बदलिँदो जीवनशैली, विपद्, गरिबी र सामाजिक विभेदका कारण बढ्दो मानसिक तनावलाई समयमै सम्बोधन गर्न समुदायस्तरमै मनोपरामर्श सेवा विस्तार गर्नु अपरिहार्य भइसकेको छ।
मानिसको जीवनमा मानसिक, भावनात्मक, पारिवारिक, सामाजिक तथा आर्थिक पक्षहरू एकअर्कासँग घनिष्ठ रूपमा जोडिएका हुन्छन्। यी पक्षहरूमा असन्तुलन उत्पन्न हुँदा व्यक्तिको सोचाइ, भावना, व्यवहार, सम्बन्ध र दैनिक कार्यसम्पादनमा प्रत्यक्ष नकारात्मक असर पर्छ। समाजमा शारीरिक रोगलाई जति गम्भीरताका साथ लिइन्छ, मन र समाजबीचको अन्तरसम्बन्धबाट उत्पन्न हुने यस्ता अदृश्य कठिनाइलाई त्यति नै बेवास्ता गर्ने गरिन्छ। तर, यस्ता मनोसामाजिक समस्याको पहिचान, रोकथाम र व्यवस्थापनमा मनोपरामर्श (काउन्सिलिङ) अत्यन्तै प्रभावकारी र वैज्ञानिक माध्यम हो।
मनोसामाजिक समस्या भन्नाले व्यक्तिको आन्तरिक मनोवैज्ञानिक अवस्था र बाह्य सामाजिक वातावरणबीचको टकराव वा असन्तुलनका कारण उत्पन्न हुने कठिनाइलाई बुझिन्छ। अत्यधिक तनाव, चिन्ता, डर, निराशा, एक्लोपन र आत्मविश्वासमा कमी आउनु यसका प्रारम्भिक लक्षण हुन्। पारिवारिक कलह, घरेलु तथा लैङ्गिक हिंसा, सामाजिक विभेद, बेरोजगारी, गरिबी र आर्थिक असुरक्षाले यस्ता समस्यालाई थप जटिल बनाउँछन्।
त्यस्तै, प्राकृतिक विपद्, दुर्घटना, द्वन्द्व, प्रियजनको मृत्यु वा बेपत्ताजस्ता पीडादायी घटना र लागूपदार्थको हानिकारक प्रयोगले पनि व्यक्तिलाई गहिरो मनोसामाजिक संकटमा धकेल्छ। बालबालिकामा देखिने व्यवहारगत कठिनाइ र पढाइप्रतिको अरुचि पनि प्रायः यस्तै समस्याको उपज हुने गर्छ। यद्यपि, व्यक्तिको उमेर, भोगाइ, सामाजिक परिवेश र उपलब्ध पारिवारिक सहयोगअनुसार यसको प्रभाव फरक–फरक हुन सक्छ।
मनोपरामर्शले कसरी काम गर्छ ?
मनोपरामर्श सामान्य सल्लाह वा उपदेश मात्र होइन, यो एक व्यावसायिक र सहयोगात्मक प्रक्रिया हो। यसले व्यक्तिलाई आफ्ना दबिएका भावना सुरक्षित रूपमा व्यक्त गर्न, समस्याको जड बुझ्न र कठिन परिस्थितिसँग जुध्ने सीप विकास गर्न मद्दत गर्छ।
मनोपरामर्शदाताले सुरुमा व्यक्तिका कुरा पूर्वाग्रहरहित, सम्मानजनक र समानुभूतिपूर्ण ढंगले सुनेर सुरक्षित वातावरण तयार पार्छन्। यसले आफू एक्लो र असहाय भएको महसुस गरिरहेका व्यक्तिलाई भावनात्मक बोझ बिसाउन मद्दत गर्छ। समस्याको सतही रूपभन्दा भित्री कारण खोज्नु परामर्शको मुख्य विशेषता हो। उदाहरणका लागि, विद्यालयमा पढाइमा ध्यान नदिने विद्यार्थीलाई सोझै ‘अल्छी’ भनेर चित्रण गर्नुको सट्टा उसले घरमा भोगिरहेको तनाव, विद्यालयमा हुने दुर्व्यवहार (बुलिङ), डर वा सिकाइसम्बन्धी कठिनाइ पहिचान गर्न परामर्शले सघाउँछ।
यस प्रक्रियामार्फत व्यक्तिलाई तनाव र चिन्ता व्यवस्थापन गर्ने व्यावहारिक अभ्यासहरू सिकाइन्छ। गहिरो श्वासप्रश्वास, आरामदायी अभ्यास, समय व्यवस्थापन, नकारात्मक सोचाइलाई सकारात्मकतामा बदल्ने तरिका तथा नियमित निद्रा र शारीरिक सक्रियताजस्ता सीपले व्यक्तिलाई सन्तुलित राख्न मद्दत गर्छ।
साथै, समस्याका कारण आफूलाई कमजोर वा मूल्यहीन ठान्न थालेका व्यक्तिमा लुकेका क्षमता र सकारात्मक पक्षहरू उजागर गरी आत्मविश्वास र आत्मसम्मान पुनःस्थापना गरिन्छ। रिस नियन्त्रण गर्न नसक्ने, झगडा गर्ने, समाजबाट अलग हुने वा लागूपदार्थमा फस्नेजस्ता नकारात्मक व्यवहारको कारण पहिल्याएर आवेग नियन्त्रण गर्न र स्वस्थ जीवनशैली अपनाउन पनि परामर्शले प्रेरित गर्छ।
