लागूऔषध ब्राउन सुगरको कारोबार तथा सेवन गरेको आरोपमा प्रहरीले जुम्लाबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तातोपानी गाउँपालिका–२, जर्मीगाउँका ३२ वर्षीय कुशेन्द्र महत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार महतलाई कात्तिक ३० गते बिहान करिब ८ बजे नियन्त्रणमा लिइएको हो । ब्राउन सुगर बिक्री वितरण तथा सेवन गर्ने गरेको गोप्य सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले बाटोमा हिँडिरहेको अवस्थामा शंका लागेर उनलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरी कार्यालयमा ल्याई लागूऔषध परीक्षण गर्दा उनले सेवन गरेको पुष्टि (पोजेटिभ) भएको छ । पक्राउ परेका महतमाथि जिल्ला अदालत जुम्लाको आदेशअनुसार पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए ।















