रावतबाडा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै जनसेवा युवा क्लबले तेस्रो अमृत स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जनसेवा युवा क्लबले लिएको १–० को अग्रता नै जितका लागि निर्णायक बन्यो ।
खेल अवधिभर रावतबाडा एफसीले उत्कृष्ट प्रदर्शन गर्दै गोल फर्काउने प्रयास गरे पनि सफल हुन नसक्दा उपविजेतामै चित्त बुझाउन बाध्य भयो ।

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरे ।
सो अवसरमा बोल्दै सांसद शाहीले ग्रामीण तथा स्थानीय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले युवाहरूलाई कुलतबाट जोगाउँदै अनुशासित र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने बताए ।
‘खेलकुदले आपसी सद्भाव बढाउनुका साथै लुकेर रहेका स्थानीय प्रतिभाहरूलाई राष्ट्रिय स्तरसम्म पुग्ने बाटो खोल्छ,’ उनले भने, ‘कर्णालीको खेलकुद पूर्वाधार विकास र खेलाडीको प्रोत्साहनका लागि मेरो तर्फबाट सदैव सहयोग रहनेछ ।’

आयोजक समितिका दुर्लभ खत्री र संगम शाहीका अनुसार प्रतियोगितामा स्थानीय क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
उनीहरूले तेस्रो संस्करणको प्रतियोगितालाई सभ्य र भव्य रूपमा सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण खेलाडी, दर्शक, प्रायोजक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।
















