बुधबार, २५ कार्तिक, २०८३

भीआईपीको आडमा घरजग्गाको मूल्य बढाउँदै दलालहरू, सरकारको छैन चासो !

यसरी भीआईपीहरूको आडमा दलालहरूले घरजग्गाको मूल्य बढाउँछन् त घरधनीहरूले कोठाभाडा । अनि मर्कामा चाहिँ सर्वसाधारण जनता पर्दछन् । चर्को मूल्य हालेर घरजग्गा किन्ने वा कोठामा बस्न उनीहरू बाध्य हुन्छन् ।

पन्ध्र महिनाअघि काठमाडौँको बुढानीलकण्ठ, ललितपुरको खुमलटार, भैँसीपाटी र भक्तपुरको बालकोट चर्चाको केन्द्र थियो । यी ठाउँ सञ्चारमाध्यमका लागि समाचारको स्रोत थिए । यी ठाउँलाई भीआईपी एरियाका रूपमा चिनिन्थ्यो । राजनीतिक दलका शीर्ष वा वरिष्ठ नेताहरू बसेकै कारण यी ठाउँमा घरजग्गाको मूल्य चर्को थियो ।

आनाकै ७५ लाखदेखि दुई करोडसम्म भनिन्थ्यो । अझ जग्गा दलालहरू त यी ठाउँमा घरजग्गा नै पाइँदैन भनी दाबी गर्थे । २०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो । ७७ जनाको मृत्यु भयो । हजारौँ घाइते वा अङ्गभङ्ग भए । ८४ अर्ब ७७ करोड ४५ लाख बराबरको सरकारी सम्पत्ति खरानी भयो । निजी क्षेत्रतर्फ २७ खर्बको क्षति पुग्यो ।

आन्दोलनमा राजनीतिक दलका शीर्ष नेताहरूको निवास निशानामा परे । देउवा, ओली, प्रचण्डसहितका नेताहरूको घरमा आगो झोसियो । ललितपुरको भैँसीपाटीस्थित सातै प्रदेशका मुख्यमन्त्री बस्नका लागि बनाइएका संरचनासमेत जलेर खरानी बने । अहिले देउवा बुढानीलकण्ठमा बस्दैनन्, न त ओली बालकोट अनि प्रचण्ड खुमलटारमा बस्छन् ।

जेनजी विद्रोहपछि ०८२ फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भयो । निर्वाचनबाट रास्वपा १८२ सिटसहित पहिलो पार्टी बन्दा अघिल्ला निर्वाचनका ठूला पार्टीहरू कांग्रेस ३८, एमाले २५, नेकपा १७ सिटमा खुम्चिए । पन्ध्र महिनामै देशको राजनीतिक समीकरण उलटपुलट भयो ।

सँगै भीआईपीहरू बस्ने एरियामा जग्गाको मूल्यमा समेत व्यापक गिरावट आएको छ । पन्ध्र महिनाअघि आनाकै ७५ लाखदेखि दुई करोडसम्म भनिने बुढानीलकण्ठ, बालकोट, खुमलटारलगायत एरियाको जग्गा अहिले त्यसको आधाभन्दा पनि आधा मूल्यमा समेत बिक्री नभइरहेको दलालहरू नै बताउँछन् । केही वर्षअघिसम्म प्रचण्ड सोह्रखुट्टेमा बस्थे ।

त्यसपछि लाजिम्पाट हुँदै खुमलटार सरे । रोचक कुरा चाहिँ प्रचण्ड बसेका यी सबै ठाउँमा घरजग्गाको मूल्य बढ्यो । दलालहरूले भीआईपी बसेको एरिया हो, सुरक्षाको कडा व्यवस्था गरिएको हुन्छ, विदेशीहरू आउँछन्, विश्वमा यो ठाउँको चर्चा हुन्छ भन्दै यहाँको घरजग्गाको मूल्यसँगै कोठाभाडासमेत बढाइदिएका थिए । यति मात्र होइन प्रचण्ड केही वर्षअघिसम्म घुमफिर वा रमाइलो गर्न सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्ट गइरहन्थे ।

जसका कारण उक्त रिसोर्टको त व्यापार फस्टाएकै थियो, सँगै सुकुटेमा घरजग्गाको मूल्य बढेको थियो । प्रचण्डलाई सुकुटे ल्याएकै कारण सिन्धुपाल्चोकबाट माओवादी नेताहरू अग्नि सापकोटा र माधव सापकोटाले पटक-पटक चुनाव जिते । प्रचण्डकै आडमा त्यहाँ कतिपयले सरकारी जग्गासमेत अतिक्रमण गरेका थिए । तर, अहिले प्रचण्ड सुकुटे जान छोडेपछि सो रिसोर्टको व्यापार त ठप्प भएकै छ, सँगै गत निर्वाचनमा त्यहाँ नेकपाले हार व्यहोर्नुपर्‍यो । ठूला नेताहरू गाउँबस्तीमा आएपछि विकास पुग्ने आशा हुन्छ ।

त्यसकै फाइदा उठाउँदै जग्गा दलालहरूले घरजग्गाको मूल्य ह्वात्तै बढाइदिन्छन् । नभए नेता आउनुअघि अन्न उब्जनी भइरहेको जग्गा नेता आएपछि के परिवर्तन भएर ह्वात्तै मूल्य बढ्छ त ? देउवा हुन् या ओली–प्रचण्डले बुढानीलकण्ठ, बालकोट, खुमलटारमा घर बनाउनुअघि जग्गाका रूपमा खेत किनेका हुन् ।

