युसँगै उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

दुर्घटनालगत्तै घाइते थापालाई जिल्ला अस्पताल मुगु लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत पुर्‍याइएको थियो ।

सुर्खेतबाट थप उपचारका लागि सेनाकै स्काई ट्रकमार्फत उनलाई ललितपुरस्थित बीएन्डबी अस्पताल पठाइएको थियो ।
आइतबार सुर्खेतबाट पर्यटकीय स्थल रारा तालतर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा नगरपालिका–७ स्थित टोप्ला सडकखण्डबाट करिब ६ सय मिटर तल खसेको थियो ।

पाँच जना सवार उक्त जिप दुर्घटनामा परी यसअघि नै तीन जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा काठमाडौंको कलंकी निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन् ।

दुर्घटनामा घाइते भएका जिप चालक कञ्चन थापाको भने उपचार भइरहेको छ । उनलाई पनि अन्जुसँगै सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार