भक्तपुरको गुण्डुदेखि हुम्ला र इलामसम्म ‘र्याम्ड अर्थ’ प्रविधिबाट आधुनिक र भूकम्प प्रतिरोधी माटोका घर बनाउँदै आएका अभियन्ता नारायण आचार्यको अभियानले वातावरण संरक्षणसँगै स्वदेशी रोजगारीमा नयाँ आशा जगाएको छ ।
सहरको कोलाहल र चारैतिर ठडिएका कंक्रिटका अग्ला भवनहरू छिचोल्दै भक्तपुरको गुण्डु पुग्दा एउटा फरक दृश्य देखिन्छ । त्यहाँ न ठूला डोजर र कंक्रिट मिक्सरको कर्कश आवाज छ, न त सिमेन्ट र इँटाभट्टाको धूलो नै । बरु केही युवाहरू फर्माभित्र रातो माटो, गिट्टी र बालुवाको मिश्रण हाल्दै लयबद्ध तरिकाले थिचिरहेका छन् ।
सुन्दा अपत्यारिलो लाग्न सक्छ, बारीकै माटो थिचेर बनाइएको यो घर एक हजार वर्षभन्दा बढी टिक्नेछ । आधुनिकताको नाममा गाउँदेखि सहरसम्म माटो र ढुंगाका मौलिक घर विस्थापित भइरहेका बेला बिल्डर तथा अभियन्ता नारायण आचार्य यही संकल्पलाई यथार्थमा बदल्दै छन् । ‘र्याम्ड अर्थ सोलुसन्स’ मार्फत उनले नेपालको हावापानी र भूगोल सुहाउँदो दिगो आवासको नयाँ मानक स्थापित गरिरहेका छन् ।
आचार्यको यो यात्रा व्यावसायिक योजनाबाट सुरु भएको थिएन । विभिन्न देशको भ्रमणपछि सन् २००९ मा नेपाल फर्किएका उनलाई कंक्रिटको उकुसमुकुसपूर्ण कोठामा बस्न मन लागेन । प्रकृतिसँग नजिक रहेर बस्ने पारिवारिक परिकल्पनाअनुसार उनले ललितपुरको गोदावरीमा माटो थिचेर आफ्नै घर बनाए ।

तर, त्यतिबेला समाज मात्र होइन, आफ्नै परिवारलाई समेत बुझाउन उनलाई हम्मेहम्मे पर्यो । घर बनिसकेपछि आमाले गाली गर्दै भनेकी थिइन्, ‘छोरा, तैंले दुःख गरेर कमाएको पैसाले माटोको घर बनाएर मूर्ख काम गरिस् ।’ आचार्यले आमालाई केही समय धैर्य गर्न आग्रह गरे । जब आमा त्यो घरमा बस्न थालिन्, भित्रको न्यानोपन र शान्त वातावरण देखेर दंग परिन् । त्यही क्षण आचार्यलाई लाग्यो, यो प्रविधिलाई अब देशव्यापी अभियान बनाउनुपर्छ ।
बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनको घरको चर्चा भएपछि विज्ञहरूको जिज्ञासा बढ्यो । सन् २०१२/१३ तिर उनले विधिवत् कम्पनी दर्ता गरी व्यावसायिक निर्माण थाले । आचार्यका अनुसार माटो थिचेर घर बनाउने प्रविधि नेपालका लागि नयाँ होइन । ‘चीनको ग्रेट वाल, भुटानका तीन सय वर्ष पुराना भवन र नेपालकै मनाङ–मुस्ताङका ऐतिहासिक दरबारहरू यही प्रविधिबाट बनेका हुन्,’ उनी भन्छन्, ‘हाम्रा पुर्खासँग यो ज्ञान थियो, तर दस्तावेजीकरण नहुँदा हामीले आफ्नै मौलिक बाटो बिरायौं ।’
परम्परागत माटोका घरमा धूलो झर्ने, मुसाले दुलो पार्ने र पानीले गाल्ने समस्या हुन्थ्यो । सन् २०१५ को भूकम्पमा ढुंगामाटोका पुराना घर भत्किएपछि आममानिसमा माटोको घर कमजोर हुन्छ भन्ने मनोविज्ञान बस्यो । तर, आचार्यले प्रयोग गर्ने ‘र्याम्ड अर्थ’ (Rammed Earth) प्रविधि पूर्णतः वैज्ञानिक र इन्जिनियरिङ मापदण्डमा आधारित छ ।
‘पृथ्वीलाई हानि नगरी बनाइने भएकाले यसलाई र्याम्ड अर्थ हाउस भनिएको हो,’ आचार्य प्रस्ट्याउँछन् । यसमा पहाडी भूभागको शतप्रतिशत चिप्लो रातो माटो (क्ले), साना टुक्रा ढुंगा, खोलाको नचालेको बलौटे माटो वा स्टोन डस्ट र बढीमा ३ देखि ५ प्रतिशत मात्र सिमेन्ट मिसाइन्छ । सिमेन्टको सट्टा पानीमा पाक्ने चुना प्रयोग गर्न सके झनै उत्तम हुने भए पनि महँगो पर्ने भएकाले थोरै सिमेन्ट हालिन्छ । फर्माभित्र ४ इन्च तहमा मिश्रण हालेर खाँद्दै २ इन्चमा झारिन्छ, जसले माटोलाई चट्टानजस्तै कडा बनाउँछ ।