केही दशकअघिसम्म यी ठाउँमा अन्न मात्र उब्जनी हुन्थ्यो । त्यतिबेला यी ठाउँमा जग्गाको मूल्य बढीमा रोपनीको दशदेखि २० हजारसम्म थियो । ०५४ सालमा काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापित आएपछि काठमाडौँको सोह्रखुट्टे, नयाँबजार, सामाखुसी, गोँगबुसहित उपत्यकामै जग्गा प्लटिङ भए । त्यसअघि यी ठाउँ खेतबारी थिए । स्थापितअघिका मेयर पीएल सिंहले जग्गा प्लटिङ र घरनक्सा पास रोकेका थिए ।

जथाभावी जग्गा प्लटिङ र घरनक्सा पास स्वीकृति दिएमा काठमाडौँमा खानेपानी, फोहोरमैला व्यवस्थापन, अस्तव्यस्त सहरीकरण, प्रदूषणलगायतका समस्या निम्तिने उनको ठहर थियो । तर, केशव स्थापितले जग्गा दलाल वा भूमाफियासँग मिलेर धमाधम जग्गा प्लटिङ र घरनक्सा पास स्वीकृति दिए । यता, भक्तपुर नगरपालिकामा भने जनप्रतिनिधिले जनताको जग्गा किनेर बेचेको पाइन्छ ।

मेयर सुनिल प्रजापतिसहितको योजनामा नगरपालिकाभित्रका जग्गा रोपनीको २० हजारदेखि एक लाखमा किनेर प्लटिङ गरी निकै महँगोमा अर्थात् आनाकै २५ लाखदेखि करोडौँमा बेचिएको पाइन्छ । यसरी नगरपालिका वा जनप्रतिनिधिकै मिलेमतोमा भक्तपुरका रैथाने बासिन्दालाई सुकुम्बासी बनाइयो । गएको निर्वाचनमा भक्तपुरमा एमालेले हार व्यहोर्‍यो । तर, ओली गुण्डुमा बसेकै कारण यहाँको जग्गाको मूल्य बढाइएको छ । निर्वाचनमा चाहिँ भोट नदिने तर ओलीको नाम लिँदै जग्गाको भाउ चाहिँ बढाउने ।

अर्को विडम्बनापूर्ण कुरा चाहिँ के छ भने देशको नेतृत्व सम्हालिरहेकाहरू देश र जनताप्रति उत्तरदायी र जिम्मेवार भएनन् । हालै प्रधानमन्त्री बालेन्द्र साह (बालेन) आफ्ना प्रमुख सल्लाहकार कुमार बेनको घरमा पुगेर नाचे । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ । जनताले उनलाई सल्लाहकारको घरमा गएर नाच भनेर पदमा पुर्‍याएका हुन् ? सल्लाहकारको घर वरपरको घरजग्गाको मूल्य बढाइदेऊ भनेर देशको जिम्मेवारी दिएका हुन् ? गत फागुनको निर्वाचनमा जनताले तिरेको २० अर्ब कर वा ऋण खर्च भएको छ । जनताले पनि घण्टौँ हिँडी दिनभर लाइनमा बसेर मतदान गरे र रास्वपालाई देशको नेतृत्व सुम्पे । बालेनको नेतृत्वमा सरकार गठन भएको आठ महिना बितिसकेको छ ।

यस अवधिमा सम्झनालायक आठवटासमेत काम भएका छैनन् । जनता महँगी, बेरोजगारीका कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगिसकेका छन् । दुर्भाग्य, देशको प्रधानमन्त्री भने आफ्नो सल्लाहकारको घरमा गएर नाच्नमा व्यस्त छन् । प्रधानमन्त्री सानतिनो पद होइन । यो ठूलो जिम्मेवारी हो । तर, वर्तमान प्रधानमन्त्रीको पारा देख्दा त देश जनताद्वारा निर्वाचित होइन, अनिर्वाचित व्यक्तिले चलाइरहेको देखिन्छ ।

भूपू प्रधानमन्त्रीहरू होऊन् या वर्तमान प्रधानमन्त्री, कहीँकतै जाँदा वा बस्नुअघि निकै सोचविचार गर्न आवश्यक छ । किनकि त्यसको असर दीर्घकालसम्मका लागि पर्छ । बढेको मूल्य त कायम रहिरहन्छ । घट्नका निम्ति त किनबेच ठप्प हुनैपर्छ । यसरी भीआईपीहरूको आडमा दलालहरूले घरजग्गाको मूल्य बढाउँछन् त घरधनीहरूले कोठाभाडा । अनि मर्कामा चाहिँ सर्वसाधारण जनता पर्दछन् ।

चर्को मूल्य हालेर घरजग्गा किन्ने वा कोठामा बस्न उनीहरू बाध्य हुन्छन् । तर, किनेकै मूल्यमा पछि घरजग्गा बिक्री हुन्छ भन्ने के ग्यारेन्टी ? मूल्य स्वाट्टै घट्यो भने त उनीहरू नराम्ररी डुब्छन् । दलालहरूको त काम नै जनता डुबाउने हो । तर, जनताको धनसम्पत्तिको सुरक्षा गर्नु सरकार र सत्तामा बसिसकेका व्यक्तिहरूको दायित्व हो । त्यसकारण उनीहरू सचेत हुन आवश्यक छ । सँगै राजनीतिक दलका शीर्ष नेताहरू जहाँ बसे, त्यहीँको घरजग्गाको मूल्य बढाउनेहरूमाथि कडा कारबाही गरिनुपर्छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार