कर्णालीका ग्रामीण बस्तीमा बिरामी पर्दा अस्पतालभन्दा धामीझाँक्रीको भर पर्ने प्रवृत्तिले उपचारमा ढिलाइ भई अकालमै मृत्यु हुने क्रम रोकिएको छैन। जुम्लाको एउटै वडामा मात्रै पाँच वर्षमा २५ जनाले ज्यान गुमाएका छन्।
तिला गाउँपालिका–४ की पानकला सार्कीलाई लामो समयदेखि छाती दुख्ने समस्या थियो। मुटुमा असह्य पीडा हुँदा उनको घरमा चिकित्सकको स्टेथोस्कोप होइन, धामीका अक्षेता र हा हु र हुँकार सुनसन्थ्यो। देउता रिसाएको भन्दै मन्दिरमा कुखुराको बलि चढाइन्थ्यो। पीडाले छटपटिएकी पानकलालाई देउता शान्त भएपछि रोग निको हुने आश्वासन दिइन्थ्यो। तर न उनको पीडा कम भयो, न कमजोर बन्दै गएको मुटुले आराम पायो।
कात्तिक १९ गते खेतमा काम गरिरहेका बेला पानकला अचानक ढलिन्। पुरानै मुटुको पीडाले च्यापेपछि परिवारले उनलाई तत्काल स्वास्थ्य संस्था लैजानुको सट्टा घरमै ल्यायो। फेरि धामीझाँक्री बोलाइए। मन्त्र फुक्ने र अक्षता छर्किने क्रम चलिरह्यो। १९ गतेको दिन र रात यसरी नै बित्यो। उनको अवस्था झन् गम्भीर बन्दै गयो। सास धिमा हुँदै गयो, चेतना हराउन थाल्यो। त्यसपछि मात्रै भोलिपल्ट बिहान उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइयो।
प्रतिष्ठानको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गर्दासम्म ढिला भइसकेको थियो। प्रतिष्ठानका डा. कुशलराज जैशीका अनुसार चिकित्सकले सम्भव भएसम्म उपचार प्रयास गरे। तर पानकलाको जीवन बचाउन सकेनन्। अस्पताल पुगेको केही समयमै उनको मृत्यु भयो।
‘सधैं मुटु दुख्यो भन्थिन्। धामीझाँक्रीले भनेअनुसार मन्दिरमा कति कुखुरा चढायौं, हिसाबै छैन,’ श्रीमान् करबिरे सार्कीले पश्चात्ताप व्यक्त गरे, ‘खेतमा ढलेपछि पनि मन्त्र गरेर बिसन्चो हट्ला भन्ने लाग्यो। अस्पताल पुर्याउन ढिला हुँदा उनलाई सधैंका लागि गुमाउनुपर्यो।’
करबिरेको यो पश्चात्ताप एउटा परिवारको निजी शोकमा मात्र सीमित छैन। रोगको पहिचान र उपचारका लागि अस्पताल पुग्नुपर्ने बेला धामीझाँक्रीको शरणमा जाने प्रवृत्तिले कर्णालीका ग्रामीण बस्तीमा निम्त्याइरहेको जोखिमको प्रतिनिधि घटना हो यो।
स्वास्थ्य सेवा विस्तार हुँदै गए पनि रोग लाग्दा अस्पतालभन्दा परम्परागत उपचार पद्धतिलाई प्राथमिकता दिने सामाजिक मान्यताले अझै धेरैको जीवन जोखिममा पारिरहेको प्रतिष्ठानका जैशीले बताए।
एउटै वडामा २५ जनाको मृत्यु
पानकलाको मृत्यु कुनै एक्लो घटना होइन। तिला गाउँपालिका–४ का वडाध्यक्ष भद्दबिरे सार्कीका अनुसार धामीझाँक्री र झारफुकमा भर पर्दा समयमै उपचार नपाएर वडाभित्रै धेरैले ज्यान गुमाएका छन्।
‘मेरो आफ्नै कार्यकालमा झारफुक र धामीझाँक्रीको भर पर्दा समयमै उपचार नपाएर वडाभित्र कम्तीमा २५ जनाले ज्यान गुमाइसकेका छन्,’ वडाध्यक्ष सार्कीले भने, ‘हामी टोलटोलमा पुगेर बिरामी परेपछि पहिले अस्पताल जानुस्, त्यसपछि मात्रै अन्य संस्कार गर्नुस् भनेर सम्झाउँछौं। जनचेतनामूलक कार्यक्रम पनि गर्छौं। तर मानिसहरू अझै पहिले धामीकै शरणमा पुग्छन्।’
भौगोलिक विकटता, आर्थिक अभाव, स्वास्थ्यसम्बन्धी जानकारीको कमी र पुस्तौंदेखि चलिआएका विश्वासले स्थानीयको उपचार खोज्ने व्यवहारलाई प्रभावित पारेको छ। सामान्य बिरामी पर्दासमेत कतिपयले अस्पताल जानुभन्दा पहिले धामीझाँक्री बोलाउने गरेका छन्।
बिरामीको अवस्था जटिल भएपछि मात्रै अस्पताल पुर्याउने प्रवृत्तिले उपचारको सम्भावना कमजोर बनाउने गरेको छ। वडाध्यक्ष सार्कीका अनुसार गाउँमा अझै पनि अस्पताल लैजाँदा कुलदेवता रिसाउँछन् भन्ने मान्यता राख्नेहरू छन्।
फलामले डामेर उपचार
अन्धविश्वासका कारण उपचारमा हुने ढिलाइ र त्यसले निम्त्याउने जोखिम जुम्लामा मात्रै सीमित छैन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक निर्मल थापाका अनुसार कर्णालीका विभिन्न ग्रामीण बस्तीमा अस्पताललाई बिरामी भएपछि पुग्ने पहिलो गन्तव्यभन्दा पनि अवस्था अन्तिम चरणमा पुगेपछि जाने ठाउँका रूपमा बुझ्ने प्रवृत्ति छ।
‘बिरामी सिकिस्त नभएसम्म घरमै झारफुक गर्ने र अन्तिम अवस्थामा मात्रै अस्पताल ल्याउने परिपाटी कर्णालीमा भयावह छ,’ डा. थापाले भने, ‘यसका कारण सामान्य औषधोपचारबाट निको हुन सक्ने रोगमा समेत मानिसहरूले अकालमा ज्यान गुमाइरहेका छन्।’
अन्धविश्वासले उपचारका नाममा निम्त्याउन सक्ने शारीरिक यातनाको उदाहरण दिँदै उनले दुई महिनाअघिको मुगुको एउटा घटना सुनाए। लामो समयदेखि पेट दुख्ने समस्याबाट पीडित एक बिरामीलाई परिवारले अस्पताल लैजानुको सट्टा धामीझाँक्रीको जिम्मा लगाएको थियो। धामीले भूतप्रेत लागेको भन्दै आगोमा फलामको रड रातो हुने गरी तताएर बिरामीको पेटमा डामिदिए।
त्यसले पेटको समस्या निको हुनुको सट्टा डामिएको ठाउँमा गम्भीर संक्रमण फैलियो। अवस्था जटिल भएपछि मात्रै परिवारले उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्यायो। ‘हामीले तत्काल आकस्मिक शल्यक्रिया गर्यौं। शल्यक्रिया सफल भएपछि बिरामीको ज्यान बच्यो,’ डा. थापाले भने, ‘उनको आर्थिक अवस्था अत्यन्त कमजोर थियो। उपचारपछि अस्पतालले आफ्नै खर्चमा लुगाकपडा र घर फर्कने गाडीभाडासमेत उपलब्ध गराएर पठाउनुपरेको थियो।’
मुगुका ती बिरामीले समयमै अस्पताल पुगेपछि नयाँ जीवन पाए। तर पानकलाजस्ता बिरामीले उपचार खोज्न ढिलाइ गर्दा ज्यान गुमाउनुपरेको छ। यी दुई घटनाले स्वास्थ्य सेवा उपलब्ध हुनु र नागरिकले त्यसको समयमै उपयोग गर्नु फरक कुरा हुन् भन्ने देखाउँछन्।
आस्था र स्वास्थ्य सेवाबीचको दूरी
कर्णालीमा धामीझाँक्रीप्रतिको विश्वासलाई धार्मिक आस्थाका रूपमा मात्रै बुझ्न सकिँदैन। लामो समयसम्म स्वास्थ्य संस्थाको पहुँच नहुँदा स्थानीय समुदायले रोगव्याधिको उपचारका लागि परम्परागत विधिमा भर पर्नुपरेको इतिहास छ। स्वास्थ्य संस्थाको पहुँच विस्तार भए पनि पुरानो सामाजिक अभ्यास र विश्वासमा अपेक्षित परिवर्तन आउन सकेको छैन।
कतिपय समुदायमा रोगलाई शरीरभित्रको स्वास्थ्य समस्या नभई देवीदेवताको रिस, भूतप्रेत वा अदृश्य शक्तिको प्रभावका रूपमा व्याख्या गरिन्छ। यस्तो सोचले बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउने निर्णयमा ढिलाइ गराउँछ। स्वास्थ्य साक्षरताको कमीले पनि यसलाई बल पुर्याएको छ। रोगको प्रारम्भिक लक्षण पहिचान गर्ने, समयमै परीक्षण गराउने र चिकित्सकीय सल्लाहअनुसार उपचार गर्ने अभ्यास पर्याप्त रूपमा स्थापित हुन सकेको छैन।
