कृषि फर्मको अगुवाइमा दैलेखका विकट बस्तीमा ६ दिने स्वास्थ्य तथा दन्त शिविर, साढे २ लाखभन्दा बढीको औषधि वितरण।

दैलेखको आठबीस नगरपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ६२१ जना लाभान्वित भएका छन्। कर्णाली कृषि तथा पशुपन्छी फर्म एण्ड एग्रो मिलको आयोजनामा वडा नं. १ देखि ६ सम्मका विकट बस्तीमा सञ्चालित ६ दिने शिविरको कात्तिक २७ गते एक समारोहबीच समापन गरिएको हो।
कात्तिक १२ देखि १७ गतेसम्म चलेको शिविरमा सामान्य स्वास्थ्य परीक्षण, रोग पहिचान र परामर्शसँगै दन्तरोगसम्बन्धी विशेष सेवा प्रदान गरिएको थियो। विशेषगरी गाउँमै दन्तरोगसम्बन्धी परीक्षण र परामर्श उपलब्ध भएपछि दाँत तथा गिजासम्बन्धी समस्या झेलिरहेका स्थानीयले राहत महसुस गरेका आयोजक संस्थाका संचालक निरज कुमार माझीले जानकारी दिए।

व्यावसायिक कृषि तथा पशुपालनमा सक्रिय स्थानीय उनी लगायतको अगुवाइमा सञ्चालन भएको अभियानमार्फत करिब २ लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्यका प्राथमिक औषधिसमेत निःशुल्क वितरण गरिएको थियोे।
शिविरमा संकलित स्वास्थ्य विवरण तथा प्रगति प्रतिवेदनले ग्रामीण भेगको स्वास्थ्य अवस्थाको वास्तविक चित्र उजागर गरेको माझीको भनाई छ।
स्वास्थ्यकर्मी धर्म माझी र जीवन शाहीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार उपचारका लागि आएका अधिकांश नागरिकमा उच्च रक्तचाप, मधुमेह, दम, छालासम्बन्धी संक्रमण, दन्तरोग तथा महिलामा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या मुख्य रूपमा देखिएको छ।

यातायातको असुविधा, स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने लामो समय र स्वास्थ्य सचेतनाको कमीका कारण ग्रामीण नागरिकले रोग लुकाएर बस्नुपरेको यथार्थ शिविरमा देखिएको थियो।
समापन समारोहमा बोल्दै पूर्वनगर उपप्रमुख दीपा बोहराले ग्रामीण महिलाहरूले यौन तथा प्रजनन स्वास्थ्यजस्ता संवेदनशील समस्या खुलेर भन्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै घरदैलोमै पुगेर दिइने यस्ता सेवाले महिलाको स्वास्थ्य सुरक्षामा ठूलो टेवा पुर्याउने बताइन्।
नगरपालिकाको स्वास्थ्य शाखाका प्रतिनिधिले पनि शिविरबाट प्राप्त तथ्याङ्कलाई आगामी स्थानीय स्वास्थ्य योजना निर्माण र सेवा व्यवस्थापनमा उपयोग गरिने प्रतिबद्धता जनाइन्।

चन्दा नउठाई युवाको सामाजिक उत्तरदायित्व
नाफामुखी व्यवसायसँगै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले फर्मका संचालक माझीको नेतृत्वमा यो अभियान सञ्चालन गरिएको हो। शिविर सञ्चालनका क्रममा कसैसँग आर्थिक चन्दा संकलन नगरी शुद्ध सेवाभावले काम गरिएको सञ्चालक माझीले बताए।
‘हाम्रो उद्देश्य आर्थिक संकलनभन्दा पनि सहकार्य र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनु थियो,’ उनले भने, ‘स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्वयंसेवक र समुदायको भौतिक साथले अभियान सफल भयो।’ शिविर अवधिभर वडा नं. १ देखि ६ सम्मका वडा कार्यालयहरूले खाना, खाजा र स्थानीय समन्वयमा सघाएका थिए।
दशैँ–तिहारजस्तो चाडपर्वको व्यस्त समय व्यवस्थापन गर्दै युवाहरूले दुर्गम बस्तीमा पुर्याएको स्वास्थ्य सेवाको जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरूले प्रशंसा गरेका छन्।

प्रमुख अतिथि नगरप्रमुख तर्कबहादुर बढुवालले युवाहरूको यस्तो रचनात्मक पहललाई नगरपालिकाले प्राथमिकतामा राखेर सहकार्य गर्ने बताउए।
उपप्रमुख कल्पना थापा चन्दले आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन यस्ता अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखिन्।
पूर्वनगरप्रमुख खड्गराज उपाध्यायले समाज रूपान्तरणमा जुटेका युवाहरूको मनोबल बढाउनु स्थानीय सरकार र समाजको दायित्व भएको बताउए भने नेपाल मजदुर किसान पार्टीका नगर कमिटी अध्यक्ष जयबहादुर सिजापतिले निःस्वार्थ सामाजिक कार्यलाई राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि राखेर प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

१७ जना सम्मानित, अभियानलाई निरन्तरता दिने संकल्प
समापन समारोहमा शिविर सफल बनाउन निःस्वार्थ योगदान पुर्याउने स्वास्थ्यकर्मी, स्वयंसेवक, पत्रकार तथा सहयोगी संस्था गरी १७ जनालाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा स्वास्थ्यकर्मीहरू नेत्रबहादुर माझी, धर्मराज माझी, अर्जुन माझी, डम्बरबहादुर कठायत, मनबहादुर बडुवाल, जीवनकुमार शाही, हिक्मत बि.सी. र ओर्मिला बडुवाल रहेका छन्।
त्यस्तै, स्वयंसेवकहरू सुनिता कुमारी माझी, सुरेन्द्र बुढा, विकास भण्डारी, गणेशबहादुर शाही, राजेन्द्र विश्वकर्मा, प्रवीण बयक, पत्रकार पुष्कर सिजापती तथा सहयोगी संस्था कर्णाली स्वास्थ्य क्लिनिक, राकम फार्मेसी र राकम कर्णाली डेन्टल केयर होमलाई कदरपत्र प्रदान गरियो।
फर्मले गत वर्ष २०८२ मा पहिलो र यस वर्ष दोस्रो संस्करणको स्वास्थ्य शिविर सम्पन्न गरेको हो। वडा नं. १ का वडाध्यक्ष बमबहादुर रावत, वडा नं. ६ का वडाध्यक्ष नमराज शर्मा, इलाका प्रहरी कार्यालय राकमका प्रमुख नारायण विष्टलगायत स्थानीय सरोकारवालाको उपस्थिति रहेको समारोहमा फर्मका संचालक माझीले आगामी दिनमा पनि ग्रामीण स्वास्थ्य र सामाजिक विकासका कार्ययोजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

आर्थिक अभाव र भौगोलिक विकटताका कारण सहरका अस्पतालसम्म पुग्न नसक्ने विपन्न परिवारका लागि घरदैलोमै पुगेको यो सेवाले ठूलो भरोसा जगाएको स्थानीय बासिन्दाको भनाइ छ। व्यावसायिक कृषिसँगै युवाहरूले थालेको यो अभियानले आठबीसका दुर्गम बस्तीमा स्वास्थ्य सचेतना र सेवाको पहुँच विस्तारमा उदाहरणीय सन्देश दिएको छ।
