सम्बन्ध सुधार र संकट व्यवस्थापन
पारिवारिक विवाद, संवादहीनता र गलत बुझाइले मनोसामाजिक समस्यालाई झन् बल्झाउँछ। मनोपरामर्शले व्यक्तिलाई प्रभावकारी संवाद गर्ने, अरूका कुरा ध्यानपूर्वक सुन्ने, विवाद समाधान गर्ने र स्वस्थ सीमा कायम राख्ने सीप सिकाउँछ। आवश्यकताअनुसार परिवारका सदस्यलाई समेत परामर्शमा सहभागी गराइन्छ। तर, घरेलु हिंसा वा असुरक्षाको अवस्था छ भने पीडितको सुरक्षा र इच्छालाई सर्वोपरि मानिन्छ।
बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपद्, दुर्घटना वा हिंसाको चपेटामा परेका व्यक्तिमा तत्काल डर, अनिश्चितता र असुरक्षाको भावना तीव्र हुन्छ। यस्तो संकटको घडीमा ‘मनोवैज्ञानिक प्राथमिक सहायता’ (पिएफए) मार्फत पीडितलाई सुरक्षित महसुस गराउने, आधारभूत आवश्यकता पूरा गर्न सघाउने र सामान्य दैनिकीमा फर्काउने काम गरिन्छ।
मानौं, बाढीका कारण घरबारविहीन भएको एउटा परिवारमा बालबालिका डराएका छन्, अभिभावकलाई निद्रा लाग्दैन र भविष्यको चिन्ताले परिवारमा चिडचिडापन बढेको छ। यस्तो अवस्थामा मनोपरामर्शदाताले परिवारको पीडा सुनेर सम्मान गर्ने, सुरक्षित आवास, खाना र स्वास्थ्य सेवाका लागि सम्बन्धित निकायसँग जोड्ने, बालबालिकालाई उमेरअनुसार भावना व्यक्त गर्न सघाउने र अभिभावकलाई तनाव व्यवस्थापन सिकाउने काम गर्छन्। यसरी परामर्शले भावनात्मक मात्र नभई व्यावहारिक र सामाजिक आवश्यकतालाई पनि सँगसँगै सम्बोधन गर्छ।
बहुआयामिक उपयोगिता र नैतिक सीमा
मनोपरामर्शको उपयोगिता कुनै एक क्षेत्रमा मात्र सीमित छैन। विद्यालयमा परीक्षाको तनाव र साथीभाइको विवाद सुल्झाउन, स्वास्थ्य संस्थामा दीर्घरोगसँग जुधिरहेका बिरामीको मनोबल बढाउन, समुदायमा विभेद र बेरोजगारीले पिल्सिएका नागरिकलाई जोड्न तथा विपद् प्रभावितको उद्धारपछि पुनर्स्थापना गर्न यसको उत्तिकै महत्त्व छ। सामान्यतया परामर्शदाताले व्यक्तिसँग विश्वासको सम्बन्ध स्थापना गर्ने, समस्या र उपलब्ध स्रोतको लेखाजोखा गर्ने, समाधानको लक्ष्य तय गर्ने, व्यावहारिक कार्ययोजना बनाउने र निरन्तर अनुगमन गर्ने चरणबद्ध विधि अपनाउँछन्।
यद्यपि, मनोपरामर्श प्रदान गर्दा कडा नैतिक अनुशासन पालना गर्नुपर्छ। सेवाग्राहीको संस्कृति, भाषा, उमेर र लैङ्गिक पहिचानको सम्मान गर्दै व्यक्तिगत विवरणको गोपनीयता कायम राख्नु परामर्शदाताको प्रमुख दायित्व हो। कसैलाई पनि जबरजस्ती बोल्न वा निर्णय लिन दबाब दिनु हुँदैन। यदि सेवाग्राहीमा हिंसा, दुर्व्यवहार वा आत्महत्याको जोखिम देखिएमा तत्काल सुरक्षा योजना बनाई विशेषज्ञ चिकित्सककहाँ प्रेषण गर्नुपर्छ।
अन्त्यमा, मनोसामाजिक समस्याको समाधान केवल कोठाभित्र बसेर दिइने परामर्शमा मात्र सीमित हुँदैन। परामर्शले व्यक्तिलाई समस्यासँग जुध्ने आन्तरिक सामर्थ्य र आत्मनिर्भरता त दिन्छ, तर दिगो समाधानका लागि सुरक्षित सामाजिक वातावरण, परिवारको न्यानो साथ, समुदायको सक्रिय सहभागिता, आर्थिक सुरक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पनि उत्तिकै अपरिहार्य हुन्छ।
(आचार्य कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा कार्यरत मनोपरामर्शदाता हुनुहुन्छ।)