आर्थिक अभाव र भौगोलिक कठिनाइले समस्या थप जटिल बनाएको छ। कतिपय गाउँबाट स्वास्थ्य संस्था पुग्न लामो समय लाग्छ। यातायातको असुविधा र उपचार खर्चको चिन्ताले पनि बिरामीलाई तत्काल अस्पताल लैजान परिवार हिच्किचाउने गरेको छ। यस्तो अवस्थामा घरमै उपलब्ध हुने धामीझाँक्रीको सेवा सहज विकल्प बन्ने गरेको छ। तर रोगको प्रकृति पहिचान नगरी झारफुकमा समय बिताउँदा सामान्य स्वास्थ्य समस्यासमेत जटिल बन्न सक्छ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक सुनिश्चित गरेको छ। कर्णालीमा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामार्फत सेवा विस्तार भएको छ। तर स्वास्थ्य संस्थाको भौतिक उपलब्धताले मात्रै नागरिकको उपचारसम्बन्धी व्यवहार परिवर्तन गर्न सकेको छैन। अस्पताल पुग्न सक्ने अवस्था हुँदाहुँदै पनि त्यसलाई अन्तिम विकल्प ठान्ने सोच कायमै रहनु स्वास्थ्य प्रणालीकै लागि चुनौती बनेको छ।
चेतनाको शल्यक्रिया कहिले?
तिला गाउँपालिका–४ मा धामीझाँक्री र झारफुकका कारण उपचारमा ढिलाइ हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको वडाध्यक्षको भनाइले गम्भीर प्रश्न उठाएको छ। एउटै वडामा यति धेरै नागरिकले समयमै उपचार नपाएर ज्यान गुमाएको दाबी भइरहँदा कर्णाली प्रदेशभर यस्तो प्रवृत्तिबाट प्रभावित हुने नागरिकको अवस्था कस्तो होला भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। यस्ता घटनाको अभिलेख राख्ने र मृत्युको कारण पहिचान गर्ने व्यवस्थित संयन्त्र नहुँदा समस्याको वास्तविक आकारसमेत स्पष्ट हुन सकेको छैन।
स्थानीय, प्रदेश र संघीय सरकारले स्वास्थ्य पूर्वाधार विस्तारसँगै नागरिकको स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धिमा पनि उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ। सडक, भवन र अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट खर्च भइरहँदा समुदायको उपचार खोज्ने व्यवहार परिवर्तन गर्ने कार्यक्रम अपेक्षित रूपमा प्रभावकारी हुन सकेका छैनन्। स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय, समुदायका अगुवा र स्थानीय जनप्रतिनिधिलाई परिचालन गरेर घरपरिवारसम्म पुग्ने निरन्तर अभियान आवश्यक छ।
धामीझाँक्री र परम्परागत संस्कारलाई मान्ने समुदायसँग संवाद नगरी अन्धविश्वास भन्दै आलोचना गर्नु पनि पर्याप्त हुँदैन। आस्था र स्वास्थ्य उपचारलाई अलग राख्दै बिरामी पर्दा चिकित्सकीय सेवा लिनुपर्ने सन्देश समुदायले बुझ्ने भाषामा पुर्याउन आवश्यक छ। धामीझाँक्री तथा धार्मिक अगुवालाई समेत स्वास्थ्य सचेतनाको अभियानमा सहभागी गराउन सके परम्परागत विश्वासका कारण हुने उपचार ढिलाइ कम गर्न सकिन्छ।
पानकलाको मृत्युले कर्णालीका ग्रामीण बस्तीमा स्वास्थ्य सेवाको पहुँच र त्यसको उपयोगबीच रहेको दूरीलाई फेरि उजागर गरेको छ। रोग लाग्दा धामीझाँक्रीको शरणमा पुग्नुभन्दा स्वास्थ्य संस्थामा जाँच गराउनु नै जीवन बचाउने पहिलो कदम हो भन्ने सन्देश समुदायसम्म पुर्याउन नसके यस्ता घटना दोहोरिइरहनेछन्। कर्णालीलाई अब अस्पतालका भवन र सडकको विस्तारसँगै पुस्तौंदेखि जरा गाडेको हानिकारक अन्धविश्वासबाट मुक्त गराउने सामाजिक अभियानको खाँचो छ।