भूकम्पीय जोखिमको हिसाबले नेपाल ‘रेड जोन’ मा पर्ने भएकाले सुरक्षामा कुनै सम्झौता नगरिएको आचार्य बताउँछन् । चिस्यानबाट जोगाउन जगमा ढुंगाको गारो लगाइन्छ । १८ इन्च चौडा पर्खालको जगदेखि छतसम्मको ‘टाइ–बिम’ सँग जोडिने गरी तेर्सो र ठाडो डण्डी राखिन्छ । ‘यो मोनोलिथिक लोड बेरिङ र सियर वाल सिस्टम हो,’ उनी भन्छन्, ‘भूकम्प आउँदा आरसीसी भवनको इँटाको गारो छुट्टिएर खस्ने डर हुन्छ, तर यो घर सिंगो बक्सजस्तै एकैपटक हल्लिन्छ, गर्ल्यामगुर्लुम ढल्दैन ।’
सन् २०१५ को भूकम्पलगत्तै र्याम्ड अर्थ प्रविधिमा विश्वकै अग्रणी न्युजिल्यान्डबाट ११ जना इन्जिनियरको टोली गोदावरीस्थित आचार्यको घर अध्ययन गर्न आएको थियो । उनीहरूको सुझावअनुसार प्लास्टिक र पाइपको प्रयोग हटाउँदै संरचनागत पक्षमा थप सुधार गरेपछि यो प्रविधि अझ बलियो बनेको छ ।
र्याम्ड अर्थ घरको मुख्य विशेषता यसको प्राकृतिक तापक्रम सन्तुलन हो । बाहिर जतिसुकै चिसो भए पनि हिउँदमा घरभित्रको तापक्रम करिब १९ डिग्री सेल्सियस रहन्छ भने गर्मीमा निकै शीतल हुन्छ । जसका कारण एसी वा पंखा चलाउनु पर्दैन । भुइँ र छतमा विशेष इन्सुलेसन तथा डाम–प्रुफिङ गरिने भएकाले जमिनको चिस्यान भित्र पस्दैन ।
यस्ता घरमा रासायनिक पेन्ट लगाउनु पर्दैन । ‘आधुनिक घरमा लगाइने केमिकल पेन्टले पाँच–छ वर्षसम्म स्वास्थ्यमा नकारात्मक असर पारिरहन्छ, तर माटोको प्राकृतिक भित्तोले स्वास्थ्यलाई फाइदा पुर्याउँछ,’ आचार्य भन्छन् । सिमेन्टको संरचना ५०–१०० वर्षपछि कमजोर हुँदै जाने वैज्ञानिक तथ्य रहे पनि राम्ररी थिचिएको माटोको घर वर्ष बित्दै जाँदा झन् खँदिलो र बलियो हुँदै जाने उनको दाबी छ ।

उनको यही कौशलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको शिर उँचो पारेको छ । सन् २०१४/१५ तिर अछाममा उनले बनाएको बयलपाटा अस्पताल नेदरल्यान्ड्समा आयोजित वास्तुकला प्रतियोगितामा प्रथम भएको थियो । त्यस्तै, सुर्खेतमा निर्मित कोपिला भ्याली क्याम्पस विश्वकै उत्कृष्ट १० हरित (ग्रिनेस्ट) क्याम्पसको सूचीमा पर्न सफल भएको छ । झापाको मानव सेवा आश्रमका भवनदेखि इलामको सनसाइन भिल्ला, हुम्ला र जुम्लासम्म उनले दर्जनौं भवन ठड्याइसकेका छन् ।
माटो थिच्न आधुनिक कम्प्याक्सन मेसिन उपलब्ध भए पनि आचार्यले जानाजानी ठूला मेसिन भित्र्याएका छैनन् । यसको पछाडि स्वदेशमै रोजगारी सिर्जना गर्ने सामाजिक उद्देश्य छ । ‘मेसिन ल्याउँदा काम छिटो होला, तर नेपाली युवाले काम पाउँदैनन् । विकट हुम्ला–जुम्लामा मेसिन बिग्रिए मर्मत गर्ने मान्छे पनि पाइँदैन,’ उनी भन्छन् ।
हाल उनका साइटहरूमा जुम्लाका युवादेखि थारू समुदायका गरी करिब १२० जनाले नियमित र सिकर्मीसमेत जोड्दा २०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । इलाममा स्थानीय युवालाई तालिम दिएपछि अहिले उनीहरू आफैले काम सम्हालिरहेका छन् ।
आचार्य हरेक घरलाई ‘मेड इन नेपाल’ बनाउन चाहन्छन् । भुइँमा भक्तपुरका कालीगढले बनाएका टायल, छनामा बाग्लुङको स्लेट ढुंगा र झ्यालढोकामा पुनःप्रयोग (रिसाइकल) गरिएका काठ प्रयोग गरिन्छ । ‘भारतबाट एक ट्रक टायल भित्रिँदा करिब ०.५ मेट्रिक टन कार्बन प्रदूषण हुन्छ,’ उनी भन्छन्, ‘स्वदेशी उत्पादन प्रयोग गर्दा वातावरण मात्र जोगिँदैन, बन्द हुन लागेका भक्तपुरका टायल उद्योग र बाग्लुङका ढुंगाखानी पनि पुनर्जीवित हुन्छन् । देशको पैसा देशमै घुम्छ ।’

बर्खाको तीन महिनाबाहेक करिब नौ महिनामा दुईतले घर तयार हुन्छ । टाइ–बिम ढलान गरेपछि सिमेन्ट सेटल हुन १०–१५ दिन क्युरिङका लागि पर्खिनुपर्ने भएकाले गुणस्तरमा हतार गरिँदैन । लागतको हकमा बीओक्यू (बिल अफ क्वान्टिटिज) अनुसार पारदर्शी हिसाब गरिन्छ ।
डबल ग्लेजिङ झ्याल, पूर्ण इन्सुलेसन, भक्तपुरे टायल र बाग्लुङको ढुंगा प्रयोग गर्दा प्रतिवर्गफुट करिब ४ हजार ५ सय रुपैयाँ खर्च लाग्छ । तर, बजेटअनुसार सिंगल ग्लेजिङ झ्याल वा काठको सट्टा फलाम प्रयोग गरेर आधारभूत गुणस्तर नघटाई लागत घटाउन सकिने विकल्प पनि छ ।
नेपालको भवन संहिता (बिल्डिङ कोड) मा माटोको घर समावेश भए पनि स्थानीय तहका इन्जिनियरहरूमा व्यावहारिक ज्ञानको कमी हुँदा ‘नक्सा पास’ गर्न कठिनाइ हुने गरेको आचार्यको गुनासो छ । हालै प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत परम्परागत र माटोका मौलिक घरहरूको डिजाइन सार्वजनिक गर्दै यस्ता संरचना बनाउन प्रोत्साहन गरेका थिए ।

प्रधानमन्त्रीको सोचको प्रशंसा गर्दै आचार्य भन्छन्, ‘मौलिकता जोगाउने उहाँको भिजन स्वागतयोग्य छ, तर व्यवहारमा उतार्न प्राविधिक जनशक्तिलाई तालिम दिनुपर्छ ।’
सरकारले वातावरणमैत्री घर बनाउने नागरिकलाई निर्माण सामग्रीमा लाग्ने १३ प्रतिशत भ्याट छुट वा अनुदान दिने, बैंकबाट सहुलियतपूर्ण ऋण उपलब्ध गराउने, सरकारी वन क्षेत्रबाट माटो ल्याउन सहज अनुमति दिने तथा ढुंगाखानीको कर घटाउने हो भने गाउँ–सहरमा यस्ता घरको लहर चल्ने उनको विश्वास छ ।
बाहिरबाट हेर्दा टिपिकल नेपाली गाउँले परिवेश झल्किने, तर भित्र अत्याधुनिक बाथरुम, किचेन र फिनिसिङयुक्त यस्ता घरप्रति अहिले विदेशमा रहेका युवापुस्ताको समेत आकर्षण बढेको छ । कंक्रिटको चिसो पर्खालभित्र हराउँदै गएको आत्मीयता र पहिचान फर्काउन नारायण आचार्यले थालेको यो ‘माटोको क्रान्ति’ आगामी पुस्ताका लागि सुरक्षित, स्वस्थ र सुन्दर नासो बन्ने निश्चित छ ।
















